logo
२०८० चैत्र १६ शुक्रवार



हुलाकी राजमार्ग अधिकांश पुलको निर्माण कार्य अलपत्र

प्रदेश |


हुलाकी राजमार्ग  अधिकांश पुलको निर्माण कार्य अलपत्र
फाईल तस्विर


धीरेन्द्रप्रसाद साह

राजविराज, असोज ११ गते । राष्ट्रिय गौरवका आयोजनामध्येको हुलाकी राजमार्गमा कालोपत्रे भएको खण्डमै यात्रा जोखिम हुने गरेको छ । पूर्व–पश्चिम हुलाकी राजमार्गको सिरहा र सप्तरी खण्डमा निर्माणाधीन अधिकांश पुलको निर्माण अलपत्र अवस्थामा छन् । यसले यात्रु जोखिममा यात्रा गर्न बाध्य छन् ।
निर्माण गर्ने ठेक्का पाएका कम्पनी/व्यवसायीको ढिलासुस्तीका कारण अधिकांश पुल समयमा निर्माण सम्पन्न नहँुदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको हो । सिरहाको औरही गाउँपालिकास्थित गागन खोलामा पुल निर्माण कार्य सुरु भएको दुई वर्ष बित्न लाग्दासमेत १० प्रतिशत पनि काम हुन नसकेको स्थानीयवासीको गुनासो छ ।
पूर्व बरियारपट्टिदेखि पश्चिम सदरमुकाम सिरहासम्मको सडकमा कालोपत्रे सकिएको छ तर गागन खोलामा पुल निर्माण हुन नसक्दा सिरहाका एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्् । खोला गहिरो भएकाले बाढीका बेला सवारीसाधन नै भासिने जोखिम छ ।
हिराचन रोशन कन्स्ट्रक्सन प्रालिमार्फत रोशन कन्स्ट्रक्सनले सो खोलाको पुल निर्माणको काम गर्दै आएको छ । तीन वर्षभित्र सकिने गरी २०७६ सालमा सम्झौता भएको सो पुल निर्माणको काम कछुवा गतिमा भइरहेको छ । पुल निर्माणका लागि पिल्लर मात्र ठड्याइएको छ, स्थानीय शिवनाथ यादवले भन्नुभयो, कामको गति हेर्दा सम्झौता मितिभित्र सम्पन्न हुने छाँटकाँट देखिँदैन् ।
रोशन कन्स्ट्रक्सनका साइड इन्चार्ज दानालाल यादवले सम्झौताअनुसार नै काम अघि बढाएको बताउनुभयो । सम्झौता भएर २०७७ पुस महिनादेखि पुल निर्माणको काम थालेका छौँ, उहाँले भन्नुभयो, वर्षात् सुरु भएपछि काम रोकिएको हो, वर्षा रोकिएपछि कात्तिक महिनापछि काम पुनः सुरु गर्ने छौँ ।
गत असार १७ गते आएको बाढीले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको एउटा पिल्लर भासिएपछि बाटो पुनः अवरुद्ध भएको छ । पुलमा १२ स्पान (पिल्लर) छन् । ४७० मिटर लम्बाइ र ११ मिटर चौडाइको उक्त पुल पप्पु लुम्बिनी बिल्डर्सले २०६८ सालमा निर्माणको सम्झौता गरेको थियो ।
यसैगरी सप्तरीमा १९ वटा निर्माणाधीन पुलको निर्माण कार्य सम्पन्न हुन सकेको छैन् । बिहुल नदी, खडक, कजरा, मुतनी, घोडदहलगायतका नदीमा निर्माणाधीन पुल निर्माण कार्य कछुवा गतिमा भइरहँदा आवागमनमा कठिनाइ भइरहेको स्थानीयवासीको गुनासो छ ।
मुतनी नदीको पुल करिब छ वर्ष अघि सुरु भएको थियो । सो पुल अरनिको, लामा, बामती जेभी काठमाडौँले २०७२ असार २५ मा सम्झौता गरी २०७४ असार २४ मा निर्माण काम पूरा गर्नुपर्ने निर्माण स्थलमा राखिएको बोर्डमा उल्लेख छ ।
अहिलेसम्म पुल निर्माण कार्यले पूर्णता नपाएकाले सदरमुकाम राजविराज पुग्न निकै सास्ती भइरहेको सप्तरीको डाक्नेश्वरी नगरपालिकाका हरिनारायण साहले बताउनुभयो ।
त्यहाँ पुल नबन्दा केही दिनअघि एम्बुलेन्समा एक सुत्केरीलाई उपचारका लागि राजविराज अस्पताल लगिँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मुतनी खोला पुलमा बाटो बिग्रिएका कारण त्यहाँ नै सुत्केरीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयवासीले त्यतिबेला बाटोसमेत अवरुद्ध गरेका थिए ।
राजविराजदेखि पश्चिम बलान नदीसम्मको २५ किलो मिटर करिब १८ किलो मिटर सडक कालोपत्रे भए पनि पुल निर्माण कम्पनीले समयमा पुलको काम सम्पन्न नगर्दा पुल खण्डमा बाटो बनाउन नसकिएको रौता श्रेष्ठ दिवा जेभीका कन्ट्याक्ट म्यानेजर कमलप्रसाद यादवले जानकारी दिनुभयो ।
राजविराजदेखि बलानसम्म ७५ प्रतिशत र राजविराजदेखि कञ्चनपुरसम्म ४५ प्रतिशत सडक निर्माण कार्य भएको हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीले जनाएको छ । दुवै खण्डका गरी करिब ४५ किलो मिटर राजमार्ग निर्माणको क्रममा रहेको
जनाएको छ । यता हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीका प्रमुख दीपेन्द्र पाण्डेका अनुसार ३३ देखि ९५ प्रतिशतसम्म पुल निर्माण सकिएको छ । अधिक भौतिक रूपमा सकिएका पुलहरूमा एइक्सपान जोइन्ट र अप्रोच स्ल्याबको मात्र काम बाँकी रहेको उहाँले बताउनुभयो । थपिएको म्याद पनि सबै सकिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?