logo
२०८१ बैशाख ८ शनिवार



खोप नलगाएकालाई जिम्बाबेको सार्वजनिक यातायातमा प्रतिबन्ध

अन्तर्राष्ट्रिय |


खोप नलगाएकालाई जिम्बाबेको सार्वजनिक यातायातमा प्रतिबन्ध


हरारे, मङ्सिर २२ गते । जिम्बाबेमा कोरोनाभाइरसविरुद्धको खोप नलगाएका नागरिकलाई सार्वजनिक यातायातमा प्रतिबन्ध लगाइएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण थप फैलिन थालेपछि उच्च सतर्कता अपनाउने शिलशिलामा यस्तो नियम लागू गरिएको हो । सरकारले कोरोनाको महामारी थप फैलिन नदिनका लागि थप चासो देखाएको छ ।

“पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्यामा बृद्धि भएको छ, त्यसैले मन्त्रीपरिषद्ले कडाइ गर्ने निर्णय गरेको हो,” सञ्चारमन्त्री मोनिका मुत्सभाङ्वाले भन्नुभयो । सरकारले सबैलाई खोप लगाउनका लागि अनुरोध गरेको र नलगाउनेलाई अरु पनि धेरै ठाउँमा बन्चित र निषेध गरिने उहाले बताउनुभयो ।

उहाँले खोप लगाउनका लागि विभिन्न बसपार्कलगायत देशभरका विभिन्न ठाउँमा व्यवस्था गरिएको जानकारी दिनुभयो । खोप नलगाएकाहरुलाई सरकारी निकाय वा भिडभाड हुने सार्वजनिक स्थलमा नजान पनि उहाँले आग्रह गर्नुभयो । उहाँले शैक्षिक संस्थाहरुमा पनि खोप लगाउन उमेर पुगेकाहरुले लगाउनुपर्ने र त्यही अनुसारको सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

सरकारी तथ्याङ्कअनुसार जिम्बाबेमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४१ हजार ६०१ जना सङ्क्रमित छन् । तीमध्ये चार हजार ७१३ जनाको मृत्यु भएको छ भने एक लाख २८ हजार ९६६ जना सङ्क्रमणमुक्त छन् । देशभरका ३८ लाख ८२ हजार २५५ जनाले कम्तीमा एउटा खोप लगाएका छन् भने २८ लाख ९२ हजार ३६६ जनाले दुवै खोप लगाएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?