logo
२०८१ बैशाख ७ शुक्रवार



बजेट कार्यान्वयनको कार्यविधि बन्दै छ :अर्थमन्त्री

अर्थ |


बजेट कार्यान्वयनको कार्यविधि बन्दै छ :अर्थमन्त्री


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ११ गते । सरकारले बजेटमा व्यवस्था गरिएका विषयको कार्यविधि बनाउन लागेको छ । अर्थमन्त्री जनार्दन शर्माले त्यसका लागि आइतबारदेखि छलफल सुरु भएको बताउनुभएको छ ।
प्रतिस्थापन विधेयकमार्फत ल्याइएको नयाँ बजेटमा दीर्घरोगीको उपचारका लागि मासिक भत्ता व्यवस्था गरिएकामा मेरुदण्ड पक्षघात समूह नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको उहाँले उक्त जानकारी दिनुभएको हो । आइतबार अर्थ मन्त्रालयमा मन्त्री शर्मालाई भेटी समूहले धन्यवाद दिएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
त्यस अवसरमा मन्त्री शर्माले उहाँले केही दिनभित्रै सरोकारवाला निकाय तथा समूहसँग बसेर कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजाने आश्वासन दिनुभयो ।
सबै नागरिकको अभिभावक राज्य भएकाले दायित्व बोधका साथ मासिक उपचार खर्चको व्यवस्था बजेटमा गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब एक÷दुई दिनभित्रै सरोकारवाला निकाय र तपाईंहरूलाई समेत राखेर छलफल गरी कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजान्छौँ । आगामी दिनमा यो सुविधा कसैले काट्न सक्दैन । ”
मन्त्री शर्माले कार्यान्वयनका विषयमा ढुक्क हुन पनि आग्रह गर्नुभयो । मेरुदण्ड पक्षघात समूह नेपालका अध्यक्ष ऋषि ढकालका अनुसार हाल नेपालमा करिब पाँच हजार स्पाइनल कर्ड इन्ज्युरी भएका व्यक्ति छन् । उनीहरूमा घाइते भएपछि मानसिक विक्षिप्तता आउने र समाजमा अर्को दर्जाको नजरले हेर्ने प्रचलन रहेको भन्दै अध्यक्ष ढकालले मासिक भत्ताले समाजमा पुनस्र्थापना हुन टेवा पुग्ने बताउनुभयो ।
स्पाइनल कर्ड इन्ज्युरी भएको व्यक्तिले अवस्थाअनुसार नियमित उपचारमा फरक खर्च हुने समूहका महासचिव केशव थापाले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय ४५० जनामा गरिएको अध्ययनले पाँचदेखि आठ हजारसम्म मासिक खर्च लाग्ने ५५ प्रतिशत रहेका छन् । बाँकी ४५ प्रतिशतलाई ५ हजारभन्दा कम लाग्ने अध्ययनले देखाएको छ ।
स्पाइनल इन्ज्युरी भएको बिरामीलाई नियमित रूपमा बउल ब्लाडर, सीवाईसी पाइप, युरिन ब्यागलगायतका सामग्री अवस्थाअनुसार आवश्यक पर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?