logo
२०८० चैत्र १५ बिहीवार



राउटे समुदायकाे संरक्षणका लागि एकीकृत नीति बनाउँदै

प्रदेश |


राउटे  समुदायकाे  संरक्षणका लागि एकीकृत नीति बनाउँदै


ललित बसेल
सुर्खेत, असार ७ गते । कर्णालीका पहाडी जिल्लामा घुमन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायको संरक्षण र सम्वद्र्धनका लागि कर्णाली प्रदेश सरकारले एकीकृत नीति ल्याउन लागेको छ । उनीहरुको संस्कृति र परम्परालाई जगेर्ना गर्दै सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति बनाउन लागेको हो ।
सामाजिक विकासमन्त्री यज्ञबहादुर विसीले लोपोन्मुख राउटे समुदाय कर्णालीको फरक परम्परा र संस्कृति बोकेको समुदाय भएकोले उनीहरुको संरक्षण गर्ने काम राज्यको भएकोले एकीकृत नीति बनाएर संरक्षण गर्न जरुरी देखिएको बताउनुभयो । उहाँले आगामी साउन महिनादेखि राउटेको एकीकृत नीति अनुसार काम गरिने जानकारी दिनुभयो ।
उहाँले राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेको हुँदा बस्ती प्रवेशमा निषेध गरिएको जानकारी दिदैं राहत वितरणमा पनि एकद्वार प्रणाली लागू गरिएको बताउनुभयो । सुरक्षाको प्रबन्ध, छाना, नाना र खानाको व्यवस्थापनलगायतका विषयहरु एकीकृत नीतिभित्र समेटिने भन्दै उहाँले ‘राउटेका आफ्नै मूल्य, मान्यता र संस्कृतिको संरक्षणमा नीतिमार्फत मन्त्रालयले काम गर्ने जिकिर गर्नुभयो ।
मन्त्री विसीले पछिल्लो समय राउटे समुदायका दुई युवतीमाथि बाह्य समुदायका व्यक्तिहरुले गरेको यौनजन्य घटनाले बस्तीको सुरक्षा र बाह्य व्यक्तिहरुको प्रवेश निषेध आवश्यक रहेको उल्लेख गर्नुभयो ।
विगतको तुलनामा अहिले राउटेको संख्या घट्दै गएको छ । राउटेको सङ्ख्या कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री विसीले राउटे बालबालिकामा रहेको कुपोषण न्यूनीकरण गर्न र उनीहरुको खानपानमा ध्यान दिन सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभयो ।
सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले लोपोन्मुख समुदाय कर्णालीको पहिचान भएकाले उनीहरुको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले परम्परागत संस्कृति, संस्कार र मान्यतालाई आत्मसात् गर्ने राउटेको संरक्षण गर्न मन्त्रालयले नीति तयार गरिरहेका भन्दै यसका वारेमा उनीहरुसँग पनि छलफल गरिने जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले राउटे समुदायका युवतीमाथि भएको घटनापछि राउटे बस्तीमा बाह्य मानिसहरुलाई प्रवेश गर्न नदिन सिल गरिएको र यसले विकृति अन्त्यमा सघाउ पुगेको दावी गर्नुभयो । उहाँले युट्युव, फेसबुक, टिकटक बनाउन जानेहरुका कारण राउटे समुदायको संस्कृति, परम्परा र मान्यतामाथि खेलवाड भइरहेको उल्लेख गर्नुभयो । अहिले राउटे सुर्खेतको गुर्भाकोट नगरपालिकाको भेरी नदी किनारमा बसोबास गरिएका छन् । दैलेखको गुराँस गाउँपालिकाले उनीहरुलाई परिचयपत्र दिएर सामाजिक सुरक्षा भत्ता दिइरहेको छ। । अहिले राउटेको सङ्ख्या १४६ रहेको बताइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?