logo
२०८० चैत्र १५ बिहीवार



भाइरसको नयाँ म्युटेसन फेलापर्दैमा डराइहाल्नु पर्दैन : डा. घिमिरे

स्वास्थ्य |
पढ्नै पर्ने |


भाइरसको नयाँ म्युटेसन फेलापर्दैमा डराइहाल्नु पर्दैन :  डा. घिमिरे


बिष्णु पाण्डेय
काठमाडौं,असार ११ गते । नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टको नयाँ म्युटेसन फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएसँगै धेरैमा यस बारेको चासो बढ्न थालेको छ ।
कोरोना सङ्क्रमणको दर बिस्तारै ओरालो लाग्दै गर्दा नयाँ म्युटेसन भेटिनु चासोको बिषय पक्कै हो । तर यो कत्तिको सङ्क्रामक हाेला भन्ने विषय भने महत्वपूर्ण पक्ष हो । तुलनामत्मक रुपमा दोस्रो लहरमा देखापरेको डेल्टा भेरियन्ट सङ्क्रमणको हिसाबमा बढी संक्रामक र बढी घातक देखिएको छ । यही घातक डेल्टा भेरियन्टको नयाँ म्युटेसन फेला पर्दा फेरि तेस्रो लहरको जोखिम बढेको हो कि भन्ने आशङ्का पनि उब्जिने गरेका छन् ।
माईक्रो बायोलोजिस्ट डा.प्रकाश घिमिरेले भने यो भेरियन्ट फेला पर्दैमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो । आरएनए भाइरसहरु म्युटेसन भइराख्ने कारणले पनि यो म्युटेसन देखिएको उहाँ बताउनुहुन्छ । “आरएनए भाइरसहरु म्युटेसन भैराखेका नै हुन्छन् यो डेल्टा भेरियन्ट पनि आरएनए भाइरस नै हो यसकारण यसको नयाँ म्युटेसन देखिएको हो” उहाँले भन्नुभयो । विश्वभर डेल्टा भाइरसको अहिलेसम्म ६ हजार चार सय म्युटेसनहरु रेकर्ड भैसकेको उहाँले बताउनुभयो ।

“ विश्वमा डेल्टा भाइरसको अहिलेसम्म छ हजार चार सय म्युटेसनहरु फेला परिसकेका छन् तर यी सबै उत्तिकै मात्रामा सङ्क्रामक भने छैनन्, म्युटेसन भेटिँदैमा डराइहाल्नुपर्ने अवस्था रहँदैन तर म्युटेसनहरुको अवस्था चाहिँ अध्ययन गरिरहनु पर्दछ ”उहाँले भन्नुभयो ।अहिले नेपालमा रहेका अल्फा, बिटा र डेल्टा भेरीयन्टमध्ये डेल्टा भेरियन्ट बढी सङ्क्रामक देखिएको कारणले पनि अहिलेको म्युटेसन विशेषगरी दीर्घरोगीहरुका लागि घातक हुन सक्ने उहाँको भनाइ छ ।
आरएनए भाइरसमा सामान्यतया दुई तीन जेनेरेसनपछि केही न केही परिवर्तन हुन्छ । यसमा एमिनो एसिड मिलेर जिन बन्ने डा. घिमिरेले बताउनुभयो । भाइरसहरु म्युसटेसन हुँदै जाँदा भेरियन्ट अफ इन्स्टेन्ट बन्छ । भेरियन्ट अफ इन्स्टेन्टमध्ये जसले धरै मात्रामा सङ्क्रमण, धेरैको मृत्यु गर्न सक्छ त्यसलाई भेरियन्ट अफ कन्सर्न भनिने उहाँ बताउनुहुन्छ ।
अहिलेको आवश्यकता भाइरस नियन्त्रणका लागि निगरानी भएको कारणले सरकारले यसतर्फ ध्यान पुयाउन जरुरी रहेको उहाँको दावी छ ।
हाल प्रयोगमा आइरहेका भ्याक्सिनहरुले नयाँ म्युेटेन्ट भेरियन्टको सङ्क्रमण रोक्न नसके पनि भाईरस शरीरभित्र छिरिसकेपछि त्यसका विरुद्ध लड्न सक्ने क्षमता विकास भएको हुने उहाँ बताउनुहुन्छ ।
भाइरस परिवर्तत हुँदै जाँदा लहरहरु पनि क्रमशः बढ्दै जान सक्ने डा. घिमिरेको भनाइ छ । जुन समूहमा भ्याक्सिनको पहुँच छैन त्यो उमेर समूहमा यसले असर पुर्याउन सक्छ । भाइरसहरुको म्युटेसनसँगै लहरहरु आउन सक्ने ज्यादै सम्भावना रहन्छ , जुन समुहमा भ्याक्सिनको पहुँच छ त्यो समुहमा असर कम पर्छ तर यसको अर्थ भ्याक्सिन लगाएपछि मलाई सङ्क्रमण हुँदैन भनेर सोच्न हुँदैन उहाँले भन्नुभयो । निषेधाज्ञा खुकुलो गराइएको बेलामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा हेलचेक्राइँ गरे तेस्रो लहरको सम्भावना रहेको उहाँको दाबी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?