logo
२०७८ मंसिर २३ बिहीवार

पर्यटकको रोजाइमा पर्दै टेउवा (फाेटाे फिचर)

राष्ट्रिय |
फोटो फिचर |


2021-10-17-48671


नवीन शिशिर विक
बागलुङ, असोज ३१ गते । बागलुङको अग्लो पहाड हो घुम्टे । त्यही घुम्टेको आगनमा छ, टेउवा । भौगोलिक विकटताले गर्दा कुनै समय मानव वस्ती विकास र विस्तारको लागि धेरैको रोजाईमा नपर्ने टेउवा, हिजो आज नयाँ पर्यटकीय गन्तव्यको रुपमा सबैको आकर्षणको केन्द्र बनेको छ ।
टेउवाको डाडामा स्थापना गरिएका आकर्षक मूर्तिकलाले सो क्षेत्रको पहिचान बद्लेको हो । अन्र्तराष्ट्रिय मुर्तिकारहरुले विशाल सिलामा कुँदेको आकर्षक मूर्तिकला अवलोकन गर्न दैनिक जसो आन्तरिक पर्यटकहरुको भीड लाग्ने गरेको छ ।
गलकोट नगरपालिका–५ टेउवा क्षेत्र गलकोट उपत्यकाको उच्च भागमा पर्छ । विशेष गरी चाडपर्व र सार्वजनिक विदाको दिन टेउवामा तयार भएका मूर्तिको अवलोकन गर्नेको भीड लाग्ने स्थानीय बुद्धिबहादुर थापाले बताउनुभयो । ‘पहिलो लेकको टुप्पो भनेर कोही पनि आउने थिएनन’ उहाँले भन्नुभयो–‘मूर्ति बने पछि टिकेट काटेर हेर्न आउने भएका छन् ।’ टेउवा चर्चित पर्यटकीय क्षेत्र घुम्टेधुरीको फेदमा पर्छ ।
उक्त स्थानबाट गल्कोट क्षेत्रकाका अधिकांश बस्ति अवलोकन गर्न सकिन्छ । वि.स २०७५ फागुन ५ देखि २१ गतेसम्म अन्तर्राष्ट्रिय स्तरका मूर्तिकारको सम्मेलन गरी १० देशका १५ जना मूर्तिकारले १७ वटा अमूर्त, अर्धमूर्त र मूर्ति चित्र तयार गरेका छन् । विदाको समयमा घुमफिर गरेर अदभुत कलाकृतिको अवलोकन र सिकाई गर्न सकिने थापाले बताउनुभयो ।
खुल्ला मूर्ति संग्राहलयमा राखिएका मूर्तिमा जीवन, जगत, प्रकृति र संस्कृतिका विषयमा जीवन भरिएको छ । संग्राहलय निर्माण गर्न स्थानीय झंक बस्नेत, मानबहादुर खत्री, टीकाकुमारी कार्कीले निःशुल्क जग्गा उपलब्ध गराएको गल्कोट कला प्रतिष्ठानका सहसचिव सेरबहादुर थापाले जानकारी दिनुभयो ।
दरमखोलाको ढुंगा उच्च पहाडमा लगेर मूर्तिकारले ढुंगामा पहाड, जल, जंगल, जमिन, गणेश मानव सभ्यता, सहारिक महिला, भगवान गौतम बुद्धको आकृति तयार गरिएको छ । गलकोट कला प्रतिष्ठानले संग्राहलय निर्माण गरेको हो ।
उक्त सग्रहलयलाई थप व्यवस्थित बनाउन प्रतिष्ठानले स्थानीय सरकार र संघीय सरकारसँग समन्वन गरी आवश्यक पूर्वाधार निर्माणको काम सुरु भएको छ । प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उद्यान मन्त्रालयले चार करोड ५५ लाख र गलकोट नगरपालिकाले दुई करोड ४५ लाख लागतमा पूर्वाधार निर्माणको काम सुरु भएको छ । उक्त बजेटले पर्यटकीय संग्रहलय र हरिचौर बजारदेखि घुम्टे लेकसम्मको पहुँच मार्ग विस्तार हुनेछ ।
संग्राहलयलाई थप व्यवस्थित, आकर्षक बनाउन प्रतिष्ठानले पर्यटकीय र सांस्कृतिक सम्पादास्थल बनाउने योजना निर्माण गरेको छ । गुरुयोजना र नयाँ संरचना निर्माणका विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम अन्तिम चरणमा पुगेको अध्यक्ष रानाले बताउनुभयो । नयाँ संरचना बनाउन ३६ करोड ५६ लाख रुपियाँ खर्च हुने डिपिआरमा उल्लेख गरिएको छ ।
संग्राहलय क्षेत्रमा बहुउद्देश्यीय अन्तराष्टिय सम्मेलन भवन, दुई वटा गेट, टिकट काउन्टर, सितल पाटी, पानीको फोहोरा, बगैचा, वृक्षरोपण, सिँढी निर्माण गरिनेछ ।
जापानका जुन इचिरो सुगिमोतो, इटालीका बिटिनो फ्रान्सेनी, चिनका लिउ याङ्ग, फ्रान्सका जिवियर्स गोँजालेज, ताइवानका लिन लि जेन, भारतका टुटु पटानायलक, क्यानडाका जुली ग्ल्यास्पी, इजरालका तान्या प्रिमिङ्गर, ब्राजिलियन जर्जलुईज र युक्रेन्का ल्युडमेलले कार्यशालामा मूर्ति तयार गरेका थिए । नेपाली मूर्तिकार प्रवीणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले मूर्ति तयार गर्नुभएको थियो ।