logo
२०८० चैत्र ६ मंगलवार



विमानस्थलमा भिजिबिलिटी घट्दै, दैनिक दशभन्दा बढी उडान रद्द

पढ्नै पर्ने |
पर्यटन |


विमानस्थलमा भिजिबिलिटी घट्दै, दैनिक दशभन्दा बढी उडान रद्द


काठमाडौं, मङ्सिर ९ गते । एक सातादेखि खराब मौसमका कारण जहाज उडान अवतरणका लागि भिजिबिलिटी नपुग्दा दैनिक हवाइ उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसमले नियमित तालिका परिर्वतन हुदाँ दैनिक १० वटासम्म उडान रद्द हुने गरेको छ ।

यती एयरलाइन्सले मङ्गलबारदेखि पोखराका लागि दुईवटा उडान रद्द नै गरेको प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । अन्य एयरलाइन्स कम्पनीहले समेत नियमित तालिका अनुसार उडान गर्न नसक्दा उडान रद्द गरेको जनाएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहान ११ बजेसम्म भिजिबिलिटी नपुगेपछि उडान हुन सकेको थिएन भने अन्य तराई क्षेत्रका विमानस्थल विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, सिमरा लगायतका विमानस्थल दिउँसो १२ बजेसम्म नखुलेपछि बिहान ७ बजेदेखिको उडान प्रभावित बनेको थियो ।

नियमित तालिका चार घण्टासम्म हेरफेर हुदाँ बुधबार यती र बुद्ध एयरले विराटनगर र भैरहवाबाट राती ११ः३० बजे उडान गरी काठमाडौं अवतरण गराएको विमानस्थलले जनाएको छ । काठमाडौंमा विहीवार बिहान १४ सय मिटर मात्र भिजिबिलिटी रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताउनुभयो । काठमाडौंबाट उड्ने सक्ने अवस्था भएपछि अन्यत्रको विमानस्थल बन्द हुने गरेको र विमानस्थल खुलेपछि काठमाडौंमा एकै पटक भार पर्ने गर्दा जहाज डिले हुने गरेको उहाँको भनाइ छ ।

काठमाडौंमा एक मात्र धावनमार्ग हुँदा अवतरण हुने जहाजलाई प्राथमिकता दिनुपर्ने भएकाले एउटा जहाजले यात्रु राखेर उड्ने तयारी गर्दा एक घण्टासम्म पर्खनुपर्ने बाध्यता बनेको छ । हाल आन्तरिक वायुसेवाका लागि नौ वटा वायुसेवा कम्पनी र अन्तराष्ट्रियस्तरमा ३३ वटा वायुसेवा कम्पनीले दैनिक करिब ३४० वटासम्म उडान हुँदै आएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार हालको मौसममा सुधार आउन अझै एक साता जति लाग्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?