logo
२०८१ बैशाख १२ बुधवार

  भाेलि चीनबाट १० लाख मात्रा खोप ल्याइने  



अर्को हप्ताबाट लगाइने, १४ लाखकाे आवेदन, ५५ माथिका प्राथमिकतामा

राष्ट्रिय |


अर्को हप्ताबाट लगाइने, १४ लाखकाे आवेदन, ५५ माथिका प्राथमिकतामा


आशा साह
काठमाडौं, असार २३ गते । सरकारले चीनबाट असार २४ गतेबाट ल्याइने भोरोसेल खोपको पहिलो मात्रा (डोज) ५५ वर्षमाथिका नागरिकलाई दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा.समीरकुमार अधिकारीले चीनबाट ल्याउन लागेको भ्याक्सिन अर्को हप्तादेखि लगाउन शुरु गरिने बताउनुभयो ।

यसैगरी स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख तथा खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलले पनि चीनबाट ल्याइने भेरोसेल खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई दिइने बताउनुभयो ।

कोभिड खोप लगाउन करिब १४ लाख आवेदन
कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत गत वैशाख ३१ गतेबाट पहिलो मात्रा (डोज) लगाउन सरकारले नागरिकबाट आवेदन माग गरेको थियो । कोभिड–१९ पहिलो डोज खोपका लागि करिब १४ लाख नागरिकले स्वैच्छिक आवेदन दिएका छन् ।

वैशाख ३१ गतेबाट शुरु भएको आवेदन माग असार तेस्रो सातासम्म करिब १४ लाख नागरिकले स्वैच्छिक आवेदन दिएको खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलले जानकारी दिनुभयो ।

सरकारले खोप लगाउन चाहने नागरिकको विवरण संकलन गर्दै खोप लगाउन चाहने नागरिकबाट सार्वजनिक रुपमा विवरण माग गरेको हो । तर, स्वैच्छिक आवेदन दिएपनि खोप पाउने टुंगो नभएको खोप सल्लाहकार समितिका संयोजक डा. पोखरेलले जानकारी दिनुभयो ।

कहिले पाउँछन् आवेदन दिनेले कोरोनाविरुद्धको खोप ?
आवेदन दिनेले अहिले नै खोप पाउँछन् भन्ने नरहेको संयोजक डा. पोखरेलले बताउनुभयो । ‘आवेदन दिनेले खोप पाउँछन् भन्ने ग्यारेन्टी छैन,’ उहाँले भन्नुभयो, ‘खोप दिने व्यवस्था नै विद्युतीय प्रणालीमार्फत गर्न खोजेका छौं । यसका लागि एक–दुई वर्ष लाग्छ । त्यसैले जो–जोले आवेदन दिनुभएको छ उहाँहरुले आफ्नो उमेर समूहका आधारमा खोप पाउनुहुन्छ । खोप लगाउनका लागि लाइनमा बस्नु पर्दैन, र छिटो पनि हुन्छ ।’

पहिलो खोपका लागि आवेदन दिनेलाई ग्यारेन्टी किन छैनन् ? भन्नेबारे उहाँले खोपको लागि आवेदन दिन माग गर्दा नै यहि निर्णय भएको उहाँले बताउनुभयो ।

‘निर्णय नै त्यहि भएको छ । हामीले बाहिर पठाउँदा के भनेका छौ भने, खोपको लागि सुनिश्चितता होइन् । तर, यसलेपछि व्यवस्थापनमा सजिलो हुन्छ । आवेदन दिएपछि आफूले खोपको लागि कार्ड लिनलाई, विदेश जानुपर्यो भने प्रमाणिकरण गर्नलाई, आगामी वर्षहरुमा खोप लगाउनका लागि सजिलो हुन्छ,’ उहाँले भन्नुभयो, ‘तर,जसले आवेदन दिनुभएको छैन उहाँहरुका लागि भने गाह्रो हुन्छ ।’

चीनबाट ल्याइने खोप आवेदन दिनेलाई पनि दिइन्छ ? भन्नेबारे उहाँले चीनबाट ल्याइने खोप उमेर समूहका आधारमा दिइने बताउनुभयो । यसमा ५५ वर्षभन्दा माथिका उमेर समूहलाई पुगेसम्म दिँदै जाने खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलले जानकारी दिनुभयो ।
आवेदन दिनेमा युवा पुस्ता धेरै हुुनुहुन्छ, १८ वर्षभन्दा माथिका उमेर समूहलाई खोप दिन शुरु गर्ने समयबारे उहाँले दिनका लागि भ्याक्सिन हुनुपर्ने बताउनुभयो ।

चीनबाट ल्याइने ४० लाख डोज भ्याक्सिन माथिल्लो उमेर समूहबाट तल्लो उमेर समूहमा लगाउँदै जाने योजना रहेको उहाँले बताउनुभयो ।’ चीनबाट ल्याउन लागेको भ्याक्सिन ५५ वर्षमाथिका उमेर समूहका नागरिकलाई मात्र पुग्ने अनुमान रहेको उहाँले बताउनुभयो ।

के हो अनलाइन आवेदन ?
विद्युतीय माध्यमबाट कोरोनाविरुद्धको खोप लगाउनको लागि गरिने अनुरोध नै अनलाइन आवेदन हो । यस अघिसम्म कोभिड–१९ सम्बन्धी सबै काम कागजी रुपमा हुँदै आएको थियो । अनलाइन आवेदनको लागि https://vaccine.mohp.gov.np/  मा क्लिक गरेर कोरोनाविरुद्धको खोप लगाउनको लागि विवरण भर्न सकिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?