logo
२०७८ कार्तिक ५ शुक्रवार



काठमाडौँको कुमारी र रथयात्रा

कला |
पढ्नै पर्ने |


काठमाडौँको कुमारी र रथयात्रा


 त्रिचन्द्र प्रतीक्षा


नेपालमा प्रचलित अनेकौँ जात्राहरूमध्ये काठमाडौँमा मनाइने कुमारी जात्रा (यात्रा) रमाइलो र महìवपूर्ण मानिन्छ । यस शोभायात्रा प्रत्येक वर्ष भाद्रशुक्ल चतुर्दशीका दिन आरम्भ भई आश्विन कृष्ण चतुर्थीका दिन समाप्त हुन्छ ।
कुमारी यात्रासँग इन्द्रजात्राको सम्बन्ध छैन, न त इन्द्रजात्रासँग कुमारी जात्राको सम्बन्ध छ । इन्द्रजात्रा इन्द्रसँग सम्बन्धित छ भने कुमारी रथयात्रा कुमारीसँग सम्बन्धित छ तर दुवै जात्रा एकै समयमा हुन्छ अर्थात् इन्द्रजात्राको बीचमा कुमारी यात्रा पर्छ । इन्द्रजात्रा र कुमारी यात्राको महìव तथा प्रविधि, विशेषता बेग्लाबेग्लै छन् । तैपनि एकै समयमा मनाइने यी पर्वबारे जनसामान्यमा विभिन्न उत्सुकता छन् । नेपालमा कुमारीको पूजा गर्ने चलन छैटौँ शताब्दीदेखि सुरु भएको पाइन्छ भने सत्रौँ शताब्दीसम्म मल्ल राजा त्रैलोक्य मल्लको शासन कालसम्म महिलाले रहस्यमय बाजा हेर्न नहुने विश्वास थियो । रहस्यमय यन्त्रको सहाराद्वारा राजाहरूले देवदेवी तथा तलेजु भवानीसँग मानिससँग झैँ व्यक्तिगत रूपमा कुरा गरी राज्यमा आइपरेका समस्या समाधान गर्न उचित निर्देशन पाउने र पासा खेल्ने गरिन्थ्यो । राजा त्रैलोक्यको समयमा त्यस रहस्यमय यन्त्र राजाकी बहिनीले हेरिदिएकी हुँदा उक्त यन्त्र शक्तिहीन भई बेकम्मा भयो ।

त्यस दिनदेखि राजाले देवीसँग दर्शन र कुराकानी हुन नसकेको बताइन्छ । विरक्तिएका राजालाई तलेजु भवानीले एक दिन सपनामा भनिन्– ‘अब उप्रान्त म तिमीलाई कुमारी कन्या भएर मात्र दर्शन दिनेछु ।’ यस्तो सपना देखेपछि राजा चिन्तित भएका थिए । एक दिन राजा त्रैलोक्य स्वयम्भू दर्शनका लागि जाँदा त्यहाँ पूजाआजा गरी भोज खाइरहेका बाँडा (शाक्य)हरूतिर पुगेछन् । त्यसबेला एउटी बालिका राजालाई देखेर खुब हाँस्न लागिन् । राजाले ‘किन हाँसेकी’ भनेर सोध्दा अझै ठूलो स्वरले हाँसिन् । रिस उठेका राजाले भोज खाइरहेका बाँडाहरूलाई सोधे– ‘कसकी छोरी हो यो, लौ बताऊ ।’ यत्तिकैमा बालिका पुनः अनौठो चालले हाँस्दै भनिन्, ‘राजा भएपछि विवेक पु¥याउन सक्नुपर्छ म किन हाँसेकी हुँला, आफै विचार गर ।’ बालिकाको कुरा सुनेर राजा चिन्तित भएर फर्के । दरबार पुगेपछि राजाले तुलजा भवानीले सपनामा भनेको कुरा झल्यास्स सम्झन पुगे । राजालाई ठूलो पश्चाताप महसुस भयो ।

