logo
२०८१ बैशाख ७ शुक्रवार



‘आफ्नो पार्टीको सरकार ढाल्नेबाट केही पनि सिक्न सकिँदैन’ –एमाले अध्यक्ष ओली

राष्ट्रिय |


‘आफ्नो पार्टीको सरकार ढाल्नेबाट केही पनि सिक्न सकिँदैन’ –एमाले अध्यक्ष ओली


   
काठमाडौँ, साउन १७ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पु¥याउने नेताबाट आमकार्यकर्ता र नागरिकले केही पनि सिक्न नसक्ने बताउनुभएको छ ।    
    
तुलसीलाल स्मृति प्रतिष्ठानले कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २४औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीभित्रै कतिपय नेतामा पार्टीप्रतिको निष्ठाको भाव नभएको बताउनुभयो । नेपाली जनताले विकास र सुशासनका लागि कम्युनिष्ट सरकार नै चाहिन्छ भन्ने महसुस गरेको उहाँले बताउनुभयो । आफूले नेतृत्व गरेको सरकारका कारण आमजनताको सरकारप्रति आशा र भरोसा बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही व्यक्तिको हतारो र गैरजिम्मेवारीले गर्दा सरकार र पार्टीमा यो अवस्थामा आएको हो ।”    
    
पूर्वप्रधानमन्त्री ओलीले तुलसीलाल अमात्य, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रितलगायतका नेताले पार्टी र जनताका लागि निस्वार्थ रुपमा योगदान गरेको उल्लेख गर्नुभयो । उहाँहरूले देश र पार्टीका लागि व्यक्तिगत स्वार्थ र अहम त्यागेर लागेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पुष्पलालले काँचो चना खाएर पनि पार्टी र देश बनाउन लाग्नुभएको थियो ।”    
    
एमालेले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा अगुवाई गरिरहेको अध्यक्ष ओलीको भनाइ छ । परराष्ट्र तथा औद्योगिक नीति, व्यापार, कृषि, सिँचाइ सबैमा एमालेले लिएको नीति नै राष्ट्रिय नीति बन्ने गरेको उहाँले बताउनुभयो । सत्यका पक्षमा लाग्ने व्यक्तिलाई बिगतदेखि नै विभिन्न पक्षले असहयोग गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ऋषिमुनिका तपस्या भाड्नेदेखि बुद्धलाई गलत देख्नेहरू नभएका होइनन् । त्यो कुरा अझैसम्म रहेको छ ।”    
    
प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले विगतमा एकीकरण भएको कम्युनिष्ट पार्टी केके कारणले गर्दा फुट्यो भनेर समीक्षा गर्नुपर्ने औँल्याउनुभयो । एमाले स्थायी कमिटी सदस्य केशव बडालले तुलसीलालको पार्टी र देशप्रतिको निष्ठा भावबाट हामीले धेरै कुरा सिकेर अवलम्बन गर्न सकिनेमा जोड दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?