logo
२०८० चैत्र ६ मंगलवार



सूचना प्रविधि क्षमताको लेखाजोखामा चौरजहारी नगर पहिलो

पढ्नै पर्ने |
राष्ट्रिय |
प्रदेश |


सूचना प्रविधि क्षमताको लेखाजोखामा चौरजहारी नगर पहिलो



अर्जुन काफ्ले
स्याङ्जा, मङसिर १० गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखामामा रुकुमपश्चिमको चौरजहारी नगरपालिका पहिलो भएको छ । कुल ८० अङ्कसहित चौरजहारी नगरपालिका पहिलो भएको हो । यस्तै, काठमाडौंको कीर्तिपुर नगरपालिका ७८ अङ्कसहित दोस्रो भएको छ । यस्तै, स्याङ्जाको वालिङ नगरपालिका पनि दोस्रो भएको बताइएको छ ।
मन्त्रालयको सूचना तथा प्रविधि शाखाले सात वटै प्रदेशबाट कूल ४३४ पालिकाहरुको लेखाजोखा गर्दा यस्तो तथ्याङ्क वेभसाईटमार्फत् सार्वजनिक भएको हो ।
विभिन्न सात वटा क्षेत्रहरुमा दिएको सूचाङ्कका आधारमा स्थानीय तहहरुले प्रविष्ट गरेको अङ्कभार बमोजिम स्थानीय तहहरुको सूचना प्रविधि क्षमताको लेखाजोखा गरिएको थियो ।
स्थानीय तहहरुमा उपलब्ध रहेको जनशक्तिमध्ये सूचना प्रविधिसम्बन्धी ज्ञान भएका जनशक्तिहरुको स्थिति, सूचना प्रविधिसँग सम्बन्धित पूर्वाधारहरुको उपलब्धता, सूचना प्रविधिमा स्थानीय तहहरुको संस्थागत क्षमताको स्थिति, सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग, वेवसाइट ब्यवस्थापन, डिजिटल साक्षरता, सूचना प्रविधिसम्बन्धी नीतिगत ब्यवस्थाको मूल्याङ्कन गरी आगामी दिनमा गर्नुपर्ने कार्यहरुकाबारेमा सुझाव प्रस्तुत गर्ने मूख्य उद्देश्य छ ।
यस मूल्याङ्कनले स्थानीय तहहरुलाई सूचना प्रविधि प्रयोगको हालको अवस्थाबारेमा जानकारी प्रदान गर्दै सूचना प्रविधिको क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धिका लागि मार्गदर्शन मिल्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचना तथा प्रविधि शाखाको वेभसाईटमा उल्लेख छ ।
सूचना प्रविधिमा स्थानीय तहहरुको क्षमता अभिवृद्धिका लागि काम गर्न चाहने सङ्घीय तथा प्रादेशिक निकायहरु, अन्य सरकारी तथा गैर सरकारी निकायहरुलाई समेत सहयोगी हुने जनाइएको छ ।
यस अध्ययनका लागि सात वटा क्षेत्रका विभिन्न ५० वटा सूचकहरु तयार गरी सोको अङ्कभार गणनाका लागि स्थानीय तहहरुलाई ईमेल तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमार्फत प्राप्त भएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो ।
सोहीमार्फत् स्थानीय तहहरुलाई अङ्कभार प्रविष्ट गर्न अनुरोध गरिए अनुसार नगरपालिकाबाट भरेर पठाएको विवरणका आधारमा मूल्याङ्कन गरिएको उहाँले बताउनुभयो ।
सूचना तथा तथ्याङ्कका आधारमा संवैधानिक तथा कानूनीरुपमा स्थानीय तहहरुलाई प्राप्त अधिकारहरुको कार्यान्वयनमार्फत सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग गर्न महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
हाल उपलब्ध भएको स्रोतसाधन, जनशक्ति, संरचनाको अवस्था र त्यहाँ आवश्यक पर्ने अन्य दक्षताहरुको बीचको अन्तर पत्ता लगाउन सहयोगी हुने उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?