logo
२०८० चैत्र १५ बिहीवार



नयाँ भेरियन्ट ‘ओमिक्रोन’ले खाेपलाई छल्न सक्छ, सजग हुन जरूरी

स्वास्थ्य |
पढ्नै पर्ने |


नयाँ भेरियन्ट ‘ओमिक्रोन’ले खाेपलाई छल्न सक्छ, सजग हुन जरूरी



काठमाडौं, मङ्सिर ११ गते । हालै दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ । कोरोनाको नयाँ भेरियन्ट देखिने क्रम निरन्तर चलिरहने प्रकृया भए पनि यस भेरियन्टलाई भने वैज्ञानिकहरुले अर्थपूर्ण रुपमा लिएका छन् । छिटो सर्ने र बढी मानिसलाई संक्रामक पार्न सक्ने खालका भेरियन्टलाई भेरियन्ट अफ कन्सर्न भनिन्छ । विश्व स्वास्थ्य संगठनले यस भाइरसको नाम ‘ओमिक्रोन’ राखेको छ । संगठनले ‘ओमिक्रोन’ चिन्ताजनक रहेको जनाएको छ ।ओमिक्रोन भेरियन्टको उत्परिवर्तन संख्या धेरै र पुनः संक्रमण हुने जोमिख बढिरहेको वैज्ञानिकहरु बताउँछन् । हालसम्म ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकासहित बेल्जियम, इजरायल, बोत्स्वाना र हङकङमा फेला परिसकेको छ ।

नेपाल पनि जोखिममै
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नेपाल पनि यस भेरियन्टको जोखिममा रहेको छ । नेपालले विभिन्न देशहरुसँग हवाई उडानलाई खुल्ला गरेकाले उक्त भेरियन्ट नेपाल भित्रन सक्ने सम्भावना रहेको उहाँको भनाइ छ । ’नेपालले विभिन्न देशहरुसँगको हवाई यात्रालाई खुल्ला गरेको छ । नयाँ देखिएको भेरियन्ट अन्य देशहरुमा पनि पुगिसकेको छ । त्यस्तो देशबाट नेपाल आउनेहरुमा उक्त भाइरसको संक्रमणको जोखिम उच्च हुन्छ, ’ उहाँले भन्नुभयो–
वैज्ञानिकहरुले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्सर्न नाम दिएकाले यो ज्यादै संक्रामक हुनसक्छ।

 सुरक्षा प्रणाली चुस्त छ : मन्त्रालय 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्टको जोखिम नेपालमा पनि रहेको कुरालाई स्वीकार्नु भएको छ । उक्त नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै भेरियन्ट फेला परेका देशबाट नेपाल आउने व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा राखी पिसिआर गरिने प्रवक्ता डा.पौडेलले बताउनुभयो ।

‘नयाँ भेरियन्टबाट नेपाललाई सुरक्षित गर्नको लागि जाखिम क्षेत्रबाट आउने व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा राखेर पिसिआर गरेर रिपोर्ट नेगेटिभ आयो भने मात्र छाडिदिने व्यवस्था गरेका छौँ,’उहाँले भन्नुभयो । अहिले नेपालको सिधा हवाई उडान दक्षिण अफ्रिकासँग छैन ।

तर, अन्य देशमा पनि यो संक्रमण फैलिएको हुनाले कुन कुन देशसँगको उडान रोक्ने भन्ने सन्दर्भमा भने केही पछि निर्णय हुने उहाँले बताउनुभयो । ‘हामीले प्रेस ब्रिफिङ्मा पनि नेपालमा कोरोनाको जोखिम तत्काल नटरेको र नयाँ भेरियन्टहरु देखिन सक्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न आग्रह गरेका छौ,’डा् पौडेलले भन्नुभयो ।

नयाँ भरियन्टले खोपलाई पनि छल्न सक्छ
संक्रामक रोग विशेषज्ञ डा. पुनका अनुसार दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्टले अहिले विकसित भैरहेका खोपलाई पनि छल्न सक्छ । यो भेरियन्ट धेरै परिवर्तन भयो भने कतै हाम्रो खोपले यसलाई पहिचान नै नगर्ने हो कि ? भन्ने प्रश्न हुन्छ, उहाँले भन्नुभयो । नयाँ भेरियन्टको म्युटेसन धेरै भयो भने स्पाईक प्रोटिनको विरुद्ध बनेका खोपहरुले यो भेरियन्टलाई पहिचान गर्न नसक्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?