भोलिपल्ट बिहान सबेरै राजा बालिकाको घर खोज्दै गए, एकघरको झ्यालमा बसिरहेकी बालिकाको सौम्य रूप देखेर चिनिहाले र बालिकासँग क्षमायाचना गरे । राजा आएको कारण थाहा पाएपछि बालिकाले राजालाई टीका लगाइदिइन्, बाँडाको घरमा राजा आएको थाहा पाएर राजालाई हेर्न आएका बूढापाकाहरूले भन्न थाले– ‘‘राजाले बल्ल ३२ लक्षणले युक्त भएकी कुमारी चिनेछन् ।”
त्यसपछि कुमारीका लागि राजाले दरबारको दक्षिण भागमा एउटा ज्यादै राम्रो कुमारीघर नै बनाउन लगाए र कुमारीको हेरविचारका लागि आवश्यक व्यवस्थाका लागि गुठीसमेत बनाइदिएर कुमारीको थापना गरे ।

यसै तथ्यलाई उजागर गर्न उपत्यकामा जीवित कुमारी देवीको गहन अध्ययन गर्ने मेरी स्लुसरले त जीवित कुमारीको छनोट शृङ्गार र पूजासम्बन्धी विवरण भएको वि.सं. १३३७ र वि.सं. १३४२ सालका दुईवटा लिखित टिपोट भेट्टाएको चर्चा पनि गरेकी छिन् । यसबाट तेह्रौँ शताब्दीभन्दा पहिले नै बौद्धहरूमा जीवित कुमारीको प्रतिष्ठापन भइसकेको तथ्य सिद्ध हुन्छ । यस्तै, मेरी स्लुसरले नै सन् १६३८ (वि.सं. १९९४–९५) सालको दसैँको उपलक्ष्यमा हनुमानढोका दरबारभित्र मूल चोकमा बलि दिइँदा राज्य कुमारीको अवस्थिति रहेको वर्णन भएको एउटा टिपोटमा पनि उल्लेख गरेकी छिन् । जसबाट त्यसताका काठमाडौँमा राज्य–कुमारीको व्यवस्था भइसकेको प्रमाणित हुन्छ । यस्तै राजा भास्कर मल्लको राज्यकालमा वि.सं. १७७३ सालताका काठमाडौँमा आएको महामारीको प्रकोपले काठमाडौँ राजदरबारको तत्कालीन कुमारीको समेत निधन भएको थियो । त्यसबेला देउपाटनकी अर्थात् चावहिल (समाधिमण्डप महाविहार) की कुमारी ल्याई दुई महिनासम्म यहाँको कुमारी थापना गराई नित्यपूजा चलाइएको इतिहास पाइन्छ ।

काठमाडौँको वसन्तपुरस्थित कुमारी यात्राको परम्परा भने राजा जयप्रकाश मल्लले चलाएका हुन् । गद्दीच्युत भएका जयप्रकाश मल्ल चार वर्ष (वि.सं. १८०३ देखि १८०७) सम्म गुह्येश्वरीमा बास बस्न बाध्य थिए । सोही क्रममा त्यहीँ कुमारीको साधना गरी उनले खड्गसिद्धि गरेर वि.सं. १८०७ को अन्त्यतिर पुनः राजगद्दी प्राप्त गर्न सफल भएका थियो । राज्य फिर्ता पाएको खुसीमा ५÷७ वर्षसम्म राजाले कुमारीका लागि केही नगरीकन बसे बरु कुमारी चढेका एक ज्यापूलाई दरबारभित्रै मारेका थिए ।

