logo
२०८० चैत्र १६ शुक्रवार

तस्बिरमा बेहुली झैँ सिंगारिएकी ‘खप्तड’

पढ्नै पर्ने |
फोटो फिचर |
प्रदेश |


2021-08-09-43983


 डिलबहादुर सिंह
खप्तड, साउन २५ गते । धर्तीको स्वर्ग (भू–स्वर्ग)का रुपमा चिनिने सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा अहिले अनेक फूल फुलेका छन् । डोटी, अछाम, बाजुरा र बझाङ्ग जिल्लाको सँगम स्थलको रुपमा रहेको खप्तड क्षेत्रमा बर्षायाममा फुल्ने फूलले ढकमक्क सिंगारिएको छ । फराकिला पाटनमा फुलेका बिभिन्न रंगका फूलहरुले खप्तड क्षेत्र बेहुली झै सिंगारिएको छ ।
खप्तड राष्ट्रिय निकुञ्जको क्षेत्रफल २२५ वार्ग कि.मी.  छ । समुद्र सतहबाट तीन हजार ५ सय मिटरसम्म उचाईमा रहेको खप्तड राष्ट्रिय निकुञ्जभित्र पाँच सय ६७ थरीका वनस्पति पाइन्छन । खप्तडलाइ २२ पाटन, ५२ झोती (थुम्का)को संगम स्थलका रुपमा पनि लिने गरिन्छ ।
खप्तड पुग्न यात्रा केही कठिन भए पनि खप्तडको सुन्दरताले बाटोको थकान मेटाउछ । हिउँदमा हिउँले पुरिने खप्तड बर्षायाममा सयौं प्रकारका फुलै फूलहरुको बगैचा झै देखिन्छ । बिभिन्न किसिमका चराहरूको चिरबिरले वातावरणलाई अरू मनमोहक बनाएको हुन्छ ।
कसरी जाने खप्तड ?
खप्तड पुग्न अछाम, बझाङ्ग,बाजुर र डोटीबाट जान सकिन्छ । खप्तड पुग्ने धेरै बाटाहरू भए पनि बढी चलनचल्तीमा डोटीको बाटो  छ । काठमाडौंबाट हवाईजहाज वा बसबाट पनि धनगढी पुग्न सकिन्छ । धनगढीदेखि डोटी जिल्लाको सदरमुकाम सिलगढीसम्म आठ घन्टा बस चढेपछि डोटीकै झिग्रानासम्म २ घण्टाको जिपको यात्रा गर्नुपर्छ । सिलगढीबाट हिँडेकै दिनमा खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ । निकुन्ज प्रवेशसँगै अप्ठ्यारो तथा निकै ठाडो उकालो बाटो आउँछ । दोस्रो दिन बिचपानीबाट हिँडेपछि ठुल्ठूला चट्टान र घना जंगलको बाटो हिड्नुपर्छ । बाटोमा फुलेका रंगीचंगी फूलहरूको सौन्दर्यको आनन्द लिँदै साँझ त्रिवेणी मन्दिर पुगिन्छ । खप्तड जानुभन्दा अघि पाल, स्लिपिङ व्याग, खाना पकाउने सामानसँगै लिएर जानु बेस हुन्छ । साथै, ड्राइफुड पनि बोक्नुपर्छ । यहाँ बास बस्नका लागी गेष्टहाउस भए पनि तिनको उचित व्यवस्थापन हुन सकेको छैन ।