logo
२०८० चैत्र १६ शुक्रवार



ताप्लेजुङका किसान अदुवा खेतीमा आकर्षित

अर्थ |


ताप्लेजुङका किसान अदुवा खेतीमा आकर्षित
सिदिङ्वा–४ साब्लाखुका एक किसानको बारी लगाएको अदुवा खेती । तस्बिर - चन्द्र पन्दाक



चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङका किसान अदुवा खेतीमा आकर्षित हुँदै गएका छन् । धेरै समय र खर्च लगानी नगरी राम्रो आम्दानी लिन सकिने भएपछि किसानहरु व्यावसायिक अदुवा खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।
खाद्यान्न लगायत अन्य बालीको तुलनामा तेब्बर बढी फाइदा हुने भएकाले पनि अदुवा खेतीमा किसानको आकर्षण बढेको पाइएको छ । राम्रो जग्गा नभई पाखो बारीमासमेत खेती गर्न सकिने र पाखोबारीमा गरिने मकै, कोदो, फापरजस्ता खाद्यान्न बालीको तुलनामा अदुवाबाट बढी आम्दानी हुने भएपछि अदुवा खेती गर्दै आएको किसान बताउँछन् ।
जिल्लाको अलि सुख्खा र बजार नजिकका क्षेत्रका किसानले अदुवा खेती लगाउँदै आएका छन् । राम्रो आम्दानी हुने भएकाले एक नगदेबालीकै रुपमा अदुवा खेती गर्दै आएको पनि किसानको भनाइ छ । किसानका अनुसार अदुवा खेतीबाट दोहोरो फाइदा हुने गरेको छ । बीउ रोपेको माउ र पछि उत्पादन हुने नयाँ अदुवाबाट छुट्टाछुट्टै आम्दानी हुने किसानहरु बताउँछन् ।
जिल्लाको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका किसान भुवानी रिजालले अदुवाको बीउ रोपेको बुढी (माउ) बाट समेत राम्रो आम्दानी हुने बताउनुभयो । रिजालका अनुसार जति परिमाण अदुवाको बीउ रोपिन्छ, त्यसको पाँचदेखि १० प्रतिशत मात्र सड्ने गर्दछ । बाँकी माउ जस्ताको तस्तै रहने भएकाले सो बिक्री गरेर बीउ खरिद गर्दाको लगानी त्यसैबाट अदाई (असुल) हुने उहाँले बताउनुभयो ।
साब्लाखुकै अर्का किसान हस्त पौडेलले अदुवाबाट दोहोरो फाइदासँगै थोरै जमिनमा धेरै उत्पादन गर्न सकिने भएकाले अदुवा खेतीलाई निरन्तरता दिँदै आएको बताउनुभयो । “धान, मकै, कोदोजस्ता खाद्यान्न बाली धेरै उत्पादन गर्नलाई जग्गा पनि धेरै नै चाहिन्छ, तर अदुवा खेतीका लागि धेरै क्षेत्रफल जग्गा चाहिँदैन” पौडेलले भन्नुभयो । एक रोपनी क्षेत्रफल बराबरको जग्गामा खेती लगाएमा करिब १० देखि १५ क्विन्टल नै अदुवा उत्पादन हुने उहाँले बताउनुभयो ।
फुङ्लिङ नगरपालिकाका एक किसानका अनुसार अदुवाबाट हुने आम्दानीले घर तथा परिवार खर्च धान्नुका साथै आर्थिक बचत गरी खेतीमा सङ्लग्न किसानले अन्य धेरै प्रगतिसमेत गर्ने गरेका छन् । सदरमुकाम फुङ्लिङ बजार नजिक भएकाले खुद्रा बिक्री गर्दा अदुवाबाट अझ बढी फाइदा लिन सकिने उहाँले बताउनुभयो । तर उत्पादित अदुवा स्थानीय बजारमा बढी खपत नहुने हुँदा बाहिर निर्यात गर्नुपर्ने किसानको भनाइ छ ।
गाउँमा उत्पादित अदुवाको बजार खोज्नुपर्ने र टाढा पु¥याएर बिक्री गर्नुपर्ने कुनै झन्झट पनि नरहेको किसान बताउँछन् । हाल गाउँ–गाउँसम्म सडकको पहुँच बिस्तार भएकाले अदुवा व्यापारी गाउँमै आउने र बजारमा आएको मूल्य लगाउने उहाँहरुको भनाइ छ । व्यापारीले गाउँभर उत्पादन भएको अदुवा सङ्कलन गरी आफैँ ढुवानी गरेर लैजाने गरेका छन् ।
यता यसवर्ष अदुवाको माउको मूल्य नै प्रतिकिलोग्राम ५० देखि ७० रुपियाँ आएको किसानले बताएका छन् । बीऊ खरिद गर्दाको मूल्य बराबर नै माउको मूल्य आएकाले अदुवा खेतीबाट राम्रो फाइदा भएको साब्लाखुका किसान मिलन बानियाले बताउनुभयो । पछाडि सिजनमा पनि अदुवाले राम्रो मूल्य पाउनेमा जिल्लाका किसान ढुक्क रहेका छन् । जिल्लाको फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्वरक गाउँपालिका, सिदिङ्वालगायत गाउँपालिकाका विभिन्न वडामा अदुवाखेती गर्ने गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?