logo
२०८० चैत्र ६ मंगलवार



राप्तीको पानीले सतर्कताको बिन्दु पार, तटीय क्षेत्रमा अलर्ट जारी

पढ्नै पर्ने |
प्रदेश |


राप्तीको पानीले सतर्कताको बिन्दु पार, तटीय क्षेत्रमा अलर्ट जारी


सिराज खान
नेपालगञ्ज, कात्तिक ३ गते । गत तीन दिनदेखि भएको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले सतर्कताको बिन्दु पार गरेपछि बाँकेको तटिय क्षेत्रका गाउँबस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।
कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह खतराको बिन्दु ५ मिटर पार गरिसकेकोले नदी वरिपरिका दर्जनौ गाउँ बस्ती बाढीको जोखिममा परेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।
बुधवार विहान १० बजे राप्ती नदीमा पानीको सतह ५ मिटर ३ सेन्टिमिटर पुगेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार, दाङ, रोल्पा, प्यूठानमा लगातार पानी परेकाले नदीको सतह बढेको हो । बुधवार बिहानैबाट नदी क्रमिक रुपले बढ्दै गएको छ । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।
सूचना अधिकृत ज्ञवालीले पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँ बस्तीमा सतर्क रहने सूचना पठाइएको बताउनुभयो ।
राप्ती नदीको बाढी तल्लो तटीय क्षेत्रमा आइपुग्न करिब ४ देखि ५ घण्टा समय लाग्ने अनुमान गरिन्छ । कुसुममा पानीको सतह ५ मिटर पुग्ने बित्तिकै खतरा स्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ । नदीको सतह ५ मिटर ४० सेन्टिमिटर पुग्ने वित्तिकै राप्ती नदी आसपासका दर्जनौं गाउँ डुब्ने गरेका छन् ।
भारतले अन्र्तर्राष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि बर्सेनी डुबानमा पर्दै आएका छन् ।
नदीको सतह बढेर ५.३ मिटर पुगेपछि राप्तीपारिको उच्च जोखिममा रहेका क्षेत्रहरुमा हाई अलर्ट जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो ।
उहाँले जोखिमका क्षेत्रबाट स्थानीयलाई उच्च क्षेत्रमा जान आग्रह गरिएको र ती सबै ठाउँमा सुरक्षा निकायका तीनवटै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।
आवश्यक परेमा हेलिकोप्टर लगायतलाई पनि तयारी अवस्थामा राखिएको प्रजिअ खत्रीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?