logo
२०७८ मंसिर १८ शनिवार



उपचारको खोजीमा सुवास र केवल

खुला |
प्रदेश |
पढ्नै पर्ने |


उपचारको खोजीमा सुवास र केवल
तस्विर–हरिप्रसाद कोइराला



हरिप्रसाद कोइराला
उर्लाबारी, कात्तिक ७ गते । सुरुका दिनमा न दुख्थ्यो, न त बिजाउथ्यो नै । झट्ट हेर्दा डरलाग्दो देखिए पनि उहाँलाई कुनै शारीरिक र मानसिक असर थिएन । तर, उमेरसँगै बढेको मासुको डल्लोले (ऐंजेरु ) पुरै शरीर ढाकेपछि मोरङको मिक्लाजुङ–५ खोलिटारका सुवास राई यतिबेला चिन्ताले उदास हुनुहुन्छ ।
उहाँको देब्रे गालामा पलाएको मासुको डल्लो नहुँदो हो त उहाँ यतिबेला बैदेशिक रोजगारमा हुनुहुन्थ्यो । सानो छँदा मासुको सानो लुर्को मात्र थियो । उसैबेला बाबु आमाले सुवासको उपचार गर्ने प्रयत्न गर्नुभयो । तर, उपचार भन्दा विहान बेलुकाको जाउलो जुटाउने समस्या जटिल बनिदिँदा सुवासको गालामा पलाएको ऐंजेरु पत्तै नपाई निक्कै ठूलो भइसकेको छ । मोरङको दुर्गम गाउँ खोलिटारमा बस्दै आउनुभएका सुवास भन्नुहुन्छ – ‘आर्थिक अवस्था कमजोर छ । दैनिक मजदुरी नगरी खान पुग्दैन । सानो छँदा त उपचारको कुरा चलिरहन्थ्यो ।’
तर आमाको मृत्यु भएपछि सुवासको उपचार हुने सम्भावना झनै कमजोर भयो । कक्षा–७ सम्म अध्ययन गर्नुभएका सुवास अहिले ३६ वर्षको हुनुभयो ।अझै अविवाहित सुवास मजदुरी गरेर कमाएको पैसा खानपानमै सकिने बताउनुहुन्छ । आफ्नो कमाइले उपचार गर्न सकिएला भन्न लाग्न छोडेको छ ,सुवासलाई अचेल ।
उहाँ भन्नुहुन्छ – ‘कसैले सहयोग गरे उपचार गराउँथे ।’ उपचार भइदिए खोलिटारमा खुम्चिएर बस्नु नपर्ने उहाँको भनाइ छ । सुरुका दिनमा शरिरमा सानो मासुको डल्लो मात्र थियो । अहिले पुरै शरीरभरि फैलिसक्यो । यतिबेला चिन्ताले सुवासको शरीर नै गलिसक्यो । ३० वर्षको उमेरसम्म हट्टाकट्टा सुवास यतिबेला दुब्लाउँदै जानुभएको छ । पहिले खेतीपातिका काम निर्वाध गर्न सक्ने उहाँ यतिबेला कुनै काममा हातसम्म लगाउन सक्नुहुन्न । जता ढल्क्यो मासुको लुर्को त्यतै अल्जाउन पुग्छ ।
उपचार गरेर ऐंजेरु फाल्न पाए दुई चार पैसा कमाउन यसो बाहिर निस्कन सकिन्थ्यो कि भन्ने सपना देख्नुभएको छ, सुवासले । तर, आर्थिक अभावले उहाँको सपना पानीको फोकाझंै फुटिसकेको छ ।
सुवास मात्र होइन उहाँका भाई केवल राईको हातमा समेत ऐंजेरु पलाएको छ । केवलको ऐजेरुका कारण घरायसी काम काजमा सुवासको जिम्मेवारी थपिएको छ । भाईको हातले काम गर्न भर पाउँदैन । दुबै दाजुभाई शारीरिक रुपमा कमजोर हुँदा दैनिक जीवन निर्वाह गर्न नै अप्ठ्यारो भएको सुवास बताउनुहुन्छ । पैसाको अभावले उपचार गर्न नसकिएको भाई केवलले बताउनुहुन्छ । ‘सरकारले निःशुल्क उपचार गरिदिने कुरा सुनेको भए पनि त्यसबारेमा आफूहरू अनभिज्ञ रहेको उहाँले बताउनुभयो । ३१ वर्षीय केवलको दाहिने हातको कान्छी र माझी औंलो अठिया केरा जस्तै सुनिएको छ । घाम र पानी छल्ने सानो झुप्रो बाहेक आफ्नो केही नभएका राई दाजुभाई यतिबेला विहान बेलुकाको छाक टार्ने समस्यासँगै उपचार गरिदिने दाताको खोजीमा हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?