logo
२०८० चैत्र १६ शुक्रवार



फाेनकाे लाेकेशनका आधारमा सन्तोषीकाे हत्याका अभियुक्तसम्म पुग्याे प्रहरी

पढ्नै पर्ने |
खुला |


फाेनकाे लाेकेशनका आधारमा सन्तोषीकाे  हत्याका अभियुक्तसम्म पुग्याे प्रहरी


देवबहादुर कुँवर
काठमाडौँ, असार १० गते । अपराध अनुसन्धानका लागि पीडित तथा पीडकले प्रयोग गर्ने सूचना प्रविधि उपकरण (मोबाइल) महत्वपूर्ण आधार बन्ने गरेको छ । यही प्रविधिको सहयोगबाट दक्षिणकाली जंगलमा मृत भेटिएकी २७ वर्षीया सन्तोषी सुब्बाको हत्यामा संलग्न अभियुक्त पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख चन्द्रकुवेर खापुङका अनुसार, मंगलबार साँझ हत्या घटनास्थल नजिक सम्पर्कमा रहेका मोबाइल फोनहरुको पहिचान गरी अनुसन्धान गर्दा सन्तोषी हत्या घटनामा संलग्न सहचालक २९ वर्षीय सुरेश तिमिल्सेना कमलाक्षीबाट पक्राउ परेका हुन । सिन्धुपाल्चोक चौतारा साँगाचोक घरभई हाल ‘रत्नपार्क–दक्षिणकाली’ रुटमा चल्ने बसका सहचालक तिमिल्सेनाले चिनजान भएको आठ घण्टामै सन्तोषीको विभत्स ढंगले हत्या गरेको प्रहरीसँगको बयानमा खुलाएका हुन् ।

उनीहरुबीच फोन सम्पर्क नदेखिए पनि घटनास्थल नजिक रहेका विभिन्न मोबाइल फोन नम्बर संकलन गरी अनुसन्धान गर्दा हत्या घटनाको २४ घण्टामै अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको हो । घटनास्थल अनुसन्धानमा तालिम प्राप्त कुकुर समेत अलमलिएको थियो ।
‘सन्तोषीको हत्या हुनुमा जबरजस्ती करणी मुख्य कारण रहेको छ । जबरजस्ती करणीविरुद्ध सन्तोषीले प्रतिवाद गरेको देखिन्छ, अभियुक्त तिमिल्सेनालाई बिहीबार सार्वजनिक गर्दै कार्यालय प्रमुख खापुङले भन्नुभयो ।

मदिराले मातेका अभियुक्त तिमिल्सेनाले सन्तोषीको घाँटीमा सलको पासो लगाई अनुहार समेत कसैले चिन्न नसक्ने गरी ढुङ्गाले हिर्काएर विभत्स ढंगले हत्या गरेको अवस्थामा मंगलबार विहान जंगल परिसरमा शौचालय नजिक शव फेला परेको हो ।

प्रहरीका अनुसार, दक्षिणकालीकै एक होटलमा मदिरा खाइरहेका तिमिल्सेना र सन्तोषीबीच सोही दिन विहान सामान्य चिनजान भएको हो । उनीहरुले बोक्ने फोनको ‘लोकेशन’ होटलदेखि शौचालयसम्म संगसँगै थियो । सो आधारले प्रहरीलाई अभियुक्त नजिक पुग्न सजिलो बनाएको हो ।
सन्तोषीले आफूसँग खान बस्न समेत पैसा नभएको दुःखेसो सुनाएपछि अभियुक्त तिमिल्सेनाले बसभित्र सुताई दिने प्रलोभन देखाई होटलबाट साँझ जंगलबीचको शौचालय पु¥याई जबरजस्ती करणी गर्न खोजेका थिए । तर, सन्तोषीले कराउनुका साथै अभियुक्तको हातमा दाँतले टोकेर प्रतिवाद गर्दा हत्या भएको प्रहरीको अनुसन्धानले देखाएको छ । बलात्कार भने हुन नपाएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ ।

घटना भएकै साँझ अभियुक्त तिमिल्सेना आमा–बुबा विरामी परेको वहाना बनाई सवारी ‘लिफ्ट’ सहयोग मागेर कमलाक्षी आइपुगेका थिए । अभियुक्तलाई बुधवार विहान कमलाक्षीबाट पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
विभिन्न चराचुरुङ्गीको आवाज निकाल्ने कला भएकी सन्तोषी निषेधाज्ञाकै बेला लिफ्ट मागेर आफूखुशी दक्षिणकाली पुगेको हुनसक्ने अनुमान प्रहरीको छ । कालोपुलस्थित गुरुङटोलमा धर्मबुबासँग बस्दै आएकी सन्तोषी आइतवार विहानबाट एकाएक बेपत्ता भएकी थिइन ।

यसैबीच, आइतबार राति बल्खुक्षेत्रमा एकजनाको ज्यान लिने गरी भएको सवारी दुर्घटनामा फरार लु १ ख ९७१७ नम्बरको ट्रक र चालक ३४ वर्षीय जितेन्द्र चौधरीलाई प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट पक्राउ गरेको छ ।
प्रहरी वृत्त कालीमाटीका अनुसार, तीब्रगतिमा रहेको सो ट्रकले बा ७५ प ८०५६ मोटरसाइकललाई ठक्कर दिँदा चालक २८ वर्षीय कमलु भूजेलको मृत्यु भएको थियो । मध्यरातमा दुर्घटना गराई फरार ट्रक लुकाई राखेको अवस्थामा फेला परेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?