logo
२०८१ बैशाख १२ बुधवार

कोरोना बिर्सिएर शिवालयहरुमा भक्तजनको भीड (फोटो फिचर)

पढ्नै पर्ने |
फोटो फिचर |


2021-08-16-44493
तस्बिरः बिकास द्वारे / सुजन गुरूङ्ग/ गोरखापत्र


यलु जोशी
भक्तपुर, साउन ३२ गते । साउनको अन्तिम सोमबार रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुकाे बिहानदेखि डोलेश्वर मन्दिरमा घुइँचो लागेकाे थियो ।
साउने समबारको ब्रत समापनको दिन भएकोले मन्दिरको वरिपरि कोरोना महामारी बिर्से जस्तै भीडभाड थियो । प्रहरीहरुले मन्दिरका प्रमुख द्वारबाट सुरक्षाका साथ प्रवेश गराए पनि वरिपरि दानदक्षिणा गर्नेको भीड थियो ।
पौराणिक मान्यताअनुसार साउन महिना भगवान् शिवको महिनाका रुपमा लिइने तथा पार्वतीले महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाहरुले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् ।
‘साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ’ ज्योतिष विकासकृष्ण दाहालले भन्नुभयो, ‘शिवजीसँग जोडिएको महिना भएकाले महिलाहरुका लागि यो महिना बढी महत्वपूर्ण मानिन्छ ।’
पशुपतिनाथ, सिफलको भण्डारेश्वर, पाटनको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, साँगाको अग्लामहादेव लगायत उपत्यकाका प्रमुख शिवालयमा एकाबिहानैदेखि भक्तजनको उपस्थिति थियो ।
पुराण अनुसार महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले छिट्टै प्रसन्न हुने धार्मिक विश्वासले भक्तजनको भीड लाग्ने गरेको ज्योतिष दाहालले प्रष्ट पार्नुभयो ।
साउनको सोमबार शिवलाई शुद्ध जल वा दूध चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
डोलेश्वर मन्दिर परिसरमा भेटिनुभएकी रेणुका क्षेत्री भन्नुहुन्छ, हरेक वर्ष आफ्ना श्रीमानको सुस्वास्थ्यको कामना गर्दै ब्रत बसेकी छु ।
व्रत सकाउन पूर्णपात्र, दान, दक्षिणा गर्नुपर्ने भएको कारण मन्दिर आएको जानकारी दिनुभयो ।
कोरोना डरको कारण अघिको सोमबार मन्दिर दर्शन गर्न नआएको जानकारी दिदै अन्तिममा आउनुपर्ने बाध्यताले आएको उहाँको भनाइ छ ।
मन्दिरमा पूजा गर्न मात्र होइन फोटो खिच्ने र टिकटक बनाउने पनि भीड देखिन्थ्यो । टिकटक बनाउनमा ब्यस्त अन्जना भडेल भन्नुहुन्छ, ब्रत केका लागि त थाहा छैन् तर सबै साथीहरुले बसौ भने त्यसैले बसेको हो । फलफूल, जुसहरु खान्छु ब्रत भनेर भोकै भने बस्दिनँ उहाँले प्रष्ट पार्नुभयो । साउनको महिना राम्री भएर आएकी छु फोटो खिचेर फेसबुकमा राख्ने धारणा उहाँले व्यक्त गर्नुभयाे । ।

तस्बिरः बिकास द्वारे / सुजन गुरूङ्ग/ गोरखापत्र