logo
२०८१ बैशाख ८ शनिवार

मनाङको तालगाउँमा राहत पुगेन, बाढीपीडित भन्छन् : सरकार कहाँ छ ?

खुला |
फोटो फिचर |
प्रदेश |


2021-06-19-40089
छ दिन अघि बाढिमा डुबेकाे ताल गाउँ


बेलिना थापा
लमजुङ, असार ५ गते । हिमाली जिल्ला मनाङको नासों गाउँपालिका १ तालगाउँका बाढी पीडितले सरकारले चासो नदिएको बताएका छन् । जेठ ३१ गते सोमबार राती भीषण बर्षा हुँदा आएको बाढीले सिंगो तालगाउँ डुबानमा परेको थियो । बाढी आएको एकसाता हुँदा पनि सरकारको तर्फबाट कुनै सहयोग नपाएको उनीहरुको गुनासो छ ।
कुनै राहतको व्यवस्था नभएपछि क्रष्टकर र दयनिय अवस्थामा बस्न बाध्य भएको उनीहरुको गुनासो छ । स्थानीय ललिता गुरुङका अनुसार बाढीले घर डुबानमा परेपछि कहिले जंगल, कहिले डाँडातिर त कहिले ओडारको बास भएको छ । गाउँलाई फर्किएर हेर्दा मन भकानिन्छ । ‘सोच्दै नसोंचेको कुरा भयो । एक्कासि बाढी आएर घर डुब्यो । दिउँसोको समय भएकाले जसोतसो ज्यान बचाउन सकियो’ उहाँले भन्नुभयो, ‘कहिले मस्र्याङदीमा पानी घट्ला अनि घर गएर केही सामान खोजेर ल्याउ जस्तो हुन्छ । तल नदीमा हे¥यो, पानी घट्दै घट्दैन ।’
उहाँका अनुसार यो अवधिका सरकारी निकायले कुनै सहयोग गरेको छैन । न बासका लागि नै त । न खानका लागि । स्थानीय मिनराशी गुरुङका अनुसार घर पूर्ण रुपमा डुबानमो नपरेको अवस्थामा त्यही घरमा पुगेर ल्याएको खानेकुरा खाने गरिएको छ । बाढी बढ्दै जाँदा लत्ताकपडा भने केहीले मात्र ल्याउन पाए । उहाँले भन्नुभयो–‘भएका केही खाद्यान्न पनि सकिन लाग्यो । कसैले सहयोग गरेन । ओढ्ने, ओछ्याउने कपडा छैन । न प्रदेश सरकारले सहयोग गर्छ, न संघ सरकारले । अहिलेसम्म जसोतसो अरुको घरमा, डाँडातिर गएर बसेका छौं । अब खान र सुत्न नपाएर मर्ने होकी भन्ने चिन्ता छ ।’
बस्न र खानका लागि धौधौ भएको बेलामा सरकारको नाक, मुख देख्न नपाएको बताउनुभयो । सरकारनै नभएको महसुस भएको बताउनुभयो । सरकारले हेलनाको दृष्टिले हेरेको स्थानीयको गुनासो छ ।
ताल स्वास्थ्यचौकीका प्रमुख धनबहादुर तामाङका अनुसार सरकारको तर्फबाट शुक्रबार प्रभावित २४ जनाको उद्दार गरिएको थियो । त्यो बाहेक कुनै सहयोग नभएको उहाँले बताउनुभयो । गास, बास र कपासको समस्या हुने अवस्थामा पुगेकाले तालगाउँबासी दुखि भएको बताउनुभयो । ‘यहाँको जीवन संघर्षमा छ । घरमा बस्ने अवस्था छैन । कति बेला पुरिने हो थाह छैन’ उहाँले भन्नुभयो, ‘भएका खानेकुरा पनि सकिन लाग्यो । नुनतेल छैन । सुत्ने, ओढ्ने कपडा छैन । सरकारले हेर्न पर्दैन ? खोई सरकार कहाँ छ ?’
६२ घरधुरी रहेको तालगाउँका करिव ३०० स्थानीय पुलडाँडा, घेराङ र तालको स्वास्थ्यचौकीमा बस्दै आएका छन् । घेराङमा भने ११ घरजति छन् । उनीहरुको कै घरमा कष्ट मोलेर बसिएका छन् । एकै ठाउँमा धेरैजना बस्नुपर्ने अवस्था छ । वडासचिव चेतमान श्रेष्ठका अनुसार केही बृद्धबृद्धा, बालबच्चाको भने हेलिकप्टरबाट उद्दार भएको छ । राहतको नाम केही आएको छैन । केही सामुदायिक भवनतिर, केही त्रिपाल टाँगेर बस्ने गरेका छन् । बाढीले वडा कार्यालय, विद्यालय, अन्य कार्यालय, घर, गोठहरु सबै डुबेको छ । तिनै तहका सरकारसंग राहतका लागि माग रहेको बताउनुभयो । विदेशका रहेकाहरु र केहीले व्यक्तिगत रुपमा भने राहत सामग्री लिएर आएका छन् । सरकारी स्तरबाट भने कुनै सहयोग नआएको तालबासीको गुनासो छ ।
वडाध्यक्ष झलक गुरुङका अनुसार बाढीका कारण बिजुलीका पोलहरु ढलेर बिजुली बन्द छ । मोबाइलको नेटवर्क छैन । एउटा घरमा भने बिजुली बनाएर वाईफाई सञ्चालन गरिएको छ । अन्य नागरिक अन्धकारमा छन् । कसैलाई गुनासा तथा खबर गर्न परे म्यासेन्जरको मार्फतबाट सम्पर्क गर्ने गरेका छन् । सरकारको सहयोग नपाएपछि नागरिक निराशमा रहेको गुरुङले बताउनुभयो ।

छ दिन अघि बाढिमा डुबेकाे ताल गाउँ