logo
२०८१ बैशाख ७ शुक्रवार

  किन हुन्छ गुडिरहेकाे गाडीमा आगलागी ?  



पाँच वर्षमा गुडिरहेका १६ गाडी र १० माेटरसाइकलमा आगाे लाग्याे

खुला |


पाँच वर्षमा गुडिरहेका १६ गाडी र १०  माेटरसाइकलमा आगाे लाग्याे


काठमाडौं, कात्तिक ११ गते । यही कात्तिक ७ गते धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारस्थित पृथ्वीराजमार्गमा गुडिरहेको बसमा अचानक आगलागी भयो । सुर्खेतबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४७१ नम्बरको यात्रुवहाक बसमा कात्तिक ७ गते राति २ बजे एक्कासि आगलागी भएको थियो । ३६ यात्रु रहेको बस आगजनीबाट पूर्णरुपमा क्षति पुगेको थियो भने सबै यात्रु सकुशल रहेका थिए ।

यसैगरी कात्तिक ३ गते सुनसरीको इटहरीका पनि गुडिरहेको भ्यानमा अचानक आगलागी भएर नष्ट भयो । इटहरी उपमहानगरपालिका–१ हलगाडस्थित कोशी लोकमार्गमा तार सर्ट भई गुडिरहेको भ्यानमा अचानक आगलागी भएर जलेर नष्ट भएको थियो । यसरी गाडीमा आगो लाग्नुमा तार सर्ट हुनु, इञ्जिनमा समस्या, पेट्रोल लिक हुनु जस्ता कारण प्रमुख कारण रहेको छ ।

सिटी मोटरसाइकल वार्कशप सिंहदरबारका सञ्चालक नविन मानान्धरले मोटरसाइलमा तार सर्ट हुनु, इञ्जिनमा समास्या, पेट्रोल लिक हुनु जस्ता कारणले अचानक आगो लाग्ने गरेको बताउनुहुन्छ । ‘सवारी धनीहरुको लापरबाहीले पनि यस्ता दुर्घटना हुन्छ, केही पैसाको लोभ गर्दा ठूलो दुर्घटना हुन सक्छ,’ उहाँले बताउनुभयो, ‘मोटरसाइलको हकमा थोरै रुपियाँमा फेर्न सकिने तार नफेर्दा तार जल्ने र एक्कासी आगो लाग्ने गर्छ ।’

सडक निर्माण समयमा हुन नसक्नु तथा सवारी अनुगमनमा गम्भीर नहुने प्रवृत्तिका कारण दुर्घटना भइ ठूलो धनजनको क्षति हुने गरेको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताउनुहुन्छ । ‘हरेक वर्ष दुर्घटना हुनु र जनधनको क्षति हुनु बिडम्बना हो,’ उहाँले भन्नुभयो । यो स्थितिमा एकले अर्कालाई गल्ती देखाउन नहुने उहाँको भनाइ छ ।

यसैगरी यातायत व्यवसायी सन्तोष चौधरीले नेपालमा सवारी चेकजाँच गर्ने नेपाल प्रहरी र ट्राफिक प्रहरी रहेका बताउनुहुन्छ । तर, चिट काट्ने र राजस्व उठाउने काम मात्र गर्ने गरेको उहाँको आरोप छ । ‘यातायत व्यवसाय सञ्चालन गर्न चुनौती छ, इञ्जिनको काम । कति बेला के हुन्छ सचेत हुँदा हुँदै पनि दुर्घटना हुन सक्ने हुन्छ, प्रहरीले गर्नुपर्ने गाडी चेक पनि गर्दैन,’ उहाँले भन्नुभयो, ‘गाडी चलाउनुपूर्व गाडी चेकजाँच गर्नुपर्ने हुन्छ । दुर्घटना भयो भने कसैलाई दोष थुपारेर समस्याको समाधान हुँदैन, जनधनको क्षति हुनु गम्भीर कुरा हो । यसका लागि हरेक निकाय सचेत हुन जरुरी छ ।’

