logo
२०७८ असोज ९ शनिवार

दैनिक अध्यावधिक

image
1103

सङ्क्रमित

image
1550

निको भएका

image
9

मृत्यु भएका

मिति:आश्विन ८, २०७८ (१६:४१)
स्राेत:https://covid19.mohp.gov.np/



सट्टेबाजी धन्दाबाट बाहिरिँदै पुँजी

मुख्य समाचार |


सट्टेबाजी धन्दाबाट बाहिरिँदै पुँजी


देवबहादुर कुँवर

काठमाडौँ, असार २३ गते । युरोप–अमेरिकामा युरो कप–२० र कोपा अमेरिका फुटबल प्रतिस्पर्धा चलिरहेका बेला नेपालमा भने सट्टेबाजीका नाममा, अनलाइन बेटिङका नाममा ठगी धन्धा मौलाएको छ । प्रचलित कानुनले सट्टेबाजी वा नगदबाजी लगाई गरिने हारजितलाई ‘जुवा’ अपराधअन्तर्गत राखेको छ । यस किसिमको जुवाबाट ठूलो रकम अवैध ढङ्गले बाहिरिने गरेको सम्बद्ध अधिकारी बताउँछन् ।
युरो कप र कोपा अमेरिका फुटबल प्रतियोगिताजस्ता अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितालाई मनोरञ्जनका रूपमा भन्दा अवैध आम्दानीको आधार बनाउनेहरूका कारण अनलाइन ठगी अपराध बढ्दै गएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले सट्टेबाजी तथा अनलाइन जुवामा संलग्न रहेको अभियोगमा आइतबार आठ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरू अधिकांश उद्योगी व्यवसायी हुन् । उनीहरू अवैध आर्जनका लागि यस्तो अपराधमा संलग्न हुने गरेको दाबी प्रहरीको छ ।
“विकसित मुलुकका नागरिकका लागि सट्टेबाजी तथा बाजी लगाउनु पर्व हो”, एक प्रहरी अधिकारीका भनाइमा नेपालमा भने त्यस्तो कार्य गैरकानुनी हो । अनलाइन बेटिङ नेपाल जस्तो अल्पविकसित मुलुकका लागि लाभदायक छैन ।
विशेष गरी वाट्सएप र भाइबरबाट खेलिने यो घातक जुवामा नेपाली युवा किन फस्दैछन् ? महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला भन्नुहुन्छ, “लोभले लाभ, लाभले विलाप भनेजस्तै हो ।”
“खेलाउनेहरू सबै विदेशी हुन्छन्, उनीहरू खेल्ने कसैको पनि प्रत्यक्ष सम्पर्कमा आउँदैनन्, एपबाट खेलाउँछन् र इलेक्ट्रोनिक पेबाट रकम लिन्छन्, खेल्ने र खेलाउनेबीच एजेन्ट (दलाल)हरू कमिसन लिएर प्रयोग हुन्छन्”, कोइरालाको भनाइ छ । युरो कप–२० र कोपा अमेरिका फुटबल प्रतियोगितामा सट्टेबाजी लगाउने मुख्य सञ्चालक भारतीय नागरिक आदित्य भन्ने रेड्डी अग्रवाल भएको प्रहरीको आरोप छ । होटल ¥याडिसनका सञ्चालक आदित्यले सविता बस्नेत नाम गरेकी युवतीलाई प्रयोग गरी अनलाइन बेटिङ खेलाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार एक लाख रुपियाँभन्दा माथिको सट्टेबाजीमा सम्पन्न, व्यापारी तथा सयदेखि हजार दरका सट्टेबाजीमा धेरैजसो नेपाली युवाको सहभागिता देखिएको छ ।
काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ परेकामध्ये राजेन्द्र श्रेष्ठ, जीवन लामा, सुरज टिवडेवाल, भारत विहारका अशोक गुप्ता, हरियानाका राजेशकुमार अग्रवाल, सुचित डालमिया अग्रवाल र वीरगञ्जका अमरनाथ गुप्ता व्यापारी हुन् । उनीहरूको साथबाट ३४ लाख ६५ हजार रुपियाँ बरामद भएको प्रहरीको भनाइ छ ।
सट्टेबाजीबाट आर्जित रकम कानुनी रूपमा वैध हुँदैन । ई–सेवा सहज नभएको अवस्थामा हुन्डी र आईएमईमार्फत समेत लेनदेन हुने गरेको पाइएको छ । अनलाइन बेटिङ जुवाले हुन्डी कारोबार पनि मौलाएको छ, प्रवक्ता कोइरालाका अनुसार अनलाइन ठगी पनि त्यत्तिकै छ ।
चीन, भारत, नेपाल, दुबई र मलेसिया गरी यी चार देशमा स्काई एपबाट बढी नै ‘अनलाइन बेटिङ’ खेल्ने गरेको पाइन्छ । नेपालमा मात्र यतिबेला २० करोड रुपियाँभन्दा बढीको रकम बाजी लगाइएको दाबी प्रहरीको छ । सो रकम हारजित जसको पक्षमा आए पनि भित्रिनेभन्दा बाहिरिने सम्भावना ठूलो छ । नेपाल राष्ट्र बैङ्कका सहप्रवक्ता नारायणप्रसाद पोखरेल अनलाइन बेटिङको रकम हुन्डीबाहेक अन्य मार्गबाट बाहिरिने सम्भावना न्यून रहेको बताउनुहुन्छ । खल्ती तथा ई–पेलगायतका सेवा मुलुकभित्रका लागि मात्र भएको भन्दै उहाँले अनलाइन ठगी यस्ता सेवाबाट नहुने स्पष्ट पार्नुभयो तर चिट्ठा, उपहारका नाममा हुने अन्तर्राष्ट्रिय ठगीका घटनामा यस्ता सेवा दुरुपयोग हुने गरेको पाइएको छ ।
त्यस्तै मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिमको कसुरअनुसार सट्टेबाजी अपराध जुवाअन्तर्गत हुने भएकाले पाँच दिन प्रहरी हिरासतमा राख्नुबाहेक कानुनी उपचारको अन्य विकल्प देखिँदैन ।
घटनास्थलमा बरामद रकम सरकारी ढुकुटी तथा राजस्वमा बुझाउने र खेल्ने र खेलाउनेलाई प्रहरी हिरासतमा लिई कारबाहीको व्यवस्था रहेको छ । कमजोर कानुन भएका कारण सट्टेबाजीको समस्या बढेको
प्रहरीको दाबी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?