logo
२०७८ मंसिर १५ बुधवार



अन्तरसांस्कृतिक सञ्चार पर्व

विचार/दृष्टिकोण |


अन्तरसांस्कृतिक सञ्चार पर्व


डा.कुन्दन अर्याल

नेपालमा सबैभन्दा व्यापक रूपमा मनाइने पर्व दशैँ सुरु भइसकेको छ । अबका झण्डै दुई साता राष्ट्रिय परिचायक बनिसकेको दशैँमा नेपाली रमाउने छन् । बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक नेपालमा दशैँले धार्मिक पर्वभन्दा पनि बढी साझा सांस्कृतिक स्वरूप ग्रहण गरिसकेको छ । अन्तरसांस्कृतिक सञ्चारका दृष्टिले दशैं सम्पूर्ण देशवासीबीच उत्साह र शुभकामना आदानप्रदान गर्ने साझा अवसरका रूपमा स्थापित छ । सञ्चार र यातायातको दृष्टिले अति अविकसित अवस्थामा रहेको बेलामा दशैँ प्रत्यक्ष पारिवारिक वा सामुदायिक मिलन र संवादका लागि झनै महìवपूर्ण थियो । नेपाली राजनीतिमा समेत दशैँलाई संवादको वृत्त फराकिलो बनाउने अवसरमा उपयोग गरिंदै आएको देखिन्छ । दशैँका बेला गाउँ, बस्ती वा साना सहरमा हुने मित्र मिलन समारोहदेखि राजधानीमा गरिने ठूला–ठूला चियापानसम्मका आयोजना अन्तरसांस्कृतिक र प्रत्यक्ष राजनीतिक संवादका उदाहरण हुन् । त्यसैले सञ्चारका दृष्टिले दशैँ सद्भावको संवाहक हो । ठूला–ठूला राजनीतिक जमघट र प्रत्यक्ष संवादले मिडियामा विस्तारित रूपमा समय र स्थान पाएपछि दशैँको सञ्चार र सद्भावको ध्येयको अझ
विस्तार हुने गरेको छ ।
एकातिर आज संसारभरि नै विविधतालाई समाज विकासका लागि महत्त्वपूर्ण आधार मानिएको देखिन्छ । अर्कोतिर अन्तरसांस्कृतिक परिवेशलाई भत्काउँदै भाषिक र सांस्कृतिक विविधतालाई अस्वीकार गर्न खोजिएको पनि देखिन्छ । यही शताब्दीको सुरुवातपछि समेत अन्तरसांस्कृतिक द्वन्द्व चर्काउन मिडियाको दुरुपयोग गरिएको समेत देखिएको छ । त्यसैले मिडियामार्फत हुने आमसञ्चारसहित सबै तहका सञ्चार प्रक्रियामा अन्तरसांस्कृतिक संवेदनशीलता जरुरी छ । कतिपय देशमा आज हरेक नागरिकलाई अन्तरसांस्कृतिक संवाद र सद्भावका लागि प्रेरित गर्ने गरिएको पनि देखिन्छ । यही कारण कैयौँ विश्वविद्यालयमा पत्रकारिताको पाठ्यक्रममा अन्तरसांस्कृतिक सञ्चारलाई समाहित गरिएको हो । आमसञ्चारका साधन वा आमसञ्चारका वाहक र आमनागरिक समेत केवल आफ्नो सांस्कृतिक रीतिरिवाजलाई मात्र उपयुक्त नदेखुन् र अन्य सांस्कृतिक जीवनलाई हेयको दृष्टिकोणले नहेरुन् भन्ने ध्येयसाथ अन्तरसांस्कृतिक सद्भावलाई बढाउन नै अन्तरसांस्कृतिक सञ्चारको विधालाई फराकिलो बनाइँदैछ ।

