logo
२०८० चैत्र १६ शुक्रवार

उत्तर प्रयाग भनिने पनौतीमा बाह्र वर्षे मकर मेलाको तयारी तीव्र

पढ्नै पर्ने |
फोटो फिचर |
समाज |


2021-08-12-44225


केदार तिमल्सिना
बनेपा, साउन २८ गते । हरेक १२ वर्षमा लाग्ने मकर मेलाको आउन अब पाँच महिना बाँकी छ । सो मेलालाइ लक्ष्यित गरी पनौतीमा तयारी तीव्र रुपमा अघि बढाइएको छ ।
आगामी माघ महिनामा सुरु हुने एक महिना मनाइने बाह्र वर्षे मकर मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न आवश्यक पर्ने पूर्वाधारहरु निर्माणको कामलाई तीव्रता दिइएको छ । मकरको तयारीको लागि पनौती नगरपालिकाले गत वर्षदेखि नै विभिन्न शिर्षकमा बजेट विनियोजन गरी मेलाको लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गरेको नगरपालिकाले जनाएको छ ।
‘आगामी माघ १ गतेदेखि पनौतीमा हुने बाह्र वर्षे मकर मेलाको तयारीका लागि नगरपालिकाले बजेट विनियोजन गरेर कामहरु अघि बढाएका छौँ’ पनौती नगरपालिका नगर प्रमुख भीम न्यौपानेले जानकारी दिनुभयो । उहाँले मकर मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नको लागि नगरपालिकाले चालु आर्थिक वर्षमा तीन करोड रुपियाँ बजेट विनियोजन गरेको बताउनुभयो । ‘मकर मेलाको तयारीका लागि २३ वटा विभिन्न उपभोक्ता समिति गठन गरेर त्यसमार्फत काम अघि बढेका छन्’ नगर प्रमुख न्यौपानेले थप्नुभयो । उहाँले मकर मेलालाई लक्षित गरेर विभिन्न सडक निर्माण तथा स्तरोन्नति, मठ मन्दिरको मर्मत सम्भारको काम भईरहेको बताउनुभयो ।
मकर मेलालाई लक्षित गर्दै नगरपालिकाले बनेपा–पनौती सडकमा हुने सवारी चापलाई कम गर्नको लागि निर्माणाधीन पुण्यमाता करिडोरका साथै अन्य विभिन्न बैकल्पिक मार्गहरु निर्माण तथा स्तरोन्नतिको काम अघि बढाएको छ । नगरपालिकाले मेलालाई लक्षित गर्दै नगरपालिकाको आन्तरिक स्रोतबाट दुई वर्षमा ढलमले, दुधमिल सडक खण्डसम्म करिब चालिस करोड रुपियाँमा करिडोर निर्माण गरेको छ । ‘करिडोरको बाटो प्रयोग गर्दा मेला अवधिमा बनेपा–पनौती सडकमा हुने सवारी जामलाई कम गर्न ठूलो मद्दत गर्ने हामीले विश्वास लिएका छौँ’ नगर प्रमुख न्यौपानेले भन्नुभयो । उहाँले मकर मेलामा आउने भक्तजनहरुले पनौती आउनका लागि ललितपुरको ग्वार्को–रयाले–पनौती सडक, सूर्यविनायक–रानीकोट–कुशादेवी–पनौती, पनौती–बाँसडोल सडक प्रयोग गर्न सक्ने बताउनुभयो ।
नगरपालिकाले मकर मेलालाई लक्षित गरी खरिबोट राधाकृष्ण चोक–दुरसञ्चार चोक, त्रिवेणीघाट–ढलमले करिडोर सडक, बीपी हाईवे–शारदादेवी–गोरखनाथ सडक, बीपी हाईवे–नौबिसे सडक र नमोबुद्ध–पनौती सडक स्तरोन्नति तथा मर्मतको काम अघि बढाएको जनाएको छ । मेलामा ह्ुने भीडभाडलाई कम गर्न तथा मेलामा आउने भक्तजनहरुलाई सहज आवागमनको लागि पनौती गेटबाट तरकारी बजार जोड्नको लागि पुण्यमाता खोला र मेला लाग्ने त्रिवेणीघाट नजिकै रोशी खोलामा दुई वटा बेलिब्रिज हाल्ने काम सम्पन्न भएको छ । मेलामा आउने दर्शनार्थीहरुको लागि स्नान गर्न रोशी खोलामा सिँढी समेत निर्माण गरिएको छ ।
