logo
२०८१ बैशाख १३ बिहीवार

हिमाली गाउँमा याक र चौंरीको खुराक जोहो गर्ने चटारो (फाेटाे फिचर)

खुला |
समाज |
फोटो फिचर |


2021-10-11-48450
याक र चौंरीलाई खुवाउने खुराक (घाँस) सुकाउँदै ओलाङ्चुङगोलाका स्थानीय । तस्बिर - चन्द्र पन्दाक ।


चन्द्र पन्दाक
ताप्लेजुङ, असोज २५ गते । ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौरीलाई खुराक (घाँस) को जोहो गर्ने चटारो छ । हिउँद मौसमका बेला हिमाली क्षेत्रमा हिमपात हुने हुँदा त्यहाँका बासिन्दालाई याक र चौंरीका लागि हिउँदे खुराकको जोहो गर्ने चटारो सुरु भएको हो ।
जिल्लाको हिमाली बस्तीका बासिन्दाको मुख्य पेशा नै याक र चाैरीपालन हो । मुख्य तथा पुख्र्यौली पेशाको रुपमा याक र चौंरीपालन गर्दै आएका हिमाली क्षेत्रका बासिन्दालाई हिजोआज याक÷चौंरीका लागि हिउँदे घाँस जोहो गर्नलाई भ्याई नभ्याई छ । कात्तिक अन्तिमदेखि चैतसम्म नै करिव पाँच महिना बढी हिमपात हुने भएकोले अहिले हिउँदे घाँसको जोहो गर्न थालेको स्थानीयले बताएका छन् ।
हिमाली क्षेत्रमा हिमपात हुन थालेपछि चरन क्षेत्रमा हिउँले ढाक्ने र त्यसबेला याक तथा चौंरीका लागि खुराक (घाँस) को अभाव हुने फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार हिउँले चरन क्षेत्र ढाक्ने हुँदा हिमपातको मौसममा चौंरी र याकलाई खुवाउने घाँस यहीबेला जोहो गर्नुपर्ने बाध्यता छ । हिमपातले गर्दा चरन क्षेत्रको अभाव हुने भएकै कारण हिउँदको मौसममा याक चौंरी बचाउनलाई अहिले अनिवार्य हिउँदे घाँसको जोहो गर्नुपर्ने अवस्था रहेको ओलाङ्चुङगोलाकै अर्का स्थानीय छेतेन फिन्जो शेर्पाले बताउनुभयो ।
अहिले याक र चौंरीका लागि हिउँदे घाँस (खुराक) को जोहो गर्नमा हिमाली बस्ती ओलाङ्चुङगोलाका स्थानीयहरु जुटेका छन् । त्यहाँका स्थानीयले सामुहिक रुपमा घाँस सङ्कलन गर्नेगरी घाँसे क्षेत्रको संरक्षण गर्दै आएको र हाल सोही क्षेत्रमा स्थानीय सबै जुटेर घाँस सङ्कलन गरिरहेको फुपु फुटी शेर्पाले बताउनुभयो । विगतदेखि नै ओलाङ्चुङगोलाका याक र चौंरी पालक किसानले संरक्षण गर्दै आएको घाँसे क्षेत्रमा घाँस सङ्कलन गर्ने गरिएको शेर्पाले बताउनुभयो ।
उहाँका अनुसार प्रत्येक वर्ष असोज महिनामा पशुपालक सबै परिवार जुटेर घाँस सङ्कलन गर्ने (काट्ने) गरिएको र सङ्कलन गरेको घाँसलाई दुई÷चार दिनसम्म सुकाएर आ–आफ्नो घर गोठमा भण्डारण गरेर राख्ने गरिएको छ । राम्ररी सुकाएर घर÷गोठमा भण्डारण गरेर राखेको घाँस हिमपातको अवधिभर याक र चौंरीलाई खुवाउने गरिएको स्थानीय बताउँछन् । कुनै वर्ष हिमपातको मौसम लम्बिने हुँदा यतिबेला भण्डारण गरेर राखेको घाँस नै थोर–थोरै खुवाएर भए पनि याक र चौंरीको प्राण बचाउने गरिएको ओलाङ्चुङगोलाका स्थानीय छिरिङ दोर्जे शेर्पाले बताउनुभयो ।
मुख्य पेशा र आम्दानीको प्रमुख स्रोत नै याक तथा चौंरी पालन भएकाले ओलाङ्चुङगोलासहित याङ्मा, तोक्पेगोला, फले र घुन्सा क्षेत्रका बासिन्दा हिउँद–बर्खा नै याक र चौंरीको गोठ सम्हाल्ने गर्दछन् । घाँस (खुराक) नपाएर वा अन्य कारणले एउटा मात्र याक वा चौंरी मरेमा डेढ लाख रुपियाँसम्म घाटा हुने स्थानीय बताउँछन् । यता अढाइ वर्षदेखि कोरोना महामारीका कारण तिब्बततर्फ याक र चौंरी बिक्री नभएकाले सङ्ख्या पनि बढेको र हिमपातको मौसममा खुराक पु¥याउनलाई समेत हैरानी हुने उनीहरुको भनाइ छ ।
हाल ओलाङ्चुङगोला क्षेत्रमा मात्र सात वटा जति याक÷चौंरीको गोठ रहेका छन् । उक्त गोठमा करिव साढे चार सय याकको सङ्ख्या रहेको स्थानीयले बताएका छन् । चौंरीको सङ्ख्या पनि सोही अनुपातमा रहेका बताइएको छ । तोक्पेगोला क्षेत्रमा करिब ३५ वटा याक÷चौंरीका गोठ रहेको मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु लामाले बताउनुभयो । वडाध्यक्ष लामाका अनुसार तोक्पेखोला क्षेत्रमा दुई हजार बढी याक÷चौंरी छन् । त्यस्तै याङ्मा, फले र घुन्सा क्षेत्रमा पनि दर्जनौ गोठहरु रहेका घुन्साका स्थानीय पेमा शेर्पाले जानकारी दिनुभयो ।