logo
२०८१ बैशाख १३ बिहीवार

बेनी–जोमसोम सडक खण्ड हिलाम्मे, यात्रुको बिजोग

पढ्नै पर्ने |
खुला |
फोटो फिचर |


2021-10-20-48894


अमृतप्रसाद पौडेल
बेनी, कार्तिक ३ गते । लगातारको वर्षाले गर्दा सडक हिलाम्य हुँदा बिदा मनाउनका लागि मुस्ताङ भ्रमणका लागि निस्केका यात्रुहरुलाई सास्ती भएको छ ।

बेनी–जोमसोम सडक खण्ड अन्तर्गत पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वर, रघुगङ्गा गाउँपालिका–१ बेगखोला तथा अन्नपूर्ण गाउँपालिकाको दाना क्षेत्रमा सडक हिलाम्य हुँदा सास्ती भएको हो । अन्नपूर्ण गाउँपालिका–३ दाना, काभ्रे, रुप्से लगायतको क्षेत्रमा हिलोमा गाडी बस्दा निकै लामो लाम लागेको म्याग्दी कोरला यातायातका सञ्चालक मोहन के.सीले बताउनुभयो । केसी भन्नुहुन्छ अन्य अवस्थामा पनि बेनी–जोमसोम सडक सहज होइत तर अहिलेको वर्षाले झन् धेरै जटिल बनायो ।

मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा खोलामा बाढी आएर सडक अवरोध गरेपछि प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन आफैँ उक्त स्थानमा सुरक्षा निकायसँगको समन्वयमा खटेर सवारी आवतजावत गराउन खट्नुभएको थियो ।

तुलाचन भन्नुहुन्छ–‘नेपाली सेना, प्रहरी लगायतको सुरक्षा निकायको समन्वयमा जिल्लाभित्रका सबै सडक सुचारु गराउने प्रयास जारी छ । अहिले कुनै ठाउँमा रोकिएको छैन तर पनि हिलोले केही स्थानमा कठिन भएको हुनसक्छ ।’ डाँडाहरुमा हिउँ परेको भए पनि अहिले पानी पर्न रोकिएकोले भोलि बेलुकासम्ममा सबै अवस्था समान्य हुने अनुमान गर्न सकिने प्रतिनिधिसभा सदस्य तुलाचनले बताउनुभयो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल भन्नुहुन्छ–‘यो वर्षको वर्षा सकिएको भए पनि बेमौसममा आएको वर्षाले गर्दा म्याग्दीतर्फको सडकमा अवरोध धेरै भएको छ, मुस्ताङको पनि केही स्थानमा सडक सञ्चालनमा समस्या भएको भए पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा सडक सञ्चालनको प्रयास जारी छ ।’ अबरोध छैन तर पनि सजिलो र सहज पनि छैन प्रजिअ पौडेलले भन्नुभयो ।

वर्षाले गर्दा सवारी साधन हिलोमा फस्दा लामो समयसम्म यात्रुहरु सडकमै अलपत्र पर्नुपर्ने अवस्था सृजना भएको उत्तरी म्याग्दीको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचन भन्नुहुन्छ । बिहानदेखि केही रोकिएको भए पनि अहिले पुनः पानी पर्न थालेकोले समस्या फेरि पनि थप हुनसक्ने शेरचनको भनाइ छ । उहाँ भन्नुहुन्छ फोरह्वील गाडीलाई त केही सजिलो होला अरुलाई भने कठिन नै हुन्छ ।