यस सम्बन्धमा केशर पुस्तकालय वंशावलीमा लेखिएअनुसार– त्यसै दिन राजालाई सपनामा कौमारी देवीले दर्शन दिँदै भनिन्, ‘जयप्रकाश तँलाई वरदान दिनको निमित्त त्यस ज्यापूको शरीरमा प्रवेश गरेकी थिएँ । तैँले मलाई हेलाँ गरी त्यस ज्यापूलाई मारिदिइस्, अब तँ राज्यको आशा नगर, तँलाई जिती शत्रुले राज्य गर्नेछ ।’ रिसाउँदै देवीले भनिन् । राजाले श्रीपेच र गद्दी जोगाउन तथा दैवीसिद्धि गर्न वि.सं. १८१३ मा कुमारीको रथयात्रा गराउन भनेर एउटा प्यागोडा आकारको तीनतले छाना भएको रथ बनाउन लगाए । गणेश र वटुक भैरवलाई अघिअघि राखेर रथयात्राको परम्परासमेत चलाए । सुरुमा राजा जयप्रकाश स्वयं रथमा बसी नगर परिक्रमा गर्ने गर्दथे भन्ने लोककथन छ । यसै जात्राको अनुष्ठानबाट प्राप्त सिद्धिकै फलस्वरूप छत्रभङ्ग योग परेका राजा जयप्रकाश मल्लको राज्य १२ वर्षसम्म थमौती भएको थियो भनिन्छ । वि.सं. १८२५ मा कुमारी रथयात्राको रमाइलो गरिरहेका बेलामा काठमाडौँमाथि हमला गरेर गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरे । कुमारी यात्राको दिन राजा जयप्रकाश मल्ल र मल्ल राजाहरूको राज्य पतन भएको हो । यस दिनको विजयलाई पृथ्वीनारायण शाहले कुमारीको वरदान सम्झेर मल्ल राजाले चलाएका कुमारी रथयात्रालाई निरन्तरता दिए । श्रद्धापूर्वक आजसम्म बलियो चलनअनुसार यो यात्रा मनाइँदै छ ।

काठमाडौँकी कुमारी नेपाल सरकारद्वारा मान्यता प्रदान गरिएकीले पहिले पहिले अन्दाजी ७६÷७७ वर्षअगाडिसम्म सरकारले कुनै पनि रुपियाँ सिक्का प्रचलनमा ल्याउनुअघि कुमारीलाई दाम चढाइन्थ्यो । नेपालभरका अड्डाखानाको लेखापरीक्षण गर्ने अड्डाको नाम तिनै कुमारीको नामबाट ‘कुमारी चोक अड्डा’ भनी राखिएको थियो । मल्ल राजाहरूको राज्यमा कुनै समस्या आइपरे तिनै कुमारीद्वारा समाधान गर्ने सल्लाह र निर्देशन प्राप्त हुने गर्दथे भन्ने किंवदन्ती छ ।
आजभोलि जीवित कुमारीको चयन स्थापित परम्परा र विधिविधानअनुसार गरिन्छ । दूधे दाँत नझरेकी, जिउमा कुनै प्रकारको घाउको खत नभएकी, आमाबाबु जीवित भएकी बाँडा (शाक्य थर) भिक्षु कुलकी ४/५ वर्ष उमेर भएकी बालिकालाई पाँच जना बज्राचार्य समुदायका पुरोहितले बनाएका आचारसहिंताअनुसार कुमारी छनोट गर्ने परम्परा छ । बत्तीसै लक्षणले युक्त भएकी बालिका छानेर मध्यरातमा काठमाडौँको तलेजु मन्दिर परिसरमा राखी उनको प्रत्यक्ष परीक्षा लिने गरिन्छ । त्यस परीक्षाबाट उपयुक्त ठहरिएमा बालिकालाई कुमारीको रूपमा कुमारीघरमा विधिपूर्वक पूजाआजा गरी विराजमान गराउने चलन छ । कुमारीको दूधे दाँत झरेमा वा कुनै चोटपटक लागेमा अथवा रजस्वला भएमा कुमारीघर छोड्नुपर्ने नियम छ, त्यसपछि विधिपूर्वक नयाँ कुमारीको खोजी गरिन्छ ।

