logo
२०८० चैत्र १५ बिहीवार



‘पर्यटन चलायमान बनाउन केन्द्रित’

पर्यटन |


‘पर्यटन चलायमान बनाउन केन्द्रित’


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले पर्यटन क्षेत्रलाई चलायमान बनाउन आफू केन्द्रित हुने बताउनुभएको छ । पर्यटन मन्त्रालयमा मङ्गलबार आयोजित एक कार्यक्रममा उहाँले आफ्नो सबै ध्यान पर्यटन क्षेत्रले भोगेका समस्या समाधान गर्नेतर्फ केन्द्रित हुने बताउनुभएको हो ।
म यस क्षेत्रमा देखिएका समस्या र विकृतिप्रति जानकार छु । यी समस्या समाधान गर्न नै म यो मन्त्रालयमा आएको हुँ । व्यवसायीहरूले अनुभूत गर्ने गरी यस क्षेत्रको विकासमा काम गर्ने मेरो प्रतिबद्धता हो,
उहाँले भन्नुभयो ।

कोभिड–१९ सङ्क्रमणका नेपालको पर्यटन उद्योगले ठूलो क्षति बेहोर्नु परेकाले यसबाट बाहिर आउन सबै मिल्नुपर्ने आवश्यक रहेको मन्त्री आलेको भनाइ थियो । यसका लागि आफूले निजी क्षेत्रको सहयोग लिएर काम गर्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै उहाँले नेपालको पर्यटन प्रर्वद्धनका लागि नेपाल वायुसेवा निगम बलियो, प्रतिस्पर्धी र समयसापेक्ष बनाउन आवश्यक रहेको र सोही अनुरूप काम अघि बढाइएको जानकारी दिनुभयो ।
मन्त्रालयका सचिवयादव प्रसाद कोइरालाले व्यवसायीका काम सहजीकरण र माग सम्बोधन गर्न मन्त्रालय सधैँ तयार रहको बताउनुभयो । नेपालमा पर्यटनको अथाह सम्भावना रहे पनि त्यसको समुचित उपयोग गर्न नसकिएकाले मन्त्रालयले नीतिगत सुधारको काम गर्ने र लगानी भिœयाउन निजी क्षेत्र अग्रसर हुन उहाँले आग्रह गर्नुभयो ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य पम्फा धमलाले कोभिडले गर्दा पर्यटन बोर्डको आय घटेकाले आवश्यक काम गर्ने अवस्थासमेत नरहेकाले अहिलेलाई सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।
बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पर्यटन क्षेत्रको विकासका लागि केही नीतिगत सुधार र पूर्वाधार विकास आवश्यक रहेकाले त्यसमा पहल गरिदिन मन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले नेपाललाई सबै उमेर समूह र सबै सिजनको पर्यटकीय गन्तव्य बनाउन सकिने पर्याप्त आधार रहेकाले यसका लागि अन्तर मन्त्रालय समन्वय र पर्यटन मैत्री कानुन आवश्यक भएको बताउनुभयो ।
कार्यक्रमा निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूले कोभिडले थलिएको पर्यटनलाई लयमा फर्काउन मन्त्रालयको विशेष पहल,साथ र सहयोग आवश्यक रहेको धारणा राख्नुभएको थियो । त्यसका लागि यसअघि भएका निर्णयहरूको सही कार्यान्वयन र केही नयाँ पर्यटनमैत्री निर्णय गर्न मन्त्रीलाई उहाँहरूको आग्रह थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?