logo
२०८० चैत्र ६ मंगलवार



मौरीपालन व्यवसायमा सफल हुँदै उद्यमी दाहाल

पढ्नै पर्ने |
खुला |
समाज |


मौरीपालन व्यवसायमा सफल हुँदै उद्यमी दाहाल


हरि काेइराला
उर्लाबारी, मङ्सिर १७ गते । मोरङको उर्लाबारी–९ की गोमा दाहालले मौरीपालन व्यवसाय सुरु गरेको १७ वर्ष भएको छ । प्रायः मानिसहरू व्यवसाय परिवर्तन गरिरहन्छन् । आम्दानीका नयाँ स्रोतको खोजी गर्छन् । तर, सुनसरीको तरहराबाट चार हजार पाँच सय रुपियाँमा किनेर ल्याएको एक घार मौरीलाई गोमाले विस्तार गरेर १५० घार बनाउनुभएको छ ।
उहाँलाई यतिबेला स्थानीयले सफल मौरीपालक कृषक भनेर चिन्छन् । दाहाललाई सुरुका दिनमा मौरी पालेर पैसा कमाइन्छ भन्ने लाग्दैनथ्यो । श्रीमान् वैदेशिक रोजगारमा, ससाना छोराछोरीह हुर्काउने जिम्मेवारी छ, छँदै थियो । तर पनि दाहाल थाक्नुभएन । लगातारको श्रमले यतिबेला उहाँ मौरीपालन व्यवसायी बन्नुभएको छ । १५० घार मौरीले उहाँलाई वार्षिक १५ लाख रुपियाँ आम्दानी दिन्छन् । मह बेचेर उहाँको घरखर्च मात्र टरेको छैन । छोरालाई डिग्रीसम्म अध्ययन गराइसक्नुभयो । शहरमा घरघडेरी जोड्नुभयो ।
तत्कालीन जिल्ला कृषि विकास कार्यालय मोरङको सहयोगमा तालिम लिएपछि उहाँ व्यवसायमा प्रवेश गर्नुभएको हो । सुरुवाती दिन निक्कै कठिन रहे । उहाँले भन्नुभयो– ‘कहिले मेरा नानीहरुलाई मौरीले टोक्यो, कहिले तोरी फलेन । कहिले खुब पैसा कमाउन लागेकीसम्म भनेको सुनेँ । कतिपयले हाँसेर उडाए ।’
गोमादेवी कसैका कुरा नसुनी आफ्नो श्रममा व्यस्त हुनुभयो । त्यही परिश्रमको परिणामले अहिले गोमादेवी सफल उद्यमी बन्नुभएको छ । मौरीपालन आयस्रोतको मुख्य माध्यम बन्न सक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो – ‘धेरै खट्नुपर्छ, खटेअनुसार आम्दानी पनि राम्रो हुन्छ । आफ्नो जग्गा जमिन नभएकाहरूले पनि मौरीपालन गर्न सक्नुहुन्छ ।’
मौरीपालनले देशको अर्थतन्त्रमा ठूलो सहयोग पु¥याएको दाहालको भनाइ छ । उहाँले आफ्नै घरमा ‘राजघाट मौरीपालन उद्योग’ सञ्चालन गर्नुभएको छ । उद्योगबाट उहाँले करिब दुई हजार घार मौरी बिक्री गरिसक्नुभयो । सामान्य लगानीमा सुरु गरेको व्यवसायले राम्रो आम्दानी दिन थालेपछि गोमादेवीलाई सघाउन रोजगारीका लागि विदेशमा रहनुभएका श्रीमान् गङ्गाराम पनि स्वदेश फर्कनुभएको छ । आवश्यक खर्च मह विक्रीबाटै जुटेपछि किन विदेशमा जोखिम मोल्नु गङ्गारामले भन्नुभयो ।
४१ औँ खाद्य दिवसको दिन उत्कृष्ट एपिस मेलिफेरा पालन गर्ने कृषक तर्फबाट गोमादेवीले राष्ट्रिय स्तरमा प्रथम पुरस्कार प्राप्त गर्नुभयो । त्यसयता उहाँलाई अझ बढी राष्ट्रका लागि केही गरौँ भन्ने उर्जा प्राप्त भयो । राज्यले सहयोग गरे ‘महलाई आधुनिक रूपमा प्रशोधन गरेर विदेश पठाउन सकिने उहाँको भनाइ छ । विदेशबाट विभिन्न ब्राण्डको स्टिकर टाँसेर आउने महभन्दा स्वेदेशी उत्पादन राम्रो भएकाले बजार प्रवर्धनमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने दाहाल बताउनुहुन्छ । नेपाली उद्यमीहरूलाई राज्यले सहयोग गरे महको आयात शून्यमा झार्न सकिने उहाँले बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?