logo
२०७८ मंसिर १६ बिहीवार



के पढ्ने ? कसरी पढ्ने ? अनि के नपढ्ने ?

विचार/दृष्टिकोण |


के पढ्ने ? कसरी पढ्ने ? अनि के नपढ्ने ?


डा.कुन्दन अर्याल

कागजमा छापिने अखबारदेखि रेडियो, टेलिभिजन र अनलाइन माध्यमसम्म मानिस हरेक क्षण अनेक सामग्री नियाल्दछन् । कतिपय मर्मस्पर्शी लाग्छन्, कतिपय उपयोगी लाग्दछन् । तर कैयौँ यस्ता सामग्रीले दिग्भ्रमितसमेत पार्न सक्छन् । त्यसैले आमसञ्चार माध्यमका उपभोक्तामा आफूले उपभोग गरिरहेको सामग्रीको परख गर्ने क्षमता हुनै पर्छ । आम रूपमा पाठक, श्रोता वा दर्शकमा आवश्यक पर्ने त्यस्तो क्षमतालाई नै हिजोआज आमसञ्चार साक्षरता भन्ने गरिन्छ ।
कुनै बेला थियो, अखबारको पाठक बढाउन साक्षरता र सहरीकरणमा जोड दिनुपर्छ भन्ने गरिन्थ्यो । उन्नाइसौँं शताब्दीको मध्यदेखि अमेरिकालगायत विकसित मुलुकमा अखबारहरू अति सीमित भौगोलिक र सामुदायिक दायरा नाघेर बहुसङ्ख्यक मानिसबीच पुग्न थालेपछि नै आम रूपमा वितरण हुने अखबारहरूको उदय भएको थियो । त्यो परिवर्तनको एउटा आधार शिक्षाको विकास नै थियो । बहुलवादी समाजमा सामान्यतः कुनै पनि सामग्रीको तथ्य र तर्कलाई मानिसले उपलब्ध अरू धारणा र आफ्नो बुझाइसँग तुलना गरेर निष्कष निकाल्छन् भन्ने मान्यता हुन्छ । तर आजको विश्वमा विधि र प्रक्रियाका साथ सङ्कलित सामग्रीहरूलाई सम्पादन र परिमार्जन गरेर मात्र छाप्ने संस्थागत आमसञ्चार माध्यम मात्र छैनन् । आज नेपालमा पनि एक मिडिया उपभोक्ताका सामु तीन किसिमका सूचना स्रोत वा सार्वजनिक वृत्त उपलब्ध छन् ।
पहिलो, मूलतः व्यावसायिक रूपमा सञ्चालित हुन्छन् भन्ने विश्वास आर्जन गर्दै आएका संस्थागत मिडिया । जसका बारेमा कम्तीमा सैद्धान्तिक रूपमा बुझिने कुरा के हो भने दक्ष जनशक्तिले तथ्य सङ्कलन र सामग्रीको उत्पादन गर्छन् । सङ्कलन र उत्पादनका सम्बन्धमा विश्वव्यापी रूपमा स्वीकार गरिंदै आएका व्यावसायिक मूल्य र मान्यता छन् । जसअन्र्तगत, यस्ता मिडियाले आफूलाई सार्वजनिक निगरानीमा रहेको संस्था ठानेर घोषित रूपमा जनता र समाजप्रतिको उत्तरदायित्वलाई स्वीकार गरेका हुन्छन् । यी मिडिया जति बढी राजनीतिक र आर्थिक रूपमा स्वतन्त्र हुन्छन वा जति परिमाणमा आत्मनिर्भर हुन्छन्, त्यति बढी पक्षपातको नीतिबाट टाढा हुन सक्छन् । आजको नेपालमा नेपाली मिडियाका मूल प्रवृत्ति यस्तै जिम्मेवार, चेतनशील, व्यावसायिक र आर्थिक रूपमा आफ्नै खुट्टामा उभिएको हुनु पर्छ भन्ने आग्रह हो । तर यस सन्दर्भमा राजनीतिक स्वतन्त्रताको प्रत्याभूति भए पनि मूलत : आत्मनिर्भरताकै सवालमा समस्या देखिएको छ । कतिपय विकसित लोकतन्त्रमा जस्तै लगानीकर्ताको अनियन्त्रित आर्थिक महŒवाकाङ्क्षाले सम्पादकीय स्वतन्त्रतामा असर पुग्न गएको अनुमान गर्न गाह«ो छैन । यस्ता मिडिया कागज र डिजिटल स्क्रीन वा केवल डिजिटल स्क्रीनमा अधिक मानिसमाझ उपलब्ध छन् ।
