logo
२०८० चैत्र १६ शुक्रवार

  राती सवारी चलाउन रोकले संक्रमण नियन्त्रण होला ?  



भीडभाड र मापदण्डमा कडाइ जरुरी : विज्ञ, वाध्यता हो : प्रशासन

पढ्नै पर्ने |
खुला |


भीडभाड र मापदण्डमा कडाइ जरुरी : विज्ञ, वाध्यता हो : प्रशासन


काठमाडौं,साउन २८ गते । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मङ्गलबार बसेको बैठकले विहीबार राती ८ं.०० बजेबाट यातायातका साथै सबै सेवा बन्द गर्ने निर्णय भएसँगै स्वास्थ्यविद्हरुले यसले मात्र कोरोना सङ्क्रमण नियन्त्रण गर्न नसक्ने बताएका छन् ।
त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक डा. सन्तकुमार दासका अनुसार रातीको ८ं.०० बजेपछि मात्र कडाइ गरेर कोरोना नियन्त्रण हुन नसक्ने बताउनुभएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको यो निर्णयले कोरोना नियन्त्रणमा वैज्ञानिक आधार नराख्ने बताउनुभयएको छ । कोरोना सङ्क्रमण फैलिनुको कारण भीडभाडजन्य क्रियाकलाप, मास्कको उचित प्रयोगमा कमी, स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्राँई भएकाले यसतर्फ ध्यान दिनु जरुरी रहेको उहाँको भनाइ छ । “सार्वजनिक सवारी साधनहरुमा दिउँसोको समयमा यात्रुहरु ठेलमठेल राख्न दिने अनि राती ८ बजेपछि निषेधाज्ञामा कडाइ गरेर काेरोना नियन्त्रण हुँदैन” उहाँले भन्नुभयो “साँच्चिकै कोरोना सङ्क्रमण बढ्न नदिने हो भने सार्वजनिक सवारी साधनमा निगरानी बढाउनुपर्दछ । ”
यस्तै स्वास्थ्यविद डा. सागरकुमार राजभण्डारीले पनि रातीको समयमा मात्र निषेधाज्ञामा कडाइ गरेर कोरोना सङ्क्रमणलाई रोक्न नसकिने बताउनुभएको छ । सबै डान्सबार,दोहोरी साँझ जस्ता मानिससहरु जमघट हुने कार्यक्रमहरु पहिलेदेखि नै बन्द रहेको अवस्थामा फेरि राति आठ बजेबाट गाडीहरु पनि चल्न नपाउनाले मात्र कोरोना नियन्त्रणमा खासै बल नपुग्ने उहाँले बताउनुभयो । अहिले विशेष गरी दिउँसोको समयमा मानिसको भीडभाड बढेको,मास्कको उचित प्रयोग नभएको र सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्डको पालना नदेखिएकाले कोरोना सङ्क्रमण बढेको उहाँको दावी छ ।
रातीको समयलाई मात्र सवारी बन्द गर्नुभन्दा दिउँसोमा हुने गतिविधिमा नियमनकारी निकायहरुले ध्यान दिनु जरुरी रहेको उहाँले बताउनुभयो । “अहिले सरकारी कार्यालयहरु आलोपालो प्रणालीमा सञ्चालन गर्नुपर्छ ,सरकारी कार्यालयहरुले दिने सेवालाई आलोपालो प्रणलीमा सञ्चालन गर्नुपर्दछ” उहाँले भन्नुभयो “मानिसको भीडभाड हुने ठाउँ मालपोत कार्यालय ,यातायात कार्यालयहरुले सकेसम्म विद्युतीय माध्यमबाट सेवा दिन सकेमात्र पनि कोरोना नियन्त्रणमा सघाउ पुग्ने थियो ।”
यता भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने बाध्यात्मक अवस्था भएर नै राती ८ं.०० बजेबाट बन्द गर्नुपरेको बताउनुभएको छ । रातीको समयमा कतिपय होटलहरुले लुकिछिपी सञ्चालन गर्ने गरेका कारण यस्तो निर्णय गर्नुपरेको बताउनुभएको छ । रातीको समयमा मानिसहरु अनावश्यक रुपमा बाहिर निस्कने गरेका कारण पनि उक्त निर्णय लिनुपरेको उहाँको भनाइ छ । रातीको निषेघाज्ञाले मात्र कोरोना नियन्त्रण होला त ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो “रातीको समयको निषेधाज्ञाले मात्र कोरोना नियन्त्रण त पक्कै पनि हुँदैन तर हाम्रो समाजमा बिहान काम गरेर बेलुका खाने वर्गका मानिसहरु पनि रहेका कारण एकैचोटी सबै क्षेत्र बन्द गर्न नसकिएको हो । अहिले पनि कोरोनाको सङ्क्रमण दर बढिरहेकाले निषेधाज्ञाबारे जुनसुकै बेला जस्तोसुकै निर्णय हुनसक्ने उहाँको भनाइ छ । ”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?