logo
२०८० चैत्र १६ शुक्रवार

खेत बन्धकी लिएर विपन्नको भकारी भर्दै सामुदायिक वन (फोटो फिचर)

पढ्नै पर्ने |
फोटो फिचर |


2021-07-26-42899


अमरराज नहर्की
तनहुँ, साउन ११ गते । वर्षभरि खेती गर्दा पनि ६ महिना खान पुग्दैन तनहुँ म्याग्दे गाउँपालिका–१ गुणादीकी मोनी परियारलाई । बाँकी अवधिको लागि बजारबाटै खाद्यान्न किन्नुपर्छ । यो अवस्थाबाट मुक्ति पाउन उहाँले अनेक उपाय खोज्दा त्यसको सहयोगी बनेको छ यहाँको एउटा सामुदायिक वन जसले परिवार पाल्न खाद्यान्न किन्नुपर्ने बाध्यताको अन्त्य गरिदिएको छ ।

मोनी आवद्ध सो ठाउँ स्थित वाराही सामुदायिक वन उपभोक्ता समुहले खेत बन्धकी किनिदिएर खेती लगाउन दिएपछि मोनीको भकारी भरिएको छ । पहिला अधियाँ खेती गर्दा साहुलाई आधा दिनुपथ्र्यो, आधा मात्रै हुन्थ्यो भकारी । अहिले पुरै भरिएपछि सात जनाको परिवार पाल्न सहज भएको मोनीले बताउनुभयो । ‘‘ पहिला ६ महिनाको लागि अन्न वेसाउनु पथ्र्यो, अहिले पुरै अन्न भित्राउन पाएपछि खानाको समस्या टरेको छ’’, मोनीले भन्नुभयो । सोही ठाउँकी गुनीमाया बाचेमगर समुहिक खेती गर्न पाएपछि परिवार पाल्न अधियाँ गर्नु पर्ने बाध्यता हटेकोले जीवनयापन सहज भएको बताउनुभयो ।

मोनी र गुनीको जस्तै सो समूहमा आबद्ध सबै विपन्नको खाद्यान्नको समस्या हटेको छ । समूहले खेत बन्धकी लिई सामूहिक खेतीमार्फत विपन्नको भकारी भरेर अनुकरणीय काम गरेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । वनमा तीन वर्ष अघिदेखि समुहले खेत बन्धकी किनेर समूहका गरिव वर्गका उपभोक्तालाई सामूहिक खेतीमा आवद्ध गर्दै जिविकोपार्जनमा सहजता ल्याउने अभियान चलाएर उदाहरणीय कार्य गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । ‘‘यस्तो अभ्यास भएको अन्त सुनेका छैनौं र केही समुहले यस्ता कार्यक्रमको प्रस्तुत सुनेर नौलो मानेर गरीवि न्यूनिकरणको लागि काम गर्नुपर्छ भन्ने उदारण प्रस्तुत गरेको छ’’, डिभिजन प्रमुख काफ्लेले भन्नुभयो । आश्रीत सबै उपभोक्ताले लाभ लिन पाउनुपर्छ र विपन्न व्यक्तिको उत्थानका लागि पनि समुहले काम गर्नुपर्छ सोचाई लिएर सामुहिक खेती गरिएको सव डिभिजन कार्यालय म्याग्देले जनाएको छ । समूहले बन्धकी लिएपछि सामुदायिक वनमा आवद्ध उपभोक्ताहरु खाद्यान्नमा आत्मनिर्भर भएका छन् भने बाँझो बसेको गैरी खेतको सदुपयोग भएको सव डिभिजन कार्यालय माग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो ।

ऐनले स्पष्ट पारे अनुसारको विपन्न तथा गरीव वर्गको उत्थानको लागि ३५ प्रतिशत रकम विपन्न लागानी कोष लागानी गर्नु पर्छ भन्ने नियम अनुसार खेत बन्धकी लिइएको हो । ‘‘खेर गएको जमिनलाई बन्धकी लिएर विपन्न वर्गको उपभोक्ता जीविको पार्जनमा टेवा पुगी गरीवि न्यूनिकरणमा सहयोग गरेको छ’’, सव डिभिजन प्रमुख रानभाटले भन्नुभयो । सव डिभिजन कार्यालयले अन्तरक्रिया गोष्ठी गरी सामुदायिक नीति नियमको बारेमा विपन्नको उत्थानको लागि आयआर्जन कार्यक्रम गर्नुपर्छ भन्ने प्रशिक्षण पाएपछि सामुहिक खेती गर्ने सोचाई आएको समुहले जनाएको छ ।

समूहले शुरुमा २० रोपनी खेत पाँच वर्षको लागि ४ लाखमा बन्धकीमा लिएको समुहिक खेती गरिएको अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिनुभयो । सामुहिक खेती गर्ने कार्य प्रभावकारी भएकाले यस वर्ष थप ४ लाख २५ हजार गरी कुल ८ लाख २५ हजारमा ३६ रोपनी खेत बन्धकी लिएको अध्यक्ष खनालले बताउनुभयो । परालको सदुपयोग गरी पशुपालन मार्फत आयआर्जन बढाउने योजना रहेको समुहले जनाएको छ । वनबाट भएको आम्दानीले पाडापाडी किनेर विपन्न उपभोक्तालाई आयआर्जनको लागि दिने निर्णय भएको अध्यक्ष खनाल बताउनुहुन्छ ।

वन उपभोक्ता समुहको कार्ययोजना अनुसार वनबाट भएको आम्दानीले व्यक्तिको जग्गा बन्धकीमा खरिद गरी २५ जना विपन्न उपभोक्तालाई सामुहिक धान खेतीमा आबद्ध गराईएको समुहकी उपाध्यक्ष उमा सुनारले जानकारी दिनुभयो । सामुहिक खेती विपन्न व्यक्तिले ५० रुपियाँ निवेदन दिएर एक हजार रुपियाँ धरौटी बुझाएपछि खेती गर्न पाउने र सबै उब्जनी उपभोक्ताले लैजाने व्यवस्था मिलाइएको समूहले जनाएको छ । खेतमा तीन खेती गर्ने गरिएको छ । दुई खेती धान र एक खेती आलु र मकै लगाएर खाद्यान्नमा आत्मनिर्भर समुहका कोषाध्यक्ष टेकबहादुर कामीले बताउनुभयो । एक जनाले करीव वर्षिक रुपमा करीव १२ मुरी धान पाउने र मकै र आलु समेत उत्पादन भएकोले सबै उपभोक्ता खाद्यान्नमा आत्मनिर्भर बन्न पुगेको उहाँ बताउनुहुन्छ । हालै परेको अविरल वर्षाले बाँध र कुलो बगाएपछि खेत रोप्न नपाएकोले मर्मत सम्भारको लागि स्थानीय पालिकासँग माग गरिएको समुहले जनाएको छ ।