logo
२०८० चैत्र १५ बिहीवार

   सिंहदरबारमा भीड कम   



कर्मचारी व्यस्त काम चुस्त

मुख्य समाचार |


कर्मचारी व्यस्त काम चुस्त


काठमाडौँ, पुस ३० गते । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेश गर्न यसअघि दिइएका सबै प्रकारका पास रद्द गरेपछि बिहीबार सरकारको मुख्य प्रशासनिक केन्द्रमा हुने काम र मानिसको चाप घटेको छ । कर्मचारीबाहेक अरूले सिंहदरबार प्रवेश गर्न नपाएपछि मन्त्रालयभित्र मात्र होइन, सिंहदरबार परिसरका सडक पनि खालीजस्तै देखिन्थे भने सबै मन्त्रालयका चिया पसलमा पनि खासै भीडभाड थिएन । राजनीतिक भेटघाट र अन्य कामका लागि आउनेहरूको पास रद्द भएपछि मन्त्रालयहरूमा भीड पनि घटेको छ । बिहीबार दिनभरि प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनकराज भट्टको टेबलमा खासै फाइलको चाङ थिएन । सिंहदरबारस्थित उहाँको सचिवालयमा कार्यालयका कर्मचारीबाहेक अरू मान्छे पनि थिएनन् ।

प्रधानमन्त्रीको भेटघाटको तिथिमिति तय, कार्यक्रमको व्यवस्थापन, कर्मचारी सरुवा, योजनामा बजेटका लागि सिफारिस, आयोग, प्रतिष्ठानका कामकारबाही, वैदेशिक भ्रमण, मन्त्रिपरिषद्मा लैजाने प्रस्ताव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धलगायतका दर्जनौँ प्रकृतिका काममा सधैँ व्यस्त हुनुपर्ने प्रधानमन्त्रीको निजी सचिवालयमा दैनिक सयौँ फाइलको चाङ लाग्ने गर्छ । तर बिहीबार भने सचिवालयमा सिंहदरबारभित्र रहेका मन्त्रालयहरूबाट प्राप्त हुने फाइल, चिठ्ठीपत्रबाहेक खासै कामको चाप देखिएन ।

कामको विषय र प्रकृति हेरेर सिंहदरबार र प्रधानमन्त्रीको निवास बालुवाटारसम्म धाउने व्यक्तिहरूको भीड लाग्ने प्रधानमन्त्रीको सचिवालय बिहीबार सुनसानझैँ थियो । अत्यावश्यक सबै खालका फाइलको काम भइरहेको बताउँदै निजी सचिव भट्टले नियमित काम गरेर पनि ‘कोभिडबाट जोगिन्छ कि’ भन्ने महसुस भइरहेको बताउनुभयो ।

कोरोना सर्ने डर कम
आर्थिक रकमान्तर, बजेट निकासा, थप बजेटको व्यवस्थापन, नयाँ योजनालगायतका मागहरू राखेर मन्त्रालयमा आउने फाइलमा सधैँ व्यस्त हुने अर्थमन्त्री जनार्दन शर्माका निजी सचिव धनबहादुर बरुवालले पनि बिहीबार निकै सहज महसुस गरेको अनुभव सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “कोरोनाको डर भइरहेका बेला बिहीबार मन्त्रालयमा खासै मान्छे आएनन् । सिंहदरबारभित्रैका फाइल आउने क्रम यथावत् भए पनि सिंहदरबार बाहिरबाट आउने व्यक्तिको प्रवेश रोकिएकाले कोरोना सर्ने डर कम भएको छ ।”

दुुई हजार पास रद्द
सरकारी कर्मचारी, नेपालस्थित विदेशी कूूटनीतिक नियोगका कर्मचारी, अन्तर्राष्ट्रिय सहयोगी तथा दाता संस्थाका कर्मचारी, नेपाल बार एसोसिएसनका सदस्य, सूचना विभागबाट जारी गरिएका पत्रकारहरूलाई परिचयपत्रका आधारमा सिंहदरबारभित्र प्रवेश गराउने व्यवस्था सरकारले गर्दै आएको छ ।
त्यसबाहेक स्थायी, अस्थायी प्रवेश पास तथा परिचय पत्र जारी गरेर र दैनिकजसो सबै मन्त्रालयबाट दक्षिण गेटमा नाम टिपाएर प्रवेश गराउने व्यवस्था हुँदै आएको थियो । दैनिकजसो औसतमा कर्मचारीबाहेक सिंहदरबारभित्र दुई हजार व्यक्ति आवतजावत गर्ने गरेको गृह मन्त्रालयले जनाएको छ ।

सिंहदरबारबाट सञ्चालन हुने अत्यावश्यक कामलाई प्रभाव नपर्ने गरी बिहीबारदेखि गरिएको प्रवेशको कडाइले सिंहदरबारभित्र कोरोनाको प्रसार कम हुने वातावरण सिर्जना भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताउनुभयो । गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाको भनाइमा पनि सिंहदरबारमा देखिने भीडभाड कम भएकाले यसले कोरोना सङ्क्रमण नियन्त्रण गर्न सहज पुग्ने देखिएको छ । उहाँले भन्नुभयो, “खासै महìवपूर्ण काम नभए पनि भेटघाटकै लागि आउने मानिस मन्त्रालयहरूमा आउनबाट रोकिएका छन्, जसले गर्दा सिंहदरबारभित्र कोरोनाको सङ्क्रमण हुने डर निकै कम भएको छ । काममा झन् चुस्तता आएको छ । कोरोना सर्ने चरणमा पुगेका बेला यो व्यवस्था अझै केही समय यथावत् राख्नुपर्ने देखिएको छ ।”

यसअघि प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको कोभिड–१९ निर्देशक समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव पोखेरलले सिंहदरबारको आवागमनलाई नियन्त्रण गर्न सके मुलुकको मुख्य प्रशासनिक निकायमा कोरोनाको प्रभाव कम हुने सुझाव दिनुभएको थियो । सो बैठकपछि बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले सिंहदरबारभित्रको प्रवेशलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?