नेपालको सन्दर्भमा पुस्तौँंको अभ्यासपछि आजको मितिसम्म आइपुग्दा दशैँको सद्भावको साझा पर्वका रूपमा बन्न गएको छवि उल्लेखनीय छ । सांस्कृतिक, धार्मिक र भाषिक विविधता भएको नेपाली समाजमा दशैँ आममानिसका लागि भेटघाट, सद्भाव र सञ्चारको मौलिक पर्वका रूपमा आउने गरेको छ । यस पर्वलाई मनाउने तौरतरिकामा पनि भिन्नता देखिन्छन् । तर गर्मी र वर्षापछिको हिउँदको सुरुवातकालीन आनन्दमयी मौसममा मनाइने यो पर्व आमरूपमा सबै नेपालीको उल्लासको अवसरका रूपमा चिनिंदै आएको छ । मानव–सञ्चारबाट अपेक्षा गरिने एउटा महìवपूर्ण भूमिका भनेको समाजलाई जोड्ने वा आममानिसबीचको सद्भाव कायम राख्ने नै हो ।
अन्तरवैयक्तिक, सामूहिक वा आमसञ्चारको अत्यन्त महत्त्वपूर्ण भूमिका यही हो । सबै तहको सञ्चारका क्रममा यो विषयमा ध्यान पु-याउनै पनि पर्छ । नेपाली समाजमा दशैंँले भेटघाटको अवसर, नियमित कामबाट फुर्सदको समय र सद्भावको आदानप्रदान गर्ने मौका रूपमा समाजको सेतुका रूपमा सञ्चार–भूमिका निर्वाह गर्दै आएको छ ।
चाड पर्व, जात्रा, खेलकुदजस्ता मानव गतिविधि सञ्चार वृत्तलाई फराकिलो बनाउने माध्यम हुन् । सद्भाव र शुभकामना सञ्चारको सम्बन्ध विकसित गर्ने आयाम हुन् । सञ्चार भनेको केवल कुनै जानकारी कुनै व्यक्ति वा समुदायसम्म पु-याउनु मात्र होइन । सञ्चारको दोस्रो महìवपूर्ण आयाम भनेको सम्बन्धको सुरुवात वा निरन्तरता पनि हो ।

सञ्चारले त अलग–अलग व्यक्ति वा फरक–फरक समुदायबीचको सम्बन्ध कस्तो छ भन्ने समेत देखाउँछ । अर्को शब्दमा भन्दा सुसम्बन्धलाई बलियो बनाउनसमेत सञ्चार नै आवश्यक पर्छ । समुदाय र समाजको उद्भव र निरन्तरताका लागि अन्तरवैयक्तिक, समूहगत वा आमसञ्चारजस्ता सबै तहका सञ्चार जरुरी हुन्छ । त्यही कारण सबैले समानताका आधारमा पाउने निर्वाध सञ्चारको अधिकारलाई लोकतान्त्रिक शासन व्यवस्थाको आधार भनिएको हो । कुनै खतरनाक परिमाणबाट त्रसित नभई सार्वजनिक सरोकारका विषयमा स्वेच्छाले हरेक नागरिकले आफ्नो कुरा राख्न पाएको खण्डमा मात्र पूर्ण लोकतन्त्रको अनुभूति हुन सक्छ । आफ्नो अभिव्यक्तिले अरूका लागि तत्कालै प्रष्ट रूपमा खतरा निम्त्याउने किसिमको भने
हुनु हुँदैन ।
विख्यात जर्मन दार्शनिक हाबरमासले लोकतान्त्रिक व्यवस्थाको निरन्तरताका लागि जायज ढङ्गले जनमत बन्न सक्ने वातावरण हुनुपर्छ भन्नुको अर्थ पनि यही हो । उनी सार्वजनिक बहसमा सङ्लग्न आलोचनात्मक स्वर निर्वाध गुञ्जन सक्ने वृत्तको परिकल्पना गर्छन् । उनको सार्वजनिक वृत्तमा जनमतको निर्माण हुने क्षमता हुन्छ ।

त्यस्तो वृत्तमा विना भेदभाव सबै नागरिकको पहुँच वा निर्वाध बहस गर्ने अधिकार हुन्छ । भेला हुन पाउने र सङ्गठित हुन पाउने स्वतन्त्रताका साथै अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै आमनागरिकले आर्थिक तथा राजनीतिक नियन्त्रण विना सार्वजनिक चासोको विषयमा छलफल गर्न सक्ने वृत्त लोकतन्त्रमा मात्र सम्भव हुन्छ । कुनै बेला सार्वजनिक वृत्तलाई प्राचीन ग्रीक सहरहरूको अगोराजस्तो कुनै भौतिक स्थलका रूपमा बुझिन्थ्यो । जहाँ नागरिकहरू भेला भएर विभिन्न सार्वजनिक सरोकारका विषयमा छलफल गर्दथे । तर आजको युगमा आमसञ्चारका विभिन्न साधनले सार्वजनिक वृत्त उपलब्ध गराइरहेका छन् । यो कुरा बेग्लै हो, स्वयं हाबरमास मिडियाले सिर्जना गर्ने सार्वजनिक वृत्त सारभूत रूपमा अपेक्षाकृत सशक्त हुँदैन भन्ने ठान्छन् ।
अन्तरसांस्कृतिक सञ्चार वा विभिन्न भाषा र संस्कृतिका वाहक समुदायहरूबीचको आपसी संवाद कतिपय बेला असमझदारीमा पुग्ने खतरा रहन्छ । चाड, पर्व वा सांस्कृतिक आयोजनाहरूलाई विवादमा पारेको समेत देखिन्छ । त्यसैले आफ्नो रीतिरिवाज वा चाड पर्वलाई मात्र असल देख्ने र आफूले बुझेको संस्कृतिको मापदण्डका आधारमा अरूको सांस्कृतिक अभ्यासको आकलन गर्ने प्रवृत्ति गलत हुन्छ । बरु विविध धर्मावलम्बी वा संस्कृतिका वाहकहरूको पर्व र रीतिरिवाजलाई सम्मानका दृष्टिले हेर्ने परिपाटी भयो भने विभिन्न समुदायबीच सद्भावको सञ्चार हुन सक्छ । अन्तरसांस्कृतिक सञ्चारलाई सौहाद्र बनाउने पहिलो सूत्र यही हो । आजका सचेत र व्यावसायिक आमसञ्चार माध्यमहरूले यस विषयमा पर्याप्त ध्यान पु-याउने गर्छन् ।

