logo
२०८१ बैशाख ७ शुक्रवार

  किन डुबानमा पर्छन् राजधानीको बस्ती ?  



नदी किनार २० मिटर छाड्ने प्रावधान मिचियो, अहिले नदीले पेल्यो

खुला |


नदी किनार २० मिटर छाड्ने प्रावधान मिचियो, अहिले नदीले पेल्यो


काठमाडौं, भदौ २३ गते । काठमाडौं उपत्यका भित्रको बागमती नदी र यस अन्तर्गतका नौ वटा सहायक खोला आसपासमा वर्सेनि डुबान हुने गरेको छ । वागमती लगायतका १० वटा नदी किनारमा मापदण्ड विपरित बस्ती बस्नु नै डुबानको मुख्य कारण भएको विज्ञहरुले बताएका छन् ।
सरकारले बाग्मती, मनहरा, विष्णुमती नदी आसपासमा २० मिटर छाडेर मात्र भौतिक संरचना निर्माण गर्न निर्णय गरेको थियो तर यो निर्णय कार्यन्वयन हुन नसक्दा काठमाडौं उपत्यका वर्सेनि डुवानमा पर्ने गरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सिनियर डिभिजनल इन्जिनियर रविन्द्र रायले बताउनुभयो । रायका अनुसार काठमाडौं उपत्यका भित्रका नगरपालिका र नगराेन्मुख गाविसहरुमा गरिने निर्माणसम्बन्धी मापदण्ड, २०६४ र २०६५ स्वीकृत गर्दै मन्त्रिपरिषद्ले त्यसबेला नदी किनारको दायाँबायाँ २० मिटर छाडेर मात्र भौतिक संरचनाहरु निर्माण गर्नुपर्ने निर्णय गरेको थियो । तर यी निर्णय कार्यन्वयन नहुनु नै काठमाडौं उपत्यका डुवानमा पर्ने मुख्य कारण बनेको उहाँको भनाइ छ ।

सोमबार काठमाडौं उपत्यकामा पाँच वर्ष यताकै सबैभन्दा ठूलो पानी परेको थियो, त्यसले बल्खु लगायतका आधादर्जन क्षेत्रमा डुवान भयो यसअघि पनि हरेक वर्षादको मौसममा ती क्षेत्रमा डुवान हुने र कतिपय अवस्थामा मानिसको ज्यान जाने गरेको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिले डुवान भएका अधिकांश क्षेत्र खोला क्षेत्रमै भएको जनाएको छ । पानीको बहाव जान खोला सानो भएको र खोला आसपासमा अव्यवस्थित बस्तीहरु बसेका कारण डुवान भएको इन्जिनियर रायले जानकारी दिनुभयो । समितिले बाग्मती र यसका सहायक नदी किनारमा मापदण्डविपरीत बनेका संरचना हटाउन २०७७ साल पुस ८ गते नै ३५ दिने सूचना जारी गरी आव्हान गरी सकेको जनाएको छ ।
यता २०६९ सालमा गठन भएको उपत्यका विकास प्राधिकरणले समेत काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ अन्र्तगत रहेर काठमाडौं उपत्यका विकास प्राधिकरण नियमावली, २०६८ जारी गरिसकेको छ । नियमावलीले भौतिक संरचना निर्माण गर्दा मापदण्ड तय गरी सरकारबाट स्वीकृति गरेर मात्र निर्माण गर्नुपर्ने, काठमाडौं उपत्यकाको दिगो विकास तथा व्यवस्थापनको लागि काठमाडौं उपत्यकालाई एउटै योजना एकाइको रुपमा लिई दीर्घकालीन विकास अवधारणा, सम्बन्धित नीति, मापदण्ड, विषयगत योजना तथा नक्सालाई समेत आधार लिई तर्जुमा गर्नुपर्ने उल्लेख गरेको प्राधिकरणका प्रवक्ता दिलीपशेखर श्रेष्ठले बताउनुभयो । खोलाभित्र बस्ती बस्नु, अव्यवस्थित बसोवास, पानीको निकास थुनिनु, उपत्यकाको पानी रिचार्ज हुन नपाउनु डुबानको समस्या भएको श्रेष्ठले बताउनुभयो ।
प्राधिकरणले काठमाडौं, भक्तपुर, ललितपुर र टोखा नगरपालिकालाई थप हरित नगर बनाउनका लागि नदी सुधारका काम मुख्य रुपमा समेटिएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?