logo
२०८० चैत्र १५ बिहीवार



नेपालमा पनि बुस्टर डोजबारे छलफल थाल्नु जरुरी : डा.पुन

स्वास्थ्य |


नेपालमा पनि  बुस्टर डोजबारे छलफल थाल्नु जरुरी : डा.पुन


काठमाडौं,कात्तिक ५ गते । विश्वका केही देशहरुले कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिन सुरु गरिसकेका छन् । चीन,अमेरिका,बेलायत लगायतका देशहरुले आफ्ना नागरिकलाई बुस्टर डोज दिन सुरु गरेका छन् । कोरोनाविरुद्वको खोप लगाएको छ महिना पुगेपछि रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने भएका कारण पनि बुस्टर डोजको आवश्यकता रहेको भन्दै उनीहरुले नागरिकहरुलाई बुस्टर डोज दिन सुरु गरेका हुन् ।
यता नेपालमा पनि कोरोना भाइरसविरुद्वको खोप लगाएको छ महिना बितिसकेको छ । पहिलो चरणमा खोप लगाएकाहरुमा पनि बुस्टर जोड आवश्यकता पर्न सक्ने भएकाले नेपालमा पनि यसबारे बहस गर्नुपर्ने बेला आएको टेकु अस्पतालका सरुवा तथा संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताउनुभएको छ ।
पुनका अनुसार विश्वका विभिन्न प्रतिवेदनले कोरोनाविरुद्वको खोप लगाएको छ महिना पुगेपछि विस्तारै एन्टिबडीको क्षमतामा कमी हुँदै जाने जनाए अनुसार अब नेपालमा पनि बुस्टर डोजको आवश्यकता हुनसक्ने उहाँको भनाइ छ ।
नेपालमा अझै पनि अधिकांश नागरिकले कोरोनाविरुद्वको पहिलो मात्रा खोप लगाउन बाँकी नै छ । यस सन्दर्भमा बुस्टर डोज आवश्यक छैन भन्नु गलत हुने उहाँको भनाइ छ । ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ वर्षमाथि उमेर समूहमध्ये झण्डै ३३ प्रतिशतले मात्र पूर्ण मात्रा खोप लगाएको जनाएको छ । अझै ६७ प्रतिशत नागरिक खोपको प्रतीक्षामै रहेको देखिएको छ । यसकारण उनीहरुलाई पनि खोप प्रदान गर्दै छ महिना पुगिसकेकालाई बुस्टर डोजको बारेमा सोच्नुपर्छ ,’उहाँले भन्न्ुभयो ।
हाम्रो देशले अरु देशसँग खोप अयात गरेर लगाउनुपरिरहेको अवस्थामा नागरिकहरुलाई कुन तरिकाबाट जोगाउन सकिन्छ भन्ने नै प्रमुख दायित्व हुने उहाँ बताउनुहुन्छ । त्यसकारण सबै नागरिकलाई खोपको सुनिश्चितता गर्दै खोप लगाएको छ महिना पुगिसकेकाको एन्टिबडीको स्याम्पल कलेक्सन गरेर आवश्यक भए बुस्टर डोज दिन सकिने उहाँले बताउनुभयो ।
कतिपय खोप लगाएकाहरुमा एन्टिबडी नै विकसित नभएको पनि हुनसक्ने उहाँको दावी छ । आफूकहाँ उपचारका लागि आउने कतिपयले खोप लगाएको जनाए पनि जाँच गर्दा एन्टिबडी नै विकसित नभएको पाइएको उहाँ बताउनुहुन्छ । यस्ता व्यक्ति,दीर्घरोगी र ज्येष्ठ नागरिकलाई बुस्टर डोजको आवश्यकता रहेको उहाँको भनाइ छ ।
केहीदिन अघिमात्र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोपको प्रभावकारिताबारे अध्ययन गर्दा दुई महिनासम्म कोभिड–१९ विरुद्वको एन्टिबडी बढ्ने तर त्यस पश्चात क्रमशः खस्कँदै जाने प्रारम्भिक नतिजा सार्वजनिक गरेका कारण पनि बुस्टर डोजको बहस सुरु गर्नु आवश्यक रहेको डा.पुनले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?