logo
२०८१ बैशाख ७ शुक्रवार

बाढीका कारण फसेका ३५ जनाको हेलिकप्टरबाट उद्धार (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-06-17-39924


बेलिना थापा

लमजुङ, जेठ ३ गते । भीषण बर्षाले आएको बाढीका कारण फसेका हिमाली जिल्ला मनाङका २४ जