logo
२०८१ बैशाख ११ मंगलवार



मन्त्रिपरिषद विस्तार छिटो गर्न पहल गर्ने माओवादी केन्द्रको निर्णय

फिचर |
पढ्नै पर्ने |
राष्ट्रिय |


मन्त्रिपरिषद विस्तार छिटो गर्न पहल गर्ने माओवादी केन्द्रको निर्णय


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १७ गते । नेकपा (माओवादी केन्द्र) ले गठबन्धन दलको कामलाई व्यवस्थित बनाउने र सरकार विस्तारको काम छिटै गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ काअनुसार बैठकले ३० गतेदेखि केन्द्रीय कमिटी बैठक शुरु गर्ने निर्णय पनि गरेको छ । सोहीअनुसार साउन ३० भित्र देशभरका पार्टी वडा कमिटीलाई अद्यावधिक गर्न निर्देशन दिने पनि निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

स्थायी कमिटीको बैठक भोलि ३ बजे पुनः बस्ने उहाँले जानकारी दिनुभयो । भोलिको बैठकले मन्त्रिपरिषद विस्तारका लागि पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने निर्णय भएको पनि उहाँले बताउनुभयो । सोअघि आज र भोलि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलका नेताहरुसँग मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्नुहुने पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

त्यस्तै, दार्चुलामा भएको तुइन घटनाको विषयमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पनि माओवादी केन्द्रले माग गरेको छ । जनता समाजवादी पार्टी (जसपा) को वैधानिकता विवाद र गठबन्धनमा सामेल रहेको नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षको निर्णय आउन ढिलो भएपछि सरकारको पूर्णतामा ढिला भएको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । अबको एक दुई दिनभित्र मन्त्री परिषद विस्तार हुने उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्ड–नेता नेपालबीच भेट
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच आज बिहान छलफल भएको छ । सरकार विस्तारको विषयमा केन्द्रित भएर छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वरस्थित नेपाल निवास पुग्नुभएको थियो ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार बिहान अध्यक्ष प्रचण्ड र नेता नेपालबीच सरकार विस्तारको विषयमा छलफल भएको हो । अध्यक्ष प्रचण्डले नेता नेपाललाई सरकारमा सहभागी हुन पुनः आग्रह गर्नुभएको थियो । गठबन्धन दलको सहकार्य र एकताका लागि पनि नेता नेपाललाई सरकारमा सहभागी हुन उहाँले आग्रह गर्नुभएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?