logo
२०८१ बैशाख ७ शुक्रवार

  सुरक्षा निकायभित्र सम्मानार्थी शब्दकाे  प्रयाेग संभव छ ?  



सुधार हुँदै : पूर्व प्रहरी, पूर्ण सुधार असम्भव : मानवअधिकार कर्मी

पढ्नै पर्ने |
खुला |


सुधार हुँदै : पूर्व प्रहरी,  पूर्ण सुधार असम्भव : मानवअधिकार कर्मी


काठमाडौं, कार्तिक ८ गते । भगवान बुद्धको भनाइ अनुसार “नमिठो बोली पशुलाईसमेत मन पर्दैन ।” त्यसकारण हामी सबै मानिसहरु सभ्य भाषाको प्रयोग गर्नुपर्ने हुन्छ । सुरक्षा निकायभित्र माथिल्लो तहका कर्मचारीले तल्लो तहका कर्मचारीलाई ‘तँ’ भनेर बोलाउने परम्पराको सुधार हुँदै आएको नेपाल प्रहरीका पूर्व डीआइजी हेमन्त मल्ल बताउनुहुन्छ । उहाँका अनुसार पहिलेभन्दा अहिले सङ्गठनभित्र बोलिने भाषामा सुधार भएको छ ।

पूर्व डीआइजी मल्लले भन्नुभयो,“ यो अहिले मात्र भएको होइन, संगठनभित्र आन्तरिक गृहकार्य पहिलेदेखि हुँदै आएको छ र भाषामा पहिलेको तुलनामा धेरै सुधार भइसकेको छ ।” आफू अबकास पाएको ३५/३६ वर्षको आन्तरलमा संगठनभित्र धेरै परिवर्तन भइसकेको उहाँले आफूले देखेको बताउनुभयो ।

उहाँका अनुसार पहिले यो भन्दा असभ्य भाषाको प्रयोग हुन्थ्यो । तर सुरक्षा निकायका तिनै संगठनमा बोलिने केही यस्ता शब्द समयअनुसार परिवर्तन गर्न कठिन हुने डीआइजी मल्लले बताउनुभयो । मल्लले भन्नुभयो “ कुनै दंगा, भीड नियन्त्रण, सशस्त्र युद्धको समयमा गोली ठोक्नुस् हजुर भन्न सकिँदैन ।” नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले यसको अभ्यास पहिलेदेखि गर्दै आएको छ ।

संगठनभित्र परिवारिक वातावरण हुने हुँदा भित्रकै कर्मचारीलाई त्यस्तो अप्ठ्यारो नलागे पनि बाहिरको आम मानिसले कर्मचारीको दृष्टिले देख्ने हुँदा हेपाहा जस्तो देखिने हुनसक्छ । यस्ता आदेशात्मक कुरामा सुधार हुन कठिन हुने उहाँको भनाइ छ । “ यी संगठनमा हुनेहरु सबैजना सँगै सुत्ने, उठ्ने, काम गर्ने हुँदा घर जस्तो वातावरण हुने र बोलिचाली पनि घरकै जस्तो हुने हुँदा यसले अपनत्व पनि बढ्छ,” डीआइजी मल्लले भन्नुभयो, “सङ्गठनभित्र पनि राम्रा कर्मचारी हुन्छन् सबै जना त्यस्तो असभ्य भाषाको प्रयोग गर्दैनन् ।” उहाँले स्मरण गर्दै भन्नुभयो, “ मैले त कहिले त्यस्तो शब्द प्रयोग गरिन, यसले सङ्गठन बद्नाम हुन्छ, यी सिस्टमले चलेका सङ्गठन हुन् ।” यस्ता बोलिचाली सुधार हुन जरुरी रहेको उहाँको भनाइ छ ।