मेला अवधिमा पुण्यमाता खोलामा सफा पानी बहगाउनका लागि लीलावती सिञ्चाईको पानी बाँसडोल खोलामा मिसाइनेछ भने पनौती पशुपति मन्दिर नजिकबाट पुण्यमातामा बहने फोहोर पानीलाई ढलको माध्यमबाट त्रिवेणीघाट तल रहेको ढल प्रशोधन केन्द्रसम्म पठाइनेछ । बाह्र वर्षे मकर मेलालाई नै लक्षित गरेर त्रिवेणीघाट आसपासमा रहेका पुण्य मावि, माईती बृद्धाश्रम, बौद्ध बिहारलाई पुरातात्विक शैलीमा ढाल्ने काम भईरहेको छ । सार्वजनिक शौचालय निर्माण, मठ मन्दिरको मर्मत सम्भार तथा रङ्गरोगन गर्ने कामलाई तिव्रता दिइएको छ भने पनौती भित्रिने मुख्य मुख्य नाकाहरुमा स्वागतद्धार निर्माण गरिने पनौती नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत इन्द्र अधिकारीले बताउनुभयो ।
उहाँले नगरपालिकाले मकर मेलालाई आवश्यक पूर्वाधार निर्माणका लागि गतवर्ष पाँच करोड रुपियाँ बजेट विनियोजन गरेर कामहरु गरेको बताउनुभयो । उहाँले मेलामा आउने भक्तजनहरुलाई पनौती लायकु दरबारको बारेमा जानकारी दिने तथा पनौतीको पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक महत्वको बारेमा जानकारी समेत प्रदान गरिने बताउनुभयो । रोटरी क्लब अफ पनौतीले मेला प्रबद्र्धनार्थ मेलाको लागोयुक्त मग सार्वजनिक गरेको छ भने मकर मेला–२०७८ र रोटरीको इन्टरनेशनल लागो एकैसाथ प्रयोग गर्दै मेलाको प्रचार गर्ने जनाएको छ ।
स्कन्दपुराणअन्र्तगत हिमवत्खण्डमा समेत पनौतीमा लाग्ने बाह्रवर्षे मकर मेलाको बारेमा उल्लेख भएको पनौतीका साहित्यकार सूर्यप्रसाद लाकोँजुले जानकारी दिनुभयो । गौतमऋषिकी परमसुन्दरी श्रीमती अहिल्याको रुपबाट मोहित भएका देवराज इन्द्रले गौतमऋषिको भेषमा अहिल्याको सतित्वहरण गरेका थिए । इन्द्रबाट आफ्नी पत्नीको सतित्वहरण भएको थाहा पाएपछि ‘जुन वस्तुका लागि बढी लालसा राखेर यो हर्कत ग¥यौँ त्यहि वस्तुहरु तिम्रा शरीरभर उत्पन्न होस्’ भनेर ईन्द्रलाई ऋषीले श्राप दिएपछि ईन्द्रका शरीरभर पापका चिन्हस्वरुप हजारौँ योनीहरु उत्पन्न भएको पाइएको लाकोँजुले बताउनुभयो ।
गौतमऋषिको श्रापपछि शरीरभर योनी उत्पति भएपछि गुरु बृहस्पतीको निर्देशनमा इन्द्रले पनौतीमा आई निरन्तर १२ वर्षसम्म तपस्या गरेपछि उहाँको शरीरमा आएका सबै योनीहरु हटेर पापबाट मुक्त भएको इतिहास रहेको साहित्यकार लाकोँजुले बताउनुभयो । आफ्नो सबै पापबाट मुक्त भएपछि इन्द्रले इन्द्रेश्वर महादेवको स्थापना गरी बाह्रवर्षे मकर मेला चलाएको किंवदन्ती पाइन्छ । उहाँले पनौतीमा लाग्ने बाह्रवर्षे मकर मेलामा नेपालका साथै भारतलगायतका देशबाट समेत दर्शनार्थीहरु आउने गरेको बताउनुभयो ।
उहाँले पनौतीको त्रिवेणीघाटलाई वासुकी नागको बासस्थानको रुपमा समेत हेरिने गरेको बताउनुभयो । उहाँले हिन्दु धर्मावलम्बीहरुमा प्रयागको ठूलो महत्व रहेको बताउँदै संसारभर दुई वटा प्रयाग रहेको बताउँदै दक्षिण प्रयाग भारत र उत्तर प्रयाग नेपालको पनौतीमा रहेको बताउनुभयो ।