नेपाल सरकारले वि.सं. १९७९ देखि मात्रै कुमारीको लगत राख्न थालिएको पाइन्छ । त्यसभन्दा अगाडिका कुमारी को को हुन् भनेर यकिन लगत नै भेटिएको पाइँदैन । वि.सं. १९७९ सालमा हीरामैया शाक्यलाई कुमारी घोषणा गरिएको थियो तर उनको फोटो उपलब्ध छैन । कुमारी संस्कृतिविद् दुर्गा शाक्यका अनुसार तीन सय वर्ष इतिहास रहे पनि १९९० सालबाट मात्र कुमारीघरकै पहलमा कुमारीको फोटोसहित पूर्ण विवरण राख्न थालिएको हो, जसमा ९० सालको उपलब्ध फोटोको आधारमा देवीकुमारी शाक्य र पछिल्लो कुमारीसम्म आइपुग्दा १५औँ कुमारी चयन भइसकेको छ ।

कुमारीको रथयात्रा वर्षको एकपटक मात्र हुने भए पनि पर्वपर्वमा कुमारीलाई उपस्थिति गराउने चलन छ । काठमाडौँमा सेतो मच्छिन्द्रनाथको स्नान गराउँदा कुमारीलाई खटमा राखी बाजागाजाका साथ मच्छिन्द्रबहालमा ल्याइन्छ । सोही मच्छिन्द्रनाथको रथ लगनटोलमा तानिँदा कुमारीलाई खटमा राखी लगनटोलमा लगिन्छ । बाजागाजाका साथ मच्छिन्द्रनाथ रथमा परिक्रमा गरिन्छ, त्यसकारण सेतो मच्छिन्द्रनाथको रथयात्रा जहिलेदेखि चलेको छ । त्यसैबेलादेखि नै कुमारीको यात्रा चलेको हो भन्न सकिन्छ । तर सेतो मच्छिन्द्रनाथको स्थापना तथा रथयात्रा यसबेलादेखि चलेको हो भन्ने ऐतिहासिक तथ्य नभेटिएकाले कुमारी यात्रा जयप्रकाश मल्लको पालामा भन्दा पहिलेदेखि नै चलिआएको इतिहासविद्हरूको भनाइ छ ।

कुमारी रथयात्राले निरन्तरता पाइरहनु काठमाडौँको कुमारी संस्कृतिको ज्वलन्त उदाहरण मान्न सकिन्छ । रथयात्राको पहिलो दिन भाद्र शुक्ल चतुर्दशीका दिन जैसीदेवल, लगनटोल, ब्रह्मटोल, क्वःहिटी, भीमसेनस्थान हुँदै पुनः कुमारीघर अगाडि ल्याएर क्वहनेयाः सकिन्छ भने यात्राको दोस्रो दिन कुमारीघरबाट प्याफल, यट्खा, टेङ्गल, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन हुँदै कुमारीघर ल्याएर थनेयाः सकिन्छ । जात्राको अन्तिम दिन आश्विन कृष्ण चतुर्थीका दिन रथलाई प्याफल, नरदेवी, किलागल, इन्द्रचोक हुँदै कुमारीघर अगाडि ल्याएपछि नानीचायाः सकिन्छ ।

यो नाचियाः गर्ने बारेमा एक कथन यस्तो रहेको छ, राजाको एक नानिचाः नाम गरेकी भित्रिनी रानी थिइन् । रानीले मेरो माइतीघरतिर (किलागल)बाट पनि रथ तान्ने गरियोस् भनी बिन्ती गरेकीले राजाज्ञा बमोजिम त्यताबाट पनि यात्रा चलाउन थालियो र सो यात्रालाई पनि रानीकै नामबाट ‘नानिचा याः भन्न थालियो । नानिचा याः गरेपछि विधिवत् रूपमा कुमारी यात्रा पनि समाप्त हुन्छ ।

मधुपर्क, असोज २०७८

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?