शान्ति, विकास र अमनचयनका लागि अन्तरसांस्कृतिक सञ्चारको महìव देख्ने क्रममा ध्यान पु¥याइने अर्को विषय हो, एकोहोरो सोचबाट उन्मुक्ति । कतिपय बेला एउटा सांस्कृतिक समुदायका सदस्यले अर्को भाषिक वा सांस्कृतिक समुदायको व्यक्तिलाई निरन्तर कुनै पूर्वाग्रह ग्रसित आँखाले वा एकोहोरो सोचबाट प्रभावित भएर व्यवहार गर्नु गलत हो । झन् आमसञ्चार माध्यमहरू नै यस्तो स्टेरियोटाइपको मानसिकताबाट ग्रसित भएको अवस्थामा सञ्चार नै सद्भावको शत्रुका रूपमा देखापर्न सक्छ । एउटा संस्कृतिले तय गरेको मापदण्डबाट अर्को सांस्कृतिक व्यवहारको आकलन गर्न थालियो भने मनोवैज्ञानिक बाधाहरू उत्पन्न हुने खतरा हुन्छ । त्यस्ता बाधाहरूले अन्तरसांस्कृतिक सद्भाव र सञ्चारलाई प्रोत्साहित गर्दैन । अनेक गलत मानसिक तस्बिर बनाउँदै एउटा समुदाय अर्को समुदायको विरुद्धमा देखापर्न सक्छ । भौतिक दूरी, भाषिक भिन्नता र सामाजिक मूल्य वा मान्यताका कारणसमेत एउटा समुदाय अर्कोबाट टाढा देखिएको हुन सक्छ । तर आमसञ्चार माध्यमका संवेदनशीलताका अतिरिक्त साझा चाड–पर्वहरूले पनि प्रभावकारी रूपमा अन्तरसांस्कृतिक सञ्चारका अवरोधहरूलाई पन्छाउन सक्छन् । दशैँले नेपालमा अन्तरसांस्कृतिक सद्भाव र संवेदनशीलताको साझा आधार तयार गरेको छ । त्यसैले दशैँ अन्तरसांस्कृतिक तथा सशक्त सामाजिक सञ्चारको पर्व पनि हो ।
नेपालका उनान्साठी आदिवासी जनजाति समुदायहरूको जीवनमा जेजस्तो ऐतिहासिक–राजनीतिक कारणले भए पनि दशैँले महìवपूर्ण स्थान पाएको छ । नेपाललाई साँचो अर्थमा सबै जातजाति र संस्कृतिको साझा फूलबारीका रूपमा अघि बढाउने ध्येय अघि सारिएको विद्यमान परिवेशमा यसलाई सकारात्मक रूपमा बुझिनु उचित हुन्छ । समग्र नेपाली जनताको यस्तो साझा आकाङ्क्षालाई दशैंँले मौलिक सांस्कृतिक पर्वका रूपमा अघि बढाउँदै आएको छ । व्यवहार दशैँलाई विविधताबीचको एकताको परिचायकका रूपमा अङ्गीकार गरिँदै आएको छ । दशैँको यो अन्तरसांस्कृतिक सञ्चार वा साझा भावनाको आदान प्रदानको अभ्यास नेपाली समाजको सौहार्द वातावरणको एउटामहत्त्वपूर्ण आधार हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?