logo
२०८१ बैशाख ८ शनिवार



अन्तर्राष्ट्रिय उडानसँगै पर्यटक आगमन बढ्यो, अगस्टमा छ हजार भित्रिए

पढ्नै पर्ने |
पर्यटन |


अन्तर्राष्ट्रिय उडानसँगै पर्यटक आगमन बढ्यो, अगस्टमा छ हजार भित्रिए



काठमाडौं, भदौ १८ गते । अन्तर्राष्ट्रिय उडानको सङ्ख्या दैनिकजसो बढ्दो क्रममा रहेकाले नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । बुधबार मात्र १० वटा वायुसेवा कम्पनीले २८ वटा उडान गरेकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्क छ ।

अन्तर्राष्ट्रिय उडानहरु धमाधम थपिन थालेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढेको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो । मंगलबार मात्र १० वटा जहाज कम्पनीले ३० उडान भरेका थिए भने बुधबार पनि २८ वटा उडान भएका थिए । यसअघि कार्गो र सीमित मात्रामा उडान हुने गरेपनि पछिल्लो दुई साता यता उडान तालिकामा बृद्धि भएको प्रवक्ता शेर्पाले जानकारी दिनुभयो ।

हाल नियमित उडान भर्नेमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी एयरलाइन्सहरुमा कतार एयर, जजिरा, फ्लाइ दुवई, एयर अरविया, सलम एयर, श्रीलंकन एयर, एयर इण्डिया, र इन्डिगो एयर रहेका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङकअनुसार अगस्टमा मात्रै करिब छ हजार विदेशी नेपाल आएका छन् । यो संख्या जुलाई महिनाको तुलनामा दोब्बर बढी हो । जुलाईमा कुल दुई हजार ९९१ जना विदेशी नेपाल भित्रिएका थिए । विभागकाअनुसार अगस्टमा विभिन्न ३३ वटा देशबाट विदेशी नेपाल आएका छन् । जसमध्ये सार्क क्षेत्रका पाँच देशबाट दुई हजार १९२, सार्कबाहेक अन्य आठवटा एसियाली देशबाट ४२३, युरोपबाट एक हजार १५, अस्ट्रेलिया र न्युजिल्यान्डबाट ७० जना विदेशी नेपाल आएको विभागको तथ्याङक छ ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय रुपमा हवाइ यात्रा गर्नेको संख्यामा निकै कमी आएको थियो । नागरिक उड्डयन प्राधिकरणको तथ्याङकअनुसार अन्तर्राष्ट्रिय हवाइ यात्रुको संख्या ७३.२७ प्रतिशतले घटेको छ । सन् २०१९ मा अन्तर्राष्ट्रिय उडानतर्फ हवाई यात्रु संख्या ४१ लाख ३८ हजार ५६३ रहेको थियो भने सन् २०२० मा यो संख्या ७३.२७ प्रतिशतले घट्न गई ११ लाख पाँच हजार ९२९ यात्रुमा कायम हुन पुगेको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फ तीन वटा नेपाली वायुसेवा र २७ वटा विदेशी वायुसेवा गरी ३० वटा वायुसेवाले १५ मुलुकको ३२ वटा गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । प्राधिकरणकाअनुसार संयुक्त अरव इमिरेटको वायुसेवा कम्पनी एयर अरेविया अबुधावी र श्रीलंकन एयरले २०२० अक्टुवरदेखि नेपालमा आफ्नो नियमित उडान प्रारम्भ गरेका छन् ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्ष घोषणा गरी २० लाख पर्यटक पु¥याउने लक्ष्य राखेपनि यात्रुको संख्यामा भारी गिरावट आएको छ । कोभिड महामारीका कारण हवाई तथा पर्यटन क्षेत्र धराशायी जस्तै हुन पुगेपनि पछिल्लो समय यात्रुको संख्या बड्दै गएकाले पर्यटन क्षेत्रमा सामान्य चहलपहल शुरु भएको पर्यटन व्यवसायी ङवाङङिमा शेर्पाले बताउनुभयो । यसै महिनामा मनास्लु हिमाल आरोहणका लागि दुई आरोहणदलबाट २५ जना आरोहीले अनुमती लिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?