logo
२०८१ बैशाख ११ मंगलवार

मनाङमा हिउँ पर्न थाल्यो (फाेटाे फिचर)

मुख्य समाचार |
समाज |
फोटो फिचर |
फोटो फिचर |


2021-12-04-52057
हिमाली जिल्ला मनाङको मनाङ गाउँमा परेको हिमपात । तस्बिर सौजन्यः ललिता गुरुङ ।


लमजुङ, मङ्सिर १७ गते । हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार राति १२ बजेदेखि हिउँ पर्न थालेको स्थानीयले बताएका छन् ।

बिहीबार बिहानदेखि पनि पुनः हिउँ परिरहेको उनीहरुले बताएका छन् । स्थानीयका अनुसार दिउँसो केही समय रोकिए पनि पुनः हिउँ परेको हो । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार हिमपात भइरहँदा चिसो बढेको छ । हिउँले डाँडाकाँडा सेताम्मे भएको छ । पानी पनि परिरहेको छ ।

‘केही बेर पानी पर्ने र केही बेर हिउँ पर्ने गरेको छ । हिजो पानी पर्‍यो । यो वर्ष हिमपात हुन सुरु भयो’, उहाँले भन्नुभयो, ‘अब हिउँ पर्ने क्रम बढ्दै जान्छ । अहिले नै जनजीवनमा भने खासै प्रभाव परेको छैन ।’

ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका क्षेत्रमा हिउँ परेको छ । माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ । हिउँ पर्न थालेपछि चिसो बढेको मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका छिरिङ नेस्याङ गुरुङले बताउनुभयो । तल्लो क्षेत्रसम्म हिउँ नपरे पनि चिसो भएको उहाँले बताउनुभयो । हिउँले वस्ती माथिका डाँडाहरु सेताम्मे भएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका स्वास्थ्यकर्मी ललिता गुरुङका अनुसार बिहीबार बिहानैबाट हिउँ परिरहेको छ । मनाङ क्षेत्र हिउँले सेताम्मे भएको छ ।

अन्नपूर्ण माध्यमिक विद्यालय मनाङका शिक्षक गोपीराज वाग्लेका अनुुसार हिमपात भइरहँदा चिसो बढ्दै गएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार मनाङका माथिल्लो क्षेत्र र वस्तीमा हिउँ परिरहेको छ । हुम्डेदेखि माथिल्लो भागमा हिउँ परेको उहाँले बताउनुभयो । बिहीबारबाट हिउँ पर्न थालेको र तल्लो क्षेत्रमा पनि चिसो बढेको बताउनुभयो ।

‘चामेबाट हेर्दा सबै डाँडाहरु हिउँले भरिएको छ । हिउँ परिरहेको छ । हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिउँ परेको जानकारी आएको छ’, उहाँले भन्नुभयो, ‘हिमपात भइरहँदा चिसो बढेको छ ।’