logo
२०८१ बैशाख १३ बिहीवार



लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा प्रमले भाग लिनुहुने

मुख्य समाचार |


लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा प्रमले भाग लिनुहुने


लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, मङ्सिर १५ गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले भर्चुअल रूपमा आयोजना गर्ने लोकतन्त्रसम्बन्धी शिखर सम्मेलन ‘समिट फर डेमोक्रेसी’मा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिने हुनुभएको छ ।
शिखर सम्मेलनमा प्रधानमन्त्री देउवाको नेतृत्वमा नेपाली टोलीले भाग लिनेछ । त्यसका लागि सरकारले प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि गरेको छ । विश्वभरिका राजनीतिक नेतृत्वले भाग लिने सम्मेलन यही मङ्सिर २३ र २४ गते हुने तय भएको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय मङ्गलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो कुराको जानकारी दिनुभएको हो । कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएका विभिन्न मुलुकबाट नेपाल भित्रिने यात्रुका यात्रा व्यवस्थापनसम्बन्धी सरकारले नयाँ आदेश जारी गरेको छ । सरकारका प्रवक्ता कार्कीका अनुसार राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा टङ्कलाल घिसिङ रामेछापलाई नियुक्ति गर्ने निर्णय गरिएको छ ।

बैठकले आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने १० अर्ब जापानी येन सहुलियतपूर्ण नीतिगत ऋणका सम्बन्धमा नेपाल सरकारका तर्फबाट वार्ता गर्न एक टोली गठन गर्ने निर्णय गरेको छ ।
प्रशोधित घाँसको व्यावसायिक उत्पादन गरी चीनमा निर्यात गर्ने उद्देश्यअनुरूप नेपाल र जनवादी गणतन्त्र चीनबीच सम्झौताका लागि तयार पारिएको प्रोटोकललाई स्वीकृत गर्ने निर्णय भएको कुरा सरकारका प्रवक्तामन्त्री कार्कीले जानकारी दिनुभयो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीलाई ‘अन कम्पास इन्टरनेसनल समिट एन्ड ह्युमानिटेरियन फोर सिक्स २०२१ पोस्ट पेन्डेमिक ट्रान्सफरमेसन एन इमर्जेन्सी प्रिपियर्नेस’ कार्यक्रममा सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय भएको छ । सो कार्यक्रम यही मङ्सिर १५ र १६ गते आयोजना हुने भएको छ ।

रेडियो सञ्चार लाइसेन्स पाँचौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैगरी चलचित्र निर्माण प्रदर्शन तथा वितरण सातौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण कृष्णनगर चन्द्रौटा प्रसारण लाइन कार्यालय भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराइने भएको छ । मङ्गलबारको बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीका १० जना सचिवलाई सरुवा गर्ने निर्णय गरेको छ ।
प्रहरी नवौँ संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो । नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमबीच सम्पन्न भएको स्ट्यान्डर्ड बेसिक असिस्टेन्ट एग्रिमेन्ट लागूू गर्न कूूटनीतिक नोट परराष्ट्र मन्त्रालयबाट संयुक्त राष्ट्रसङ्घलाई पठाउन स्वीकृत दिने निर्णय गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?