दोस्रो वर्गमा नेपालको सूचना र सार्वजनिक बहसको वृत्तमा व्यावसायिक रूपमा परिचय स्थापना नगरेका न्यून बजेटका मिडिया पर्छन् । यस्ता कतिपय साना लगानीका मिडिया पनि व्यावसायिक रूपमा सञ्चालन भएका छैनन् भन्ने नहोला । तर आम रूपमा मौसमी अखबारका रूपमा चिनिने यस्ता अखबार आर्थिक रूपमा पराधिन र राजनीतिक रूपमा पूर्वाग्रही देखिंँदै आएका छन् । साना लगानीमा पनि व्यावसायिक रूपमा अनुसन्धानमूलक र आम मानिसलाई उपयोगी ठहरिने र बजारमा तत्काल विक्री नहुने फरक खालका सामग्री प्रस्तुत गर्दै पृथक पहिचान स्थापित गर्ने खालका अखबारको उदाहरण दिन सकिन्छ । तर नेपालमा भने अहिलेका अनलाइन समाचार माध्यमहरूले आम रूपमा पहिलेका साप्ताहिककै एउटा अमूक केन्द्रको पक्ष पोषण गर्ने प्रवृत्तिलाई नै पछ्याएका छन् । प्रविधिबाहेक अन्र्तवस्तुमा यस्ता माध्यमले फरक पहिचान स्थापित गर्न सकेका छैनन् ।
आजको नेपालमा आमनागरिकले सूचना वा धारणाको स्रोतका रूपमा प्रयोग गर्ने सार्वजनिक वृत्तको अर्को वा तेस्रो महŒवपूर्ण क्षेत्र भने सामाजिक सञ्जाल नै हो । सोसल मिडियाका सामग्री उत्पादक व्यक्ति हुन । हाम्रो संविधानले कुनै पनि व्यक्तिलाई स्वतन्त्र रूपमा अभिव्यक्त गर्ने अधिकार प्रदान गरेको छ । तर व्यक्तिबाट आमरूपमा अपेक्षा गरिने विवेक वा नैतिक पक्ष भने सामाजिक सञ्जालहरूमा सबैभन्दा बढी छताछुल्ल हुने गरेका छन् । सिमित जिम्मेवार व्यक्ति छन्, जो संयमित रूपमा सन्तुलित धारणा राख्छन् वा आममानिसलाई घात गर्ने सूचना प्रसारको औचित्य देख्दैनन् । धेरैजसो त आरोप प्रत्यारोप र मानिसलाई भ्रमित पार्ने सुनियोजित उदेश्यका साथ तयार गरिएका अन्र्तवस्तुको प्रसार गर्न तल्लीन भ्यरहेका हुन्छन् । वास्तविक परिचय लुकाएर प्रसार गरिने सामाग्री त अधिकांश मामिलामा हानिकारक, गलत र पूर्वाग्रह प्रेरित नै हुने गर्छन् । हुन त सामाजिक सञ्जालका सञ्चालक कम्पनीहरूले नै मिथ्या, अफवाह र हानिकारक सामाग्रीलाई स्थान नदिने सार्वजनिक नीति तय गरेका छन् । उजुरी परेको अवस्थामा तस्वीरका मामिलामा यो नीति प्रभावकारी भएको पनि देखिन्छ । तर संसारका अनेक भाषामा हुने गाली गलौज वा हानिकारक प्रतिकात्मक अभिव्यक्तिलाई ती कम्पनीका प्रयासले मात्र निरुत्साहित गर्न कठिन छ । आफ्नो अभिव्यक्ति सार्वजनिक वृत्तमा जाँदैछ भन्ने बुझेर त्यसको सम्भावित परिणामको समेत आकलन गर्न सक्ने सद्विवेक भएको लोकतान्त्रिक व्यक्तिले मात्र माध्यमको दुरुपयोग गर्दैन ।
यसरी सार्वजनिक सञ्चार माध्यम वा सामाजिक सञ्जालका सामाग्रीबाट अर्थ ग्रहण गर्न वा पूर्वाग्रह वा अतिरञ्जनाबाट बच्न पनि हरेक व्यक्तिले साधारण साक्षरताभन्दा माथि उठेर मिडिया साक्षरताको सीप र ज्ञान हासिल गर्न जरुरी छ । खासगरी छयालीस सालको राजनीतिक परिवर्तनसँगै नेपालमा नीजि क्षेत्रबाट ठूला लगानीका अखबारहरू निस्कन थालेपछि पत्रकारिता ठूलो परिमाणमा पेसा वा व्यवसायका रूपमा अघि बढ्न थालेको हो ।
अहिलेको नेपाली पत्रकारिता आमरूपमा राजनीतिक बहसमा पक्ष वा विपक्षमा विभाजित छयालीस सालअघिको अवस्थाबाट टाढा भइसकेको छ । तर सानो लगानीमा राजनीतिक प्रचारका लागि अखबारहरू सञ्चालन गर्ने प्रचलन अझै पनि कायम छ । आर्थिक रूपमा निर्वल त्यस्ता मिडियाको आमजनतामा खासै प्रभाव देखिंँदैन । कतिपय त्यस्ता साप्ताहिकहरूलाई त कोभिड–१९ ले अन्तिम झड्का दिइसकेको छ । तर अनलाइन मिडियाको प्रचलनले त्यस्ता अन्र्तवस्तुलाई प्रसार वा वितरणको नयाँ आधार प्रदान गरेको छ ।
