logo
२०८० चैत्र १६ शुक्रवार



वन र वन्यजन्तु संरक्षणमा खटिएका यी हस्ती

फिचर |
पढ्नै पर्ने |


वन र वन्यजन्तु संरक्षणमा खटिएका यी हस्ती


टेकराज पोखरेल

नवलपुर, साउन १५ गते । चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ र सङ्कटापन्न प्रजातिका जीवजन्तुहरुका लागि महत्वपूर्ण बासस्थानका रूपमा रहेको छ । निकुञ्जले चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लालाई छोएको छ । विश्वमा नै दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, पाटेबाघ, गौरीगाई, घडियाल गोही, अर्ना, हात्ती, चराचुरुङ्गी, अजिङ्गर, मृग प्रजातिका जनावर निकुञ्जमा पाइने गरेको छ । दुर्लभ र सङ्कटापन्न अवस्थाका जनावरलाई संरक्षण गर्ने उद्देश्यले विसं २०३० मा चितवन राष्ट्रिय निकुञ्जको स्थापना गरिएको हो । निकुञ्ज स्थापनासँगै त्यहाँका वन्यजन्तुको संरक्षणमा समुदायले पनि चासो दिन थालेका छन् । समुदायका केही व्यक्तिले निरन्तररूपमा वन र वन्यजन्तु संरक्षणको काममा आफूलाई समर्पित गरेका छन् ।

पर्यटकलाई घुमाउने ‘नेचर गाइड’को कामसँगै संरक्षणका हरेक क्षेत्रमा अग्रसर रहँदै आएको नाम हो मनीष लिम्बू । चितवन राष्ट्रिय निकुञ्जको मेघौली मध्यवर्ती क्षेत्रका बासिन्दा लिम्बू पछिल्लो समय अजिङ्गर तथा अन्य सर्पहरुको उद्धारका साथै चराचुरुङ्गीको संरक्षणमा लागिरहनुभएको छ । मुख्य पेशा पर्यटकलाई निकुञ्ज तथा मध्यवर्तीको वनमा घुमाउने भए पनि कोरोना भाइरसका कारण सिर्जित समस्याले उहाँको यो पेशा ठप्पजस्तै भएको छ । “पाहुना नभएपछि मुख्य काम हुँदैन, व्यक्तिगत रूपबाटै भए पनि संरक्षणको काम गरिरहेको छु”, लिम्बूले भन्नुभयो, “यो निषेधाज्ञाको समयमा अजिङ्गर तथा अन्य विषालु र मन्द विषालु सर्पहरुको उद्धार, पशुपक्षीको पिँजडामुक्त अभियान, चराचुरुङ्गी संरक्षण अभियानमा आफूलाई व्यस्त राखेको छु ।” उहाँले विश्व वातावरण दिवसको अवसर पारेर भरतपुर २७ र २८ मा पिँजडामुक्त अभियान सञ्चालन गर्नुभएको थियो ।

चराहरुको संरक्षणका लागि मेघौली क्षेत्रका पसलबाट ५३० वटा गुलेलीहरु किनेर नष्ट गरेको लिम्बूले बताउनुभयो । आफ्नो यो अभियानमा गाउँका साथीहरुको समेत सहयोग मिलेको लिम्बू बताउनुहुन्छ । ‘गो हर्न नेचरगाइड सर्भिस’ मार्फत नै उहाँले अहिले बर्खाको समय भएकाले सर्प संरक्षणको काम गर्दै आउनुभएको छ । “चिनेका मान्छेहरुले आफ्नो घर, गोठमा सर्प पस्यो भनेर फोन गर्छन्”, लिम्बूले भन्नुभयो, “फोन आएपछि तत्काल गएर सर्प उद्धार गर्ने गरेको छु ।” यस वर्षमात्रै नौवटा अजिङ्गर तथा अन्य पाँचवटा मन्द विषालु प्रजातिका सर्पको उद्धार गरी चितवन निकुञ्जमा लगेर छाडेको लिम्बूले बताउनुभयो । यस वर्ष आफूले हाइलिभेनम्स (कडा विषालु) सर्प कोब्रा र करेट नभेटेको बताउनुभयो ।

“गाउँमा आएको अजिङ्गरले कुखुरा र हाँस खाने गर्छ, अनि गाउँलेहरुले डराएर फोन गर्छन्”, लिम्बूले भन्नुभयो, “सर्पहरु मार्नु हुँदैन प्रकृतिका लागि यिनीहरुको आवश्यकता अपरिहार्य छ भनेर समुदायलाई बुझाउन पनि सर्प उद्धारमा खटिएको हो ।” नेचर गाइडसँगै संरक्षणको काम शुरु गरेको २० वर्ष भइसकेको लिम्बू बताउनुहुन्छ । “चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको टाइगर टप्स रिसोर्टमा म हुर्किएको हुँ, बाबासहित परिवारका सदस्य त्यहाँ कर्मचारी हुनुहुन्थ्यो” लिम्बूले भन्नुभयो, “वाइल्डलाइफमा सबैले काम गर्ने गरेको तथा जङ्गलमा हुर्किएका कारण संरक्षणमा मेरो पनि रुचि बढेको हो ।”

संरक्षणको काम गर्दागर्दैको अवस्थामा लिम्बूलाई सन् २०१४ मा गैँडाले आक्रमण गरेको थियो । गैँडाले आक्रमण गरेपछि उहाँ छ महिना ‘बेड रेस्ट’मा बस्नुपरेको थियो । “संरक्षणको पाटोमा यो मेरा लागि अविस्मरणीय क्षण बन्न पुगेको छ”, लिम्बूले भन्नुभयो, “निकुञ्जभित्र विदेशी पर्यटक लिएर पदयात्रामा गएका थियौँ, एक्कासि गैँडाले आक्रमण ग¥यो, आफू घाइते भएर भए पनि पाहुनालाई सकुशल राख्न सफल भएँ ।” निको भएर पुनः पर्यटकका पथप्रदर्शक भएर निकुञ्ज प्रवेश गर्दा दुई÷तीन महिनासम्म गैँडाको डर लाग्ने गरेको भए पनि पछि विस्तारै डर हराएको उहाँले बताउनुभयो ।

निकुञ्ज घुम्न जाने क्रममा बाघ देख्दा सबैभन्दा खुशी लागेको उहाँले बताउनुभयो । “हिँड्दै गरेको बेलामा बाघसँग जम्काभेट हुने घटना भनेको बिरलै हुने गर्दछ”, लिम्बूले भन्नुभयो, “बाघ लजालु प्राणी हो, मानिसको गन्ध थाहा पाए पनि बाघ लुक्छ, यसलाई हेर्नका लागि लामो समयसम्म कुरेर बस्नुपर्छ ।” बाघ विचरण गर्ने बेलामा छेउछाउमा रहेका चराचुङ्गी कराउँदै उड्ने, हरिण मृग दगुर्ने दृश्य निकै रोमाञ्चकारी हुने गरेको उहाँको भनाइ छ । “बाघ नै हेर्छु भन्ने हो भने तीन दिनसम्म पर्खनुपर्छ, बाघको आफ्नो क्षेत्र हुन्छ त्यही बाटो भएर उ विचरण गर्छ”, लिम्बूले भन्नुभयो, “एउटै ठाउँबाट बिहान, बेलुका पानी खान निस्कने गर्छ । मानिस हिँडेपछि मानिसको शरीरबाट निस्कने गन्धले बाघ लुक्छ । तर, कुरेर बस्यो भने बाघ देख्न सकिन्छ ।” उहाँले आगामी दिनमा पनि संरक्षणको काममा आफूलाई निरन्तर अगाडि बढाउने बताउनुभयो । लिम्बू मेघौली घटगाईँ गाइड एशोसिएशनको संयोजकसमेत हुनुहुन्छ ।

चितवन तथा नवलपुर क्षेत्रमा करिब २० वर्ष अगाडिदेखि निरन्तर पत्रकारितामार्फत वन र वन्यजन्तुको संरक्षणको पाटोमा आफूलाई उभ्याउँदै आएको नाम हो कोमलचन्द्र भगत । उहाँलाई मोफसलको अब्बल वातावरण पत्रकारको रूपमा समेत लिने गरिएको छ । नेपाल पत्रकार महासङ्घ चितवनका सदस्य एवं आभास टेलिभिजनका प्रबन्ध निर्देशक भगतले जर्नालिज्म फर कन्जरभेसन (संरक्षणका लागि पत्रकारिता) भन्ने नारासहित समाचारका विभिन्न बिटमध्ये संरक्षण र वातावरणीय पत्रकारितालाई रोजेको बताउनुहुन्छ । विकास, संरक्षण, वातावरण र पर्यावरणलाई मुख्य बिट बनाएर पत्रकारिता क्षेत्रमा पेशागत धर्म निर्वाह गरिरहनुभएका भगतले चितवनको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाउनुभएको छ ।

मोफसलमा रहेर वातावरण पत्रकारिताको माध्यमबाट वातावरण, पर्यावरण र पर्यटन प्रवर्धन एवं संरक्षणमा टेवा पु¥याउँदै आउनुभएका भगतले विसं २०५६ मा आधिकारिकरूपमा भरतपुर वातावरणीय सामाजिक संस्थाको स्थापना गरी पत्रकारिता पेशा र वातावरणीय सरसफाइ एवं संरक्षण कार्यलाई सँगसँगै अघि बढाएको बताउनुहुन्छ । गैरसरकारी संस्थाले गर्ने कार्यभन्दा सरसफाइका प्रचारमूलक सामग्री टेलिभिजनमार्फत प्रसारण गर्न सके समुदायमा थप प्रभावकारी हुने भगत बताउनुहुन्छ । भगतले विसं २०५८ मा सामुदायिक टेलिभिजनको अवधारणा अघि सारी स्थानीय चितवन युनिक केबुलमार्फत प्रसारण हुने गरी श्रव्यदृश्य सञ्चारमाध्यम बेसो टेलिभिजन सञ्चालन गर्नुभएको थियो । टेलिभिजन सञ्चालनसँगै पेशागत हिसाबमा शुरु भएको भगतको वातावरणीय पत्रकारिताले हालसम्म पनि निरन्तरता पाइरहेको छ । जिल्लामा छरिएका सबै विषयवस्तुलाई समाचार एवं कार्यक्रम निर्माण गरी प्रसारण गर्दै आउनुभएका भगतले विसं २०७० मा आभास टेलिभिजनको स्थापना गरेसँगै पर्यावरण र विकास कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ ।

पर्यावरण र विकास नामको टेलिभिजन कार्यक्रममार्फत भगतले संरक्षणको पाटोलाई प्राथमिकता दिनुका साथै संरक्षणसम्बन्धी समुदायलाई चेतना दिने कामसमेत गर्नुभयो । उहाँले विभिन्न सङ्घसंस्था वा कार्यालयको सहयोगमा संरक्षणसम्बन्धी थुप्रै वृत्तचित्र पनि उत्पादन गरेको बताउनुभयो । नेपालका विभिन्न स्थानमा रहेका राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, जिल्लाभित्र रहेका विभिन्न सामुदायिक वन, मध्यवर्ती क्षेत्र, डिभिजन वन कार्यालय चितवन, डिभिजन वन कार्यालय रसुवालगायतसँग समन्वय गरी धेरै वृत्तचित्र, कार्यक्रम निर्माण गरिसकेको भगतले बताउनुभयो । उहाँले निर्माण गरेका वृत्तचित्र तथा टेलिभिजन कार्यक्रमले वन र वन्यजन्तुका साथै संरक्षणको पाटोलाई नजिकबाट बुझ्न सकिने भगत बताउनुहुन्छ ।

राष्ट्रिय निकुञ्जभित्र हुने पर्यटन प्रवद्र्धन हुने खालका कार्यक्रम, गैँडा गणना, सिमसार क्षेत्रमा हुने चरा गणनादेखि वन्यजन्तु र मानवबीचको द्वन्द्व, वन्यजन्तुको अवस्था, सामुदायिक वनमा हुने हरेक गतिविधिलाई भगतले आफ्ना विषयवस्तुको रूपमा पस्कँदै आउनुभएको छ । वातावरण पर्यावरण र संरक्षण क्षेत्रका साथै निकै संवेदनशील र सामाजिक सांस्कृतिक विषयमा पनि भगतले वृत्तचित्र निर्माण गर्नुभएको छ । पत्रकार भगत नेपाल फोटो पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं नेपाल फोटो पत्रकार महासङ्घ चितवनका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । उहाँले खिचेको गोहीले माछा खाँदै गरेको तस्वीर चीनमा भएको ‘बेइजिङ अन्तर्राष्ट्रिय फोटो प्रदर्शनी’मा उत्कृष्ट फोटोमा समेत छानिएको थियो । विभिन्न सङ्घसंस्थाले उत्कृष्ट कार्य गरेको भन्दै उहाँलाई पुरस्कृत तथा सम्मानसमेत गरेका छन् । वन, वातावरण, पर्यावरण संरक्षण, फोहाेर व्यवस्थापन, पर्यटन प्रवद्र्धनलगायत समाजका हरेक क्षेत्रलाई उजागर गर्नेजस्ता विषयलाई उठान गरी पत्रकारिता गर्दै आउनुभएका पत्रकार भगतसँग संरक्षण पत्रकारिताबारे २० वर्षभन्दा लामो समयको अनुभव छ ।

सरस्वती सेढाईँ जो आफू महिला भएर पनि आफूलाई संरक्षणको क्षेत्रमा स्थापित गर्नुभयो । नियमित घरधन्दासँगै सेढाईँ संरक्षणको क्षेत्रमा समेत अगाडि बढ्नुभयो । सेढाईँले सन् २०१७ देखि २०१९ सम्म बर्ड एजुकेशन सोसाइटीको अध्यक्ष भएर चराचुरुङ्गी र संरक्षणको क्षेत्रमा काम गर्नुभएको थियो । समाजमा संरक्षण शिक्षा प्रदान गर्ने, चरा संरक्षणका लागि विभिन्न योजना तथा काम गरेको सेढाईँले बताउनुभयो । नेपालमा पाइने चराको करिब ७० प्रतिशत प्रजाति चितवन राष्ट्रिय निकुञ्जमा पाइने भएकाले चरा संरक्षणका लागि आफूलाई अग्रसर गराएको सेढाईँको भनाइ छ ।

नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये निकुञ्जमा ३३४ प्रजातिका चरा भेटिएका छन् । पछिल्ला दिनमा यो सङ्ख्या वृद्धि हँदै गइरहेको छ । नेपालका ३७ प्रजातिका लोपोन्मुख चरामध्ये २४ प्रजातिका चरा यहाँ पाइने हुँदा पनि यिनीहरुको संरक्षण अहिलेको आवश्यकता भएको सेढाईँ बताउनुहुन्छ । निकुञ्जमा पाइने चरामध्ये अति दुर्लभ चरामा खरमजुर, रागधनेश, डङ्गुरगिद्ध छन् । यस क्षेत्र चराको बासस्थान मात्र नभई बसाइँसराइको गन्तव्य पनि हो । गर्मीयाममा यहाँ ४७ प्रजातिका चरा बसाइँसराइ सरी आइपुग्छन् भने जाडोयाममा १४१ प्रजातिका चरा जाडो छल्न आइपुग्छन् । निकुञ्ज क्षेत्रमा कात्तिकको अन्तिम सातादेखि माघ अन्त्यसम्मको अवधि चरा आउने मुख्य समय भएको सेढाईँले बताउनुभयो । नेपालको हिमाली क्षेत्रका साथै साइबेरिया, बर्मा, तिब्बतलगायतका जाडो प्रदेशबाट चिसो छल्न र आहाराको खोजीमा चरा यहाँ आउने सेढाईँ बताउनुहुन्छ ।

पछिल्लो समयमा निकुञ्ज क्षेत्रभित्र बढेको मानवीय चहलपहल, ध्वनि प्रदूषण, वन फँडानी, तालतलैया सुक्नु, नदी प्रदूषित हुनु, निकुञ्ज आसपासका क्षेत्रमा आवादी बढ्नु, बालीनालीमा कीटनाशक औषधिको प्रयोग हुनु, आहाराको कमी तथा विश्वव्यापी जलवायु परिवर्तनको असर आदि समस्याले चराको आगमन तथा वृद्घिमा ह्रास आएको उहाँको भनाइ छ । निकुञ्ज र आसपासका क्षेत्रमा जनचेतना अभाव र फितलो कानूनको फाइदा उठाउँदै चराको शिकार बढी भएका कारण पनि यहाँ चराको अस्तित्व विस्तारै सङ्कटमा पर्दै गएको उहाँ बताउनुहुन्छ । आफ्नो कार्यकालमा सेढाईँले चराको सर्भेक्षण गर्ने, विद्यालयमा चरा संरक्षणसम्बन्धी प्रशिक्षण, विषादीरहित कृषि उपजमा जोड दिँदै कृषकलाई तालिमलगायतका विषयमा काम गरेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?