logo
२०८० चैत्र १६ शुक्रवार

  प्रविधिमैत्री बन्दै जनगणना  



कागज, इन्टरनेट र ट्यावलेट प्रयोग गरिदै, विदेशका कर्मचारी समेटिने

राष्ट्रिय |


कागज, इन्टरनेट र ट्यावलेट प्रयोग गरिदै, विदेशका कर्मचारी समेटिने


काठमाडौं, भदौ २७ गते । केन्द्रिय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ तीन विधिको प्रयोग गरी १५ दिनभित्र सम्पन्न गर्ने जनाएको छ । पहिलो पटक विभागले काठमाडौं जिल्लामा पेपरलेस अर्थात स्मार्ट गणना शुरु गर्ने भएको छ ।

तथ्याङक विभागले घरदैलोमै पुगेर गणना गर्दा तीन विधि अपनाउने भएको विभागका तथ्याङक शाखा प्रमुख डुण्डीराज लामिछानेले जानकारी दिनुभयो । देशका अन्य भाग इन्टरनेटको पहुँच नभएका क्षेत्रमा कागजबाट प्रश्न गरेर, विदेशमा रहेका कर्मचारीहरुको हकमा इन्टरनेटको सहयोगबाट ९इसेन्सस्० र काठमाडौं जिल्लामा ट्यावलेटको सहयोगमा सिधै विभागको सर्वरमा डाटा पुग्ने गरी गणना गरिने उहाँले बताउनुभयो । कात्तिक २५ गतेदेखि मंङ्सिर ९ गतेसम्म फिल्डमा पुगेर गणना सक्नेगरी मंगलबार नै विभागले कार्यतालिका सार्वजनिक गरेको छ ।

काठमाडौं जिल्लामा स्मार्ट गणना गर्नका लागि विभागले २२ सय वटा ट्यावलेट खरिद गरी सुपरभाइजर र गणकलाई दिने तयारी गरेको छ । कागजी फर्म विनै सिधै इन्टरनेटबाट विदेशस्थित कुटनीतिक कार्यालय लगायतको काम गर्ने र कर्मचारीको तथ्याङक लिइने भएको छ । यो विभागले गरेको पहिलो अभ्यास भएको बताइएको छ ।

सुपरभाइजरलाई भदौ २७ र २८ गते तालिम दिएर ३० गतेदेखि फिल्डमा खटाउने निर्णय गरेको छ । गणकलाई कात्तिक १३ देखि १६ गते सम्म तालिम दिएर २५ देखि मंसिर ९ गते सम्म फिल्डमा खटाएर देशैभर एकै पटक गणना सम्पन्न गर्ने केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिनुभयो । तीन करोड जनसंख्याको गणना १५ दिनमा सक्नेगरी ३९ हजार गणक, आठ हजार सुपरिवेक्षक खटाउने उहाँले जानकारी दिनुभयो । गणकहरु ७० लाख परिवारमा एकै पटक पुग्नेछन् ।

प्रत्येक व्यक्तिको गणना गर्नुपर्ने र हरेक व्यक्तिको घरदैलोमा पुग्नुपर्ने भएकाले काम चुनौतिपूर्ण रहेको विभागले जनाएको छ । सातवटै प्रदेशका जनगणना कार्यालय, ७७ जिल्लामा ८० वटा जिल्ला जनगणना कार्यालय रहेको र ७५३ स्थानीय तहका लागि ३४९ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरेर काम सम्पन्न गर्ने तयारी विभागको छ ।

गणकहरुलाई दुई डोज नै कोरोना विरुद्धको भ्याक्सिन लगाएर मात्र गणनामा पठाउने राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले बताउनुभयो । गणकले गणना गर्न जाँदा मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्ने समेत उहाँले बताउनुभयो ।

विभागले यसअघि तय गरेको समय जेठ २५ देखि असार ८ गतेसम्म भएपनि कोरोना महामारीकाकारण गणना हुन सकेको थिएन । केन्द्रीय तथ्यांक विभागबाट तयार पारिएको नयाँ कार्यतालिका भाद्र २१ गते बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको थियो । बिंसं १९६८ मा श्री ३ चन्द्र समशेर जबराको पालाबाट शुरु गरिएको राष्ट्रिय जनगणना प्रत्येक दश वर्षमा गरिन्छ । यो जनगणना मुलुक संघीयतामा प्रवेश गरेपछिको पहिलो जनगणना हुन लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?