आर्थिक सुनिश्चितता नभएका अनिश्चित भविष्य बोकेर ज्यादै थोरै लगानीमा सुरु गरिएका अनलाइन समाचार पोर्टलहरू छ्यापछ्याप्ती छन् । व्यावसायिक दक्षता भएका जनशक्तिको व्यवस्थापन गर्न नसक्ने त्यस्ता अनलाइन माध्यमहरूमा नैतिक पक्षको सबैभन्दा ठूलो खडेरी छ । तर त्योभन्दा ठूलो समस्या ठूलो जनसङ्ख्याले मोबाइल स्क्रीनमा हेर्न मिल्ने अनलाइन समाचार मिडिया र सामाजिक सञ्जालबीच भिन्नता नदेख्दा उत्पन्न भएको छ । जेजस्तो भए पनि अनलाइन मिडियामा सम्पादनकर्मीको नाम उल्लेख गरिएको हुन्छ ।
त्यस्ता मिडियाको नियमितता हुन्छ र ती सम्पादित विषयवस्तु प्रस्तुत गर्ने मिडियाको अभिलेख प्रेस काउन्सिल नेपालमा राखिएको हुन्छ । तर सामाजिक सञ्जालमा कुनै अमुक व्यक्तिले नितान्त व्यक्तिगत मानिसिकता अभिव्यक्त गरिरहेको हुन्छ । आमसञ्चार शिक्षामा भावुकताबाट जोगिएर तथ्यपरक र वस्तुनिष्ठ अभिव्यक्तिको पाठ पनि सिक्नुपर्ने हुन्छ । तर सामाजिक सञ्जाल त आखिर अव्यवस्थित हाट बजारजस्तै नै हो ।
सामान्यतः कुनै पनि धर्म, संस्कृति वा समाजबाट आर्जित मूल्य–मान्यताका आधारमा गरिने अभ्यासमा नैतिक मूल्य अन्तरनिहित हुन्छ । संसारका जुनसुकै कुनाको सभ्यतामा आधारभूत नैतिक आचरण समाहित हुन्छन् । कतिपय मान्यता समाज वा धर्भ र संस्कृतिअनुसार पृथक हुन सक्छन् । तैपनि सद्विवेकमा पर्ने विनम्रता, प्रेम, अरूको अहित नगर्नेजस्ता आधारभूत मानवीय गुणहरू सबै समाजका नैतिक पक्षमा समाहित भएका हुन्छन् । तर व्यावसायिक नैतिकताको क्षेत्र केही जटिल हुन्छ र यस सन्दर्भमा औपचारिक वा अनौपचारिक अध्ययनबाट ज्ञान हासिल गर्न सकिन्छ । नैतिक पक्षको दार्शनिक आधारका सम्बन्धमा ज्ञान हासिल गर्न वा कार्यथलोमा अलमलबाट बच्न ग्रन्थहरूको अध्ययन आवश्यक पर्छ । जसले सीप र नैतिक पक्षका सम्बन्धमा जानकारी गराउँछन् ।
कुनै पनि सामग्रीलाई उपयुक्त वा छाप्न योग्य बनाउने क्रममा सम्पादकहरूले कस्तो प्रक्रिया अपनाउँछन् भन्ने व्यावसायिक पत्रकारिताको सर्वव्यापी मान्यता आजका सचेत र मिडिया साक्षार पाठकले बुझ्नै पर्छ । त्यही बुझाइका आधारमा संस्थागत मिडियाका सामग्रीलाई हरेक पाठकले मूल्याङ्कन गर्नुपर्छ । त्यसैगरी सामाजिक सञ्जालमा लेखिएका कुरालाई सर्लक्कै निल्नुभन्दा पहिले सामान्य ज्ञान र आफ्नै आँखाले देखिरहेको आफू वरिपरिको परिवेशका आधारमा आफैँले विषयको सत्यापन गर्नै पर्छ । जसरी आज शब्द वा अक्षर, स्वर अनि तस्वीरको निविघ्न र द्रूत प्रवाहले मानव सभ्यतालाई झन्झन् अघि बढाइ रहेको छ, त्यसैगरी यही प्रवाहले समस्या पनि सिर्जना गरिरहेको छ । यस्तो समस्यालाई जित्ने उपाय हरेक व्यक्तिसँग छ । त्यो हो मिडिया साक्षरता । 
(लेखक त्रिविको पत्रकारिता तथा आमसञ्चार विभागमा आबद्ध हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?