logo
२०८१ बैशाख ७ शुक्रवार



अल्मुताइरीको दोस्रो पाली, फिफा वरीयतामा सुधार योजना

पढ्नै पर्ने |


अल्मुताइरीको दोस्रो पाली,  फिफा वरीयतामा सुधार योजना


काठमाडौँ, कात्तिक १७ गते । नेपाली फुटबलमा सबभन्दा अस्थिर पद हो, राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले लामो समयसम्म प्रशिक्षकलाई विश्वास गरेको उदाहरण कम छ । नेपालमा एउटा प्रतियोगितापछि नै राष्ट्रिय प्रशिक्षक बर्खास्त परेको उदाहरण धेरै छन् । प्रशिक्षक परिवर्तन व्यवसायिक फुटबलको एक पाटो हो तर एन्फाले विदेशी र स्वदेशी प्रशिक्षक कसैलाई पनि लामो समय टिम सम्हाल्ने जिम्मेवारी दिएको छैन ।

यद्यपि यसपटक एन्फाले कुवेती प्रशिक्षक अब्दुल्ला अल्मुताइरीमाथि ठूलो विश्वास देखाएको छ, दोस्रो पटक राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा नियुक्त गरेर । गत चैतमा अल्मुताइरी पहिलो पटक नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त हुनुभएको थियो । सो समय नेपाली टिमको जिम्मेवारी सम्हाल्दा उहाँले साफ च्यामिपयन्सिपको फाइनलमा नेपाललाई पुर्याउने लक्ष्य लिनुभएको थियो जुन उहाँले पूरा पनि गर्नुभयो ।

अल्मुताइरीको प्रशिक्षकत्वमा नेपालले पहिलो पटक साफ च्याम्पियन्सीपको फाइनल खेल्यो । यद्यपि उहाँले नेपाललाई फाइनलमा पुर्याउने वित्तिकै भारतविरुद्धको उपाधि भिडन्त नेपालको लागि आफ्नाे अन्तिम खेल हुने खुलासा गरेर सबैलाई स्तब्ध पार्नुभएको थियो । उहाँँले भन्नुभएको थियो– मेरो प्रशिक्षकत्वमा नेपालले साफमा इतिहास बनायो । नेपललाई ऐसिया कपमा छनोट गराएँ । नेपाली फुटबल टिमप्रति नेपालले मात्र दक्षिण एसियाले नै गर्व गर्दैछ । नेपाली फुटबल टिमका लागि मेरो सेवा यत्ति नै भयो । म घर फर्कँदैछु ।

यद्यपि अल्मुताइरीले नेपालको प्रशिक्षक पदबाट राजीनामा दिएको एक महिना नबित्दै उहाँ दोस्रो पटक नेपाली टिमको प्रमुख प्रशिक्षक नियुक्त हुनुभएको छ । यसपटक अल्मुताइरीले एन्फासँग तीन वर्षका लागि सम्झौता गर्नुभएको छ । अल्मुताइरी सन् २०२४ सम्म नेपाली टिमको प्रशिक्षक रहनुहुनेछ । नेपाली राष्ट्रिय टिमका व्यवस्थाक मधुसुदन उपाध्यायले मङ्गलबार प्रशिक्षक अल्मुताइरीलाई सन् २०२४ लेखिएको रातो जर्स हस्तान्तरण गर्नुभएको थियो ।

अल्मुताइरीको तलबबारे भने दुवै पक्षले खुलाएनन् । यद्यपि प्रशिक्षक अल्मुताइरीले तलबमा वृद्धि भएकोसम्म भन्नुभयो । अल्मुताइरीले प्राप्त गर्ने तलब कतार सरकारले वेहोर्ने र नेपालले थप भत्ता प्रदान गर्ने बताइएको छ ।

अल्मुताइरी व्यवसायिक फुटबल प्रशिक्षकको लाइसेन्स होल्डर र एएफसी कोचिङ इन्स्ट्रक्टर हुनुहुन्छ । अब्दुललाले यसअघि, कुवेत र सउदी अरबका क्लबहरुको प्रशिक्षकको भूमिकामा रहिसक्नुभएको छ । उहाँसँग किर्गिस्तानको यु१६ टिमको प्रशिक्षकको अनुभव पनि छ ।

प्रशिक्षक अल्मुताइरीले आफूले नेपाल कहिल्यै फर्कन्न भनेको भए पनि नेपालीहरुले दिएको निस्वार्थ मायाले आफ्नाे मन परिवर्तन भएको र पुनः नेपालको प्रशिक्षक बन्न तयार बनेको जानकारी दिनुभयो । उहाँको आफ्नाे सपोर्टिङ स्टाफहरुसँग पनि नजिकको सम्बन्धले पनि आफूलाई नेपालमा तानेको बताउनुभयो । ‘म प्रशिक्षक हुँ र नेपाली जानताका लागि मात्र काम गर्न चाहन्छु । म नेपालमा फुटबल र खेलाडीहरुको स्तर विकास गर्न आएको हुँ, अरु मेरो मतलबको विषय होइन’उहँले भन्नुभयो । प्रशिक्षक अल्मुताइरीले नेपाल पहिलो पटक साफ च्याम्पियन बन्नबाट नजिकले चुकेको र यो ऐतिहासिक प्रदर्शन आफ्नाे कारणले मात्र नभई सबैको मिहिनेत र नेपाल समर्थकको विश्वासको परिणाम हो पनि भन्नुभयो । उहाँले सधैंजस्तै आफ्नाे खेलाडीप्रति आफूलाई गर्व भएको कुरा पनि छुटाउनुभएन ।

प्रशिक्षक अल्मुताइरीले आफ्नाे दोस्रको कार्यकालमा पनि नेपाली फुटबललाई कहाँसम्म पुर्याउने भन्ने लक्ष्य बनाउनुभएको छ । उहाँले नेपाली फुटबलको स्तरोन्नतिका लागि आफूलाई तयार पारेको योजना सार्वजनिक गर्दै भन्नुभयो– मेरो लक्ष्य एसियन कप २०२३ को तेस्रो चरणबाट फिफा वरीयता सुधार गर्ने हो । जसले फिफा विश्वकप छनाट २०२६ मा नेपालको अवसर बढोस् । नेपाल एसियन कप क्वालिफायरको तेस्रो चरणमा पुगिसकेको छ ।

प्रशिक्षक अल्मुताइरीले आगामी क्वालिफायरको मिति सर्नसक्ने र सेप्टेम्बरमा हुने आफूले भित्री खबर पाएको भन्दै यसका लागि नेपाली फुटबल टिमले गर्ने तयारीको योजनाबारे खुलासा गर्नुभयो । उहाँले मैले क्यालेन्डर बनाएको छु र सोही अनुसार योजना पनि छ, भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?