logo
२०८१ बैशाख ५ बुधवार

  कम आय भएकाको दसैं  



जुत्ता सिलाउन थालेको ३५ वर्ष भयो, काठमाडौंको दसैं रमाइलो लाग्छ

समाज |


जुत्ता सिलाउन थालेको ३५ वर्ष भयो, काठमाडौंको दसैं रमाइलो लाग्छ
सांकेतिक तस्बिर



काठमाडौँ, असोज २६ गते । कुनै बेला घर खर्च चलाउन र चाडपर्व मनाउन साहुको घरदैलो धाउनुपर्ने तीतो यथार्थ रौतहट घर भइ सुन्धारामा जुत्ता सिलाउने बिरसिंह रामसँग रहेको छ । जुत्ता सिलाउने कामलाई सामाजले हेर्ने दृष्टिकोण अझै बद्ली नसकेको तर कमाइ भने राम्रो हुने गरेको रामले बताउनुभयो ।

रामको दैनिकी जुत्ता सिलाएर बित्छ । त्यो उहाँको पुख्र्यौली पेसा हो । पुख्र्यौली पेसालाई व्यावसायिक बनाउँदा आम्दानी भने राम्रो हुने गरेको छ । जुत्ता सिलाउने पुख्र्यौली पेशा भएकाले उहाँलाई व्यवसायिक बन्न त्यति संघर्ष गर्नु परेन । तर व्यवसाय जोगाउन निरन्तर लागि रहनुपर्ने उहाँको अनुभव छ ।

रामले जुत्ता सिलाउन थालेको अहिले ३५ वर्ष बित्यो । साढे तीन दशकको अवधिमा उहाँले यही कमाइबाट घर खर्च, छोराछोरीको पढाइ, लुगाफाटा मात्रै होइन छोराहरुका लागि व्यापार गर्ने पुँजीसमेत संकलन गर्न सफल हुनुभएको छ । यो अवधिमा राजधानीको गल्ली गल्लीमा जुत्ता सिलाएको रामसँग अनुभव छ । उहाँ एकल पुरुष हो । श्रीमाती बितेदेखि आफै खाना बनाएर उहाँले खानुहुन्छ । विहान जुता सिलाउन धरहरानजिक सडक पेटीमा बस्ने रामले दिउँसो खाना खाएर आराम गुर्नहुन्छ । अनि साँझ पुनः जुत्ता सिलाउने काममा फर्किनुहुन्छ ।

उहाँको दुई छोरी र चार जना छोरा छन् । तर काठमाडौँमा एक्लै बस्नुहुन्छ । दिनभर काठमाडौँमा बसेर कामएको पैसाले खर्च कटाएर मासिक लगभग बीस हजार रुपियाँ आम्दानी हुने रामले बताउनुभयो । “दशैं तिहारका बेला ग्राहक बढी आउने भएकाले मासिक कमाइ अलि बढ्ने हुन्छ,” रामले भन्नुभयो । रौतहटको स्थायी बासिन्द रामको जुत्ता सिलाइको कमाइबाट बनाएको घरमा छोराछोरी बस्नुहुन्छ ।

अहिले कामको मारामार रहेकाले काम गर्न चुनौटी थपिएको रामको भनाइ छ । उहाँले जुत्ता सिलाइ पेशालाई अझ व्यवसायिक बनाउँदै लाने बताउनुभयो । “ पहिले मेरो बुबाले गरेको अहिले म र मेरो छोराहरु पनि जुत्ताको काम गर्दैछौँ ।” उहाँले आफूभन्दा छोराहरुले व्यवसायिक हिसाबले व्यवस्थित तरिकाले काम गरिरहेको बताउनुभयो ।

जुत्ता सिलाइ पेसा गर्न अन्त सिक्न जानु नपरेको रामले बताउनुभयो । “ बुबाले गर्दै आएको काम भएर आफैं सिके,” रामले भन्नुभयो, “ पहिले कमाइ पनि राम्रो हुन्थ्यो, अहिले व्यवसाय गर्नेको संख्या बढेकाले कमाइमा चुनौटी थपिएको छ ।” पुख्र्यौली कामलाई निरन्तरता दिन सकेकोमा आफूलाई गर्व लाग्ने रामको भनाइ छ ।

जुत्ता सिलाउने काममा पनि परिवारले सहयोग गर्ने गरेको रामले बताउनुभयो । दुई छोरी र चार छोरीसहितको परिवारको जीविकोपार्जन गरेका रामले अहिले ठूलो परिवार हुँदा पनि छोराहरुको काममा सन्तुष्ट हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले त छोराछोरी पनि काम गर्ने भइसके म स्वतन्त्र छु ।” जुत्ता सिलाइले गरेको आम्दानीले छोराछोरीलाई अध्ययन गराउन सकेकोमा राम खुशी हुनुहुन्छ ।

उहाँले छोराछोरीलाई काठमाडौँमै पढाएको बताउनुभयो । “ छोराहरु नेपालमा पढेर भारतमा जुत्ताको व्यापार गरेका छन्,” रामले भन्नुभयो । अहिले ठूलो परिवार छ तर छोराछोरी आफै कमाउँदै गुजारा गरिरहेको छन् । जुत्ता सिलाएर परिवारको चित्त बुझेको रामको भनाइ छ ।
उहाँले हिन्दु धर्मावलम्बीहरुको महान् चाड दशैँ–तिहार नजिकिँदै गरेकाले अतीतमा दशैँ–तिहारको रौनक छुट्टै हुने बताउनुभयो । उहाँले भन्नुभयो, “ महिनौ अघिदेखि गाउँ–शहरमा दशैँका गीत गुञ्जने, हुने–नहुनेहरु दशैँ–तिहार कसरी मनाउने भन्दै योजना बनाउने, अझ भारतमा दशैँको रौनकता बढी हुने हुन्छ ।” तर आफू नेपालमै धेरै बस्ने हुनाले काडमाडौँको दशैँ रमाइलो लाग्ने रामको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?