logo
२०८१ बैशाख ७ शुक्रवार



बन्द भएका वायुसेवा कम्पनीले बक्यौता बुझाएनन् , केन्द्रीय तहसिललाई पत्राचार गरिदै

पर्यटन |


बन्द भएका वायुसेवा कम्पनीले बक्यौता बुझाएनन् , केन्द्रीय तहसिललाई पत्राचार गरिदै


काठमाडौं, मङ्सिर २ गते । नेपाल नागरिक उडड्यन प्राधिकरणले विमान कम्पनीले विमानस्थल प्रयोग गरेवापत नबुझाएको बक्यौता रकम उडान तीनपुस्ते विवरणसहित कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गर्ने तयारी थालेको छ । नेपालमा आन्तरिक उडान गरेर बन्द भएका नौ वटा वायुसेवा कम्पनीको बक्यौता रकम बुझाउन पटक-पटक ताकेता गरे पनि बेवास्ता गरेपछि पत्रचार गर्ने तयारी गरेको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताउनुभयो ।

प्राधिकरणले सञ्चालन बन्द गरेका नौ वटा नेपाली वायुसेवा कम्पनीबाट नौ करोड ४९ लाख ५१ हजार ६४ रुपैयाँ बक्यौता उठाउन पहल थालेको छ । यी कम्पनीमध्ये सबैभन्दा धेरै नेकोन एयरको चार करोड ७२ लाख २५ हजार ३४३ र कस्मिक एयरको तीन करोड ४७ लाख ५८ हजार रुपैयाँ छ । त्यसपछि शिवानी एयरको ५५ लाख ५१ हजार ५३ रुपियाँ, अल्पाइन एयर ७२ हजार ७२८ रुपियाँ, गोरखा एयर २० लाख ३५ हजार २९ रुपियाँ, कर्णाली एयर १७ लाख ४६ हजार ३०० रुपियाँ, माउण्टेन एयर १२ लाख ७३ हजार ६९४ रुपियाँ, स्काइलाइन एयरवेज १५ लाख ५० हजार ४०० रुपियाँ र एयर काण्ठमन्डप सात लाख ३८ हजार ४४७ रुपियाँ छ ।

प्राधिकरणले २०७८ भदौ १२ गते तेस्रो पटक सूचना प्रकाशन गरी अन्तिम ताकेता गरेको थियो । सूचनापछि केही कम्पनीले बुझाएको र केही कम्पनी सम्पर्कमा आएको महानिर्देशक क्षेत्रीले जानकारी दिनुभयो । प्राधिकरणका अनुसार स्काइलाइन र नेपाल एयरवेजले केही रकम बुझाएको, सिवानी एयरले म्याद थपको माग गरेको, अमेरिका बस्दै आएको अल्पाइन एयरका सञ्चालकले उक्त रकम नतिर्ने भनी जानकारी गराएको र अन्य कम्पनीका सञ्चालक सम्पर्कमा नआएको जनाएको छ ।

प्राधिकरणसँग भन्सार विभागको ५४ करोड, नेपाल एयरलाइन्सको नौ करोड र इण्डियन एअरलाइन्ससहित अन्य कम्पनीको गरेर हालसम्म दुई अर्ब रुपियाँ बक्यौता उठ्न बाँकी रहेको जनाएको छ । यीमध्ये एक अर्ब रुपियाँ भने उठ्नै नसक्ने अवस्थामा रहेकाले प्रक्रिया पुर्याएर कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गर्ने तयारी गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?