logo
२०८० चैत्र १६ शुक्रवार



‘ओमिक्रोन’ फैलिन नदिन निगरानी बढाइने, सीसीएमसी बैठक भाेलि

स्वास्थ्य |


‘ओमिक्रोन’ फैलिन नदिन  निगरानी बढाइने, सीसीएमसी बैठक भाेलि


काठमाडौँ, मङ्सिर ११ गते । कोभिड–१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस संक्रमण भित्रिन नदिन सरकारले उच्च सतकर्ता अपनाउने तयारी गरेको छ ।
सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाइने भएको छ ।
सोही विषयमा थप छलफल तथा निर्णय गर्न आइतबार कोभिड–१९ नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएम)को मिटिङ बस्ने भएको छ । मिटिङमा स्वास्थ्य विज्ञहरुको राय लिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेले बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भाइरस संक्रमण फैलिएको पुष्टि भएका मुलुकबाट आउनेहरुका लागि एकसातासम्म अनिवार्य क्वारेण्टाइन बस्नु पर्ने व्यवस्था लागू गर्ने विषयमा छलफल गरेको छ ।
सो मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अनिवार्य निगरानी कक्ष स्थापना गरी स्वास्थ्य परीक्षण र क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न लागिएको बताउनुभयो ।
कोभिड–१९ खोप लगाइ तथा नलगाई आउने यात्रुलाई होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने नियम ल्याउने देखि विमानस्थलमै एन्टीजेन परीक्षण अनिवार्य गर्ने विषयमा निर्णय हुने छ ।
नेपालसँग सीधा हवाइ सम्पर्क रहेको चीनको स्वसाशितक्षेत्र हङकङमा समेत संक्रमण पुष्टि भएपछि सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको हो । नेपाल–हङकङ सिधा हवाई उडान समेत स्थगित गरिएको छ ।
दक्षिण अफ्रिकासहित युरोपका बेल्जियम र जर्मनी लगायत मुलुकहरुमा समेत यो संक्रमण भित्रिएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छ । कोभिड–१९ को नयाँ भेरियण्टप्रति सतर्क र सुरक्षित रहन सर्वसाधारणमा आग्रह गरेको छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?