logo
२०८० चैत्र ६ मंगलवार



बस्ती नजिकै बाघको बथान, स्थानीय आतङ्कित, टाढा धपाउने तयारी

पढ्नै पर्ने |
प्रदेश |


बस्ती नजिकै बाघको बथान, स्थानीय आतङ्कित, टाढा धपाउने तयारी
क्यामेरामा देखिएका पाटे बाघ ।


सिराज खान
नेपालगञ्ज, असोज ५ गते । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्तीसोनारी गाउँपालिका १ स्थित गाभर र सौरी गाउँकोबीच जङ्गलमा पाटेबाघको ठूलो समुह बसिरहेको पुष्टि भएको छ । सो जानकारी पाएपछि स्थानीय थप आतंकित भएका छन् । गत साता दुईवटा पाटे बाघले गाभरको एक होटलमा काम गर्ने भारतीय नागरिकलाई राजमार्गबाटै तानेर खाएपछि ती बाघको खोजी गर्ने क्रममा गाभर र सौरी गाउँ नजिकै धेरै बाघहरु रहेको पत्ता लागेको छ ।
बाघको खोजीका लागि गाउँनजिकैको जंगलमा राखेको ‘क्यामेरा ट्रापिङ’ बाट त्यहाँ बाघको बथान फेला परेको पुष्टि भएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताउनुभयो ।उहाँले निकुञ्जले सिमित ठाउँमा बिछ्याएको क्यामेरामा छोटो अवधिमा चार वटा वयस्क पाटेबाघ देखिएको बताउनुभयो । चार वटै बाघलाई गाभर र सौरीकोबीच जंगलमा क्यामेराले कैद गरेको जनाउँदै उहाँले त्यहाँ अरु बाघ पनि रहेको हुनसक्ने बताउनुभयो ।
अहिले निकुञ्जमा सबैभन्दा बढी संख्यामा बाघ देखिएको ठाउँ राप्तीसोनारीको गाभर र सौरी बीचको जंगल भएकोले सो नजिकको बस्तीलाई अत्याधिक जोखिम रहेको निकुञ्जले जनाएको छ ।
क्यामेरामा कैद भएका चार वटा बाघ केही दिनअघि मानिसलाई आक्रमण गरेको मध्येकै हुन वा होईनन्, भन्नेमा एकिन हुन नसकेको प्रमुख शाहको भनाई छ । उहाँका अनुसार क्यामेरामा देखिएका बाघ सबै वयस्क रहेका छन् । केहीदिन अघि मान्छे खाएको बाघलाई निकुञ्जले माउलाई छाडेर स्वतन्त्रपूर्वक हिडिरहेका बच्चा बाघ भएको हुन सक्ने अनुमान गरेको थियो ।
तर, अहिले चारवटा वयस्क बाघ एकै ठाउँमा देखिएपछि त्यहाँ वयस्क र बच्चाहरुको ठूलो समूह नै रहेको पुष्टि भएको छ ।
बस्ती नजिकै यति धेरै बाघ देखिएपछि बस्तीको सुरक्षा चुनौती बनेको जनाउँदै निकुञ्जका प्रमुख शाहले अब ती सबै बाघलाई निकुञ्जको उत्तरतिरको जंगलमा टाढासम्म धपाउने अभियान चलाइने बताउनुभयो ।
गत सातामात्रै राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने भारतीय नागरिकलाई बाघले राजमार्गबाट करिव ५ सयमिटर निकुञ्जभित्र लगेर खाएको थियो ।
बाघले आधा शरीर खाएको अवस्थामा उनको शव भेटिएको थियो । बाघले सोही गाउँमा बाख्रा र गाईलाई पनि मारेको थियो । पाटेबाघले गाउँ आसपासको क्षेत्रमा आफ्नो उपस्थिती देखाउन थालेपछि निकुञ्जले निगरानी बढाउन विभिन्न सम्भावित ठाउँमा क्यामेरा बिछ्याएको थियो ।
यसका साथै दुई वटा हात्तीसहित नेपाली सेना र निकुञ्जका कर्मचारीले नियमित रुपमा गस्ती गर्दै आएका थिए । उक्त बाघ नियन्त्रण गर्न निकुञ्जले आहाराका लागि गाभर नजिकको जङ्गलमा एउटा राँगो नै बाँधेर राखिदिएको थियो । तर, बाघ सो राँगोलाई खान आएन ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?