logo
२०८० चैत्र १५ बिहीवार

आजदेखि फोहोर नियमित उठ्ने, केही दिनपछि बन्चरेमा फालिने

पढ्नै पर्ने |
फोटो फिचर |


2021-09-01-45688
तस्बिर : केशब गुरूङ


दीपा चौधरी

काठमाडौँ, भदौ १६ गते । काठमाडौँ उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहोर आजदेखि नियमित उठ्ने भएको छ भने पाँच-छ दिनपछि बन्चरे डाँडामा पनि फालिने भएको छ । आजदेखि उठाएको फोहोर नुवाकोटको सिसडोल ल्याण्डफिल साइटमा फाल्न लागेको शहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि उठाएको फोहोर सिसडोलमा फालिने भएको हो ।

“आजदेखि उठेको फोहोर सिसडोलमा फालिने छ,”उहाँले भन्नुभयो,“बन्चरे डाँडामा फोहोर फाल्न अझै पाँच–छ दिन लाग्छ ।” बन्चरे डाँडाको ल्याण्डफिल साइटको निर्माणको काम नसकिएकाले त्यहाँ फोहोर फाल्ने काम अलि ढिलो हुनेछ । उहाँले भन्नुभयो,“पहिलो र दोस्रो सेलको काम सकिएकाले फोहोर फाल्न मिल्छ तर निर्माण सम्पन्न गर्न दिएको समय नै अझै बाँकी रहेकाले काम पनि बाँकी छ ।” उहाँले आफू अनुगमनमै रहेकाले बन्चरेमा अब फोहोर फाल्न मिल्ने जानकारी दिनुभयो । “फोहोर फाल्दै बाँकी काम गर्न मिल्छ, यो फोहोर फाल्न कै लागि बनाएको हो, अबको पाँच–छ दिनमा यहाँ फोहोर आउँछ,”उहाँले भन्नुभयो ।

काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले हिजो फोहोर उठाउने निर्णय गरेको थियो । महानगरले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल पनि गरेको थियो । प्रवक्ता शर्माले स्थानीयलाई कुनै असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ विगतका दिनमा जस्तो नहोस् भनेर हामीले अध्ययन अनुगमन गरिरहेका छौँ ।”

सिसडोलसम्म जाने बाटो सडक विभागले काठमाडौँ महानगरपालिकासँगको समन्वयमा तत्काल व्यवस्थापन गर्ने भएको छ । स्थानीयले अवरोध गरे बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले हिजो नै बताउनु भएको थियो । काठमाडौँका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले पनि सकेसम्म शान्ति सुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने जानकारी दिनुभएको थियो । तर आज त्यस्तो अप्रिय घटना, अवरोध, कुनै ठाउँमा नरहेको महानगरीय प्रहरी प्रमुख (डिएसपी) पूर्णचन्द्र भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो भएको वार्ताअनुसार शान्तिपूर्वक फोहोर व्यवस्थापनको काम सुचारु छ । “आजदेखि सिसडोलमा फोहोर फाल्ने काम भएको छ, त्यस्तो कुनै बाधा अवरोध छैन,”उहाँले भन्नुभयो ।