यता, प्रहरीले सवारी चालकहरू अनुशासनमा बसेर सवारी चलाउने नगरेको बताएको छ । ‘प्रहरीको आँखा छलेर क्षमताभन्दा बढी यात्रु हाल्नु नै जोखिम सिर्जना गर्नु हो,’ केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले बताउनुभयो । राजमार्ग सवारी सिक्ने ठाउँ नरहेकाले परिपक्क भएर मात्र सवारी चलाउनुपर्ने उहाँ बताउनुहुन्छ ।

त्यसो त २०७४/७५ देखि चालू आर्थिक वर्षको कात्तिक पहिलो हप्तासम्म १६ वटा गुडिरहेको गाडीमा अचानक आगलागी भएको छ । नेपाली प्रहरीको तथ्याङ्कअनुसार सोही अवधिमा १० वटा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भएको छ । प्रहरीको तथ्याङ्कअनुसार २०७४ कात्तिक २६ गते मोरङको ग्रामथान गाउँपालिका–३ मा तार सर्ट भई गुडिरहेको माइक्रो पूर्णरुपमा जलेर नष्ट भएको थियो ।

२०७५ असोज १० गते दाङको राजपुर गाउँपालिका २ बेलामा वाईरिङ सर्ट भइ जेसिबि मेसिनको पछाडिको भाग जलेर नष्ट भएको थियो । त्यस्तै मंसिर २३ गते कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा तार सर्ट भइ फोर्स गाडीको टायर र फलामबाहेक सबै जलेर नष्ट भएको प्रहरी प्रधान कार्यलयको तथ्याङ्कमा उल्लेख छ ।

२०७७ वैशाख ३१ गते दाङको तुलसीपुर–९ मा मोटरसाइकल जलेर नष्ट भएको थियो । जेठ १३ गते दाङको लमही नगरपालिका–९ मा ट्रली जलेर नष्ट भएको थियो । यसैगरी भदौ ६ र ९ गते सल्यानमा जिप र मोटरसाइकल जलेको थियो । त्यस्तै दोलखामा भदौ ६ गते र मंसिर १२ गते मोटरसाइकलमा अचानक आगलागी भई जलेर नष्ट भएको थियो ।

यसैगरी मंसिर १ गते रुपन्देहीको मिलनचोकनजिक सडकमा मोटरसाइकल जलेर नष्ट भएको थियो । पुस २ गते इनरुवा–६ घोपली टोलस्थित पूर्वपश्चिम लोकमार्गमा गुडिरहेको मोटरसाइकलमा, पुस ८ गते उदयपुरको कटारी नगरपालिका–६ को बकपतिमा पेट्रोल लिक भई मोटरसाइकलमा आगलागी भएको थियो । माघ १५ गते धादिङको थाक्रे गाउँपालिका–८ चारकिलास्थित पृथ्वी लोकमार्गमा मोटरसाइकलले ओभरटेक गर्दा आगलागी भएको थियो ।

यसैगरी २०७८ भदौ ७ गते सुनसरीकै ईटहरी–२ पानीपियास्थित कोशी लोकमार्ग मोटरसाइकल दुर्घटना हुँदा आगलागी भएको थियो । त्यसक्रमा चालकसहित जलेर मृत्यु भएको थियो । असोज ११ गते रौटहतको चन्द्रपुर नगरपालिका–४ लमाहा जङ्गलको पूर्वपश्चिम राजमार्गमा गुडिरहेको स्कुटरमा आगलागी भएको थियो । कात्तिक ३ गते सुनसरीको ईटहरी उपमहानगरपालिका १ हलगाडस्थित कोशी लोकमार्गमा भ्यानमा र कात्तिक ७ गते धादिङकै गजुरी गाउँपालिका गजुरी बजारस्थित पृथ्वी लोकमार्गमा तार सर्ट भइ यात्रुबहाक बस जलेर नष्ट भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?