यस्तै, सशस्त्र प्रहरीका पूर्व डीआइजी मोहनकृष्ण श्रेष्ठका अनुसार संगठनको छबि बाहिर राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न पहिला सङ्गठनभित्र एकले अर्कालाई सम्मान गर्नुपर्ने हुन्छ । सुरक्षा निकायले ‘सम्मानार्थी’ शब्दको प्रयोग गरेर अझै छवि बढाउन सक्छ । यो अनुशासनमा चलेको सङ्गठन रहेको उहाँले बताउनुभयो । “ बोलिबचन राम्रो गर्ने मानिस पनि यो संगठनमा छन्, माया, प्रेम, स्नेहले बोलेर गरेको काम नै राम्रो हुन्छ,” डीआइजी श्रेष्ठले भन्नुभयो, “ त्यस्तो हेपाहा प्रवृति भएको छ भने रोकिनुपर्छ ।” बोलि बचन राम्रो गर्ने मानिसहरु पनि रहेकाले अङ्ग्रेजी बाहेक सबै भाषामा यस्तो शब्दको प्रयोग हुने गरेको डीआइजी श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ ‘त’ को दुई वटा अर्थ लाग्छ, दुइटै ‘त’ को अर्थ फरक हुन्छ ।” कुनै बेला ‘त’ ले माया, सम्मान गरेको हुन्छ भने कहिले हेपेको पनि हुन्छ । “ तपाई, तिमी र त तीनमध्ये जुन शब्दको प्रयोग गरे पनि हुन्छ भने राम्रो शब्द किन प्रयोग नगर्ने,” डीआइजी श्रेष्ठले भन्नुभयो, “ मेरो घरमा मभन्दा जावान काम गर्नेहरु छन् फेरि पनि म सबैलाई तपाई नै भन्छु ।” प्रहरी संगठनमा मात्रै होइन हरेकतिर यो शब्दको प्रयोग भइरहेकाले बोल्ने भाषाले कसैलाई नराम्रो प्रभाव नपरोस् भन्नेमा ध्यान दिन जरुरी रहेको डीआइजी श्रेष्ठको बुझाइ छ ।

मानवअधिकारको हिसाबले घरदेखि सुरक्षा निकायलगायत हरेक तह तप्कामा सम्मानार्थी शब्दको प्रयोग हुनुपर्ने मानव अधिकारकर्मी मोहना अन्सारीले बताउनुहुन्छ। उहाँले भन्नुभयो, “ कसैलाई सानो देखाउन होइन उसको सम्मानको लागि बोल्नुपर्छ, कसैको भावानामा चोट पुग्यो भने त्यसले कुनै पनि व्यक्ति वा संगठनलाई राम्रो गर्दैन ।”

सुरक्षा निकायमा यो व्यापक रहेको र माथिल्लो तहबाट नै आएकाले सुधार हुन सम्भव नहुने अन्सारीले बताउनुभयो । यो गर, त्यो गर, जा जस्ता होच्याउने शब्दले कहिले कही कल्पनै गर्न नसक्ने गरी भावनामा ठेस पुगेको हुन्छ । तर त्यहाँ तलैबाट भावनात्मक सम्बन्ध देखाउन बोल्ने भनिन्छ । प्रहरीभित्र बोल्ने तौर तरिका नै फरक रहेकाले बोलीमा सुधार ल्याउने कुरा सकारत्मक रहे पनि सुधार हुन भने सम्भव नहुने अन्सारीले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “ मानवअधिकारको दृष्टिकोणले भाषामा सुधार हुने कुरा सकारत्मक हो ।” यता, सुरक्षा निकायले ‘सम्मानार्थी’ शब्दको प्रयोग गरेर त्यसको सुरुवात गर्ने तयारी गरेको जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कानसहितको सेवा सञ्चालन गरिरहेको अवस्थामा समेत ‘तँ’ भनेर बोलिने भाषा परिवर्तन नहुँदा गृहमन्त्री बालकृष्ण खाँणले सभ्य भाषाको प्रयोग गर्न निर्देशन नै दिनुभएको छ । अबदेखि ती विभागमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्दको प्रयोग गर्नुपर्नेछ । गृहमन्त्री खाँणले तीनवटै संगठनका उच्च अधिकारीलाई सम्मानसहितको सेवा सञ्चालन गर्नुपर्ने निर्देशन दिनुभएको हो । अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न पाउने छैनन् ।

तर विगतमा प्रयोग गरिने भाषा अहिले पनि उच्च तहका प्रहरी अधिकारबाट प्रयोग हुने गरेको नाम नबताउने शर्तमा तल्लो तहका प्रहरीले जवानले गोरखापत्र अनलाइनलाई प्रतिकृया दिनुभएको छ । तल्लो तहका प्रहरीका जवानले विगतमा हुने गरेका त्यस्ता व्यवहारमा सुधार गर्ने प्रयास भएकोमा खुशी व्यक्त गर्नुभएको । विस्तारै सुधार हुँदै जाँदै उहाँले विश्वास गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?