logo
२०८१ बैशाख ७ शुक्रवार



प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त हुने सुनिश्चित्

मुख्य समाचार |


प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त हुने सुनिश्चित्


लक्की चौधरी
काठमाडौं, साउन ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त हुने सुनिश्च्तिा भएको छ । प्रधानमन्त्री देउवाले विश्वासको मतमा आफूलाई सहयोग गर्न संसद बैठकमा आइतबार प्रस्ताव प्रस्तुत गर्नुभएपछि दलीय प्रतिवद्धताले उहाँलाई विश्वासको मत आउने सुनिश्चित भएको हो ।

प्रधानमन्त्री देउवालाई आफ्नै दल काँग्रेस, माओवादी केन्द्र, जसपा, एमाले माधवकुमार नेपाल समुह तथा जनमोर्चाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । संसद बैठकमा बोल्दै सो दलका नेताहरुले विश्वासको मत दिने प्रतिवद्धता जनाउनुभयो । विश्वासको मत लिने प्रक्रिया जारी छ ।

प्रतिनिधिसभा बैठकमा आइतबार धारणा राख्नुहुँदै नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई अदालतले नियुक्त नगरेको बताउनुभयो । संविधानको धारा ७६ र उपदफा ५ सांसदहरुलाई विवेकको मत दिन पाउने व्यवस्था गरेकाले देउवा जनप्रतिनिधिकै बलमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको उहाँले बताउनुभयो ।

सर्वोच्चको फैसलाले संविधानवाद र लोकतन्त्रको विजय भएको बताउनुहुँदै डा. रिजालले संविधान रक्षाका लागि काँग्रेस सदैव सचेत रहने बताउनुभयो । सत्ताभन्दा बाहिर रहनुपर्दा अहंकार नदेखाउन उहाँले एमाले नेताहरुसँग आग्रह गर्नुभयो । सत्ता कसरी चल्छ अब आफूहरुले देखाउने उहाँले दावी गर्नुभयो । आफूहरु बीपी कोइराला नेतृत्वको पार्टीका मान्छे भएकाले जनताको पक्षमा काम गर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष केपी शर्मा ओलीको अहंकारका कारण नेकपा विघटन भएको उहाँले टिप्पणी गर्नुभयो । नेता माधवकुमार नेपाल पनि ओलीका्े अहंकारकै कारण विपक्षी गठबन्धनमा सहभागी हुनुभएको उहाँले बताउनुभयो । उहाँले सबै दलका सांसदलाई प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन आग्रह गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दल प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको प्रस्तावमा समर्थन गरेको बताउनुभयो । अध्यक्ष ओलीको महत्वाकांक्षावाद, छल कपटकै कारण नेकपा टिक्न नसकेको बताउनुभयो । आफूहरु ओलीरुपी जाँतोमा पिसिएर आएकाले सबै कुरा जानकारी रहेको बताउनुभयो । पटक पटक प्रतिनिधिसभा विघटन गर्नेले प्रणालीको चिन्ता गर्नु उचित नभएको उहाँले चर्चा गर्नुभयो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीको समर्थनमा आफ्नो दलले मत दिने बताउनुभयो । यसअघि सुशील कोइरालालाई मत दिंदा मधेसलाई धोखा भएकोभन्दै अध्यक्ष ठाकुरले मत दिए बापत फेरि धोखा नहोस् सचेत गराउनुभयो । संविधानको अरुले जति प्रसंशा गरे पनि यसकै कारण मधेसी जनता बन्दुकको गोली खानुपरेको उहाँले बताउनुभयो । अध्यक्ष ठाकुरले यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मधेसको माग सुनुवाई गरेकाले धन्यवाद व्यक्त गर्नुभयो ।

जसपा उपेन्द्र पक्षका नेता डा. बाबुराम भट्टराईले संविधानको हत्या गर्न खोजेकाबेला सर्वोच्च अदालतले जोगाएको बताउनुभयो । प्रधानमन्त्रीको प्रस्तावलाई आफ्नो दलको समर्थन रहेको बताउँदै नेता डा। भट्टराईले अरु दलका सबै सांसदलाई पनि सहयोग गर्न आग्रह गर्नुभयो । आगामी दिनमा संविधान संशोधन गरी पछाडि परेका वर्गको माग सम्बोधनका लागि उहाँले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो । थारु समुदायको माग मुद्दा समेत सम्बोधनका लागि उहाँले आग्रह गर्नुभयो ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप