logo
२०७८ कार्तिक ११ बिहीवार



बजार पुग्न थाल्यो मुस्ताङको रसिलो स्याउ

अर्थ |


बजार पुग्न थाल्यो  मुस्ताङको रसिलो स्याउ


अमृतप्रसाद पौडेल
बेनी, असोज ३ गते । जब रसिलो स्याउको कुरा चल्छ, तब मार्फाको स्याउको नाम आउँछ । मिठो अनि स्वादीलो स्याउ भनेर मुलुकभर प्रचलित छ हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा उत्पादित स्याउ ।र अहिले त्यही मार्फाको स्याउ बजारमा पुग्न थालेको छ ।
मुस्ताङको मार्फा लगायत जिल्ला भित्रका पाँचवटै गाउँपालिकामा उत्पादीत स्याउ टिप्ने र ग्रेडीङ गरेर बजार पठाउने प्रकृया शुरु भएको छ । मुस्ताङमा उत्पादीत स्याउ खानका लागि योग्य भएपछि कृषकहरुले स्याउ टिप्ने र बजार पठाउने तयारी थालेका छन् ।
स्याउ खरिद गर्नका लागि मुस्ताङभन्दा बाहिरी जिल्लाका व्यापारीहरु स्याउ बगैंचामा पुगेका छन् भने स्थानीय व्यापारीहरु पनि कृषकहरुले उत्पादन गरेको स्याउ किन्नमा व्यस्त छन् ।
मुस्ताङका कृषकले उत्पादन गरेको स्याउ धादिङ, काठमाडौं, पोखरा, चितवन लगायतका ठाउँबाट खरिद गर्न मुस्ताङ पुग्ने गरेका छन् । असोज १ गतेदेखि कृषकहरुले स्याउ टिप्न थालेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मुस्ताङका कृषि अधिकृत शिवा अर्यालले बताउनुभयो । उहाँका अनुसार अहिले स्याउ खरिद गर्न पुगेका व्यापारीहरु र कामदारले स्याउको बगैंचा कुर्नुका साथै बजार पठाउने तयारीमा छन् ।
मुस्ताङको स्याउ टिपेर बेच्ने भन्दा पनि स्याउ दाना लाग्न थालेपछि नै बगैंचा नै व्यापारीले ठेक्कामा लिने भएकाले ठेक्का लिनेहरु नै स्याउको बगैचा रुङ्न पुग्ने मार्फाका अगुवा कृषक दिपक लालचनको भनाई छ ।
विगतको समयमा यसअघि नै स्याउ टिप्ने र बजार पठाउने गरेको हुँदा स्याउ गुणस्तरीय नभएको गुनासो आउने गरको हुँदा यस वर्ष असोज लागेपछि मात्रै स्याउ टिप्न सूचना जारी गरिएकोले गर्दा असोज १ पछि मात्र स्याउ टिप्न थालिएको कृषि अधिकृत अर्यालले जानकारी दिनुभयो ।

विगतमा तीज भन्दा अघि नै मुस्ताङी स्याउ बजार पुग्ने गरेको हुँदा स्याउको स्वाद खस्किएको गुनासो सुन्न परेको कारण असोज लागेपछि बजार पठाउने व्यवस्था गरीएको हुँदा स्याउ गुणस्तरीय र स्वादिलो हुने कृषकहरुको अनुभव छ ।

शितोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त बागवानि विकास अधिकृत पद्मनाथ आत्रेयका अनुसार बागवानी फर्मले उत्पादन गरेको स्याउ यस वर्ष आठ लाख ८७ हजारमा टेण्डर मार्फत विक्री भएको छ ।
पर्वत शालिजाका जालबहादुर पुर्जाले टेण्डर पारेर सम्झौता समेत गरि सकेको अधिकृत आत्रेयको भनाई छ । विगतमा छिटै स्याउ बेच्दा गुणस्तर नआउने समस्या थियो यस वर्ष वर्षाले सडक अबरुद्ध हुनुका साथै असोज नलागी स्याउ नबेच्ने भन्ने कुराले गर्दा यस वर्ष स्याउमा गुणस्तर राम्रो भएको आत्रेयले जानकारी दिनुभयो ।

सामान्यतया बागवानी फर्म मार्फामा बिक्रीका लागि १३ हजार मेट्रिकटन स्याउ उत्पादन हुन्छ । स्याउ उत्पादन धेरै हुने भए पनि स्याउ प्रयोगका लागि १३ हजार ५ सय केजी तथा ब्राण्डी, सुकुटी लगायतका अन्य उत्पादनका लागि उत्पादित स्याउ भने यसमा गणना नगरिएको आत्रेयले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मुस्ताङ, म्याग्दीका प्रमुख डाक्टर सुधिर थापाले व्यावसायिक स्याउ खेतीमा आबद्ध कृषि फार्म, कृषक समूह र कृषि सहकारीसहित ८७ फार्महरु असोजदेखि मात्रै टिपेर बजार पठाउन सहमत भएको र त्यही अनुसार नै स्याउ बजार पठाउने तयारीमा रहेको बताउनुभयो ।

बाहिर जिल्लाबाट स्याउ टिप्न र खरिद गर्न मुस्ताङ आउनेका लागि पिसिआर गरेको ७२ घण्टा भित्रको रिपोर्ट वा एन्टीजेन परीक्षण तथा कोरोनाविरुद्ध भ्याक्सिन लगाएको खोप–कार्ड भएमा प्रवेशकोलागि अनुमति दिने व्यवस्था मिलाईएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो ।

स्याउ प्रतिकेजी एकसय रुपैयाँमा बगैचाबाटै बजार पठाउने गरिन्छ । एक हजार दुुई सय हेक्टर भन्दाबढीमा व्यावसायिक रुपमा स्याउको खेती गरिन्छ । मुस्ताङमा वार्षिक रुपमा करिब छ हजार मेट्रिक टन स्याउ उत्पादन हुन्छ । जिल्लामा स्वादीलो स्याउ मार्फा र टुकुचेको मानिन्छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिकाको टुकुचे, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ र चैले स्याउ उत्पादनको पकेट क्षेत्र मानिन्छन् । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केही वडा र लोमान्थाङ गाउँपालिकामा समेत पछिल्लो समय स्याउ उत्पादन हुन थालेको छ ।
मुस्ताङ जिल्लामा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ । पछिल्लो समय उच्च घनत्वको ईटालीयन जातको स्याउ समेत लगाइएको छ । मुस्ताङमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाडौं, नारायणगढ, बुटवल र भैरहवासहित नेपाली र विदेशी बजारमा पुग्ने गरेको छ ।
समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा माथिको उचाइसम्म स्याउखेती हुने गरेको छ भने राम्रो व्यवस्थापन गर्न सकेमा एउटै बोटबाट मात्रै तीन सय केजीसम्म स्याउ उत्पादन गर्न सकिन्छ । कृषकहरुले स्याउबाट जुस, ब्राण्डी, जाम, चिप्स, सुकुटी, क्यान्डी, स्लाईडर जस्ता परिकारहरु बनाएर बिक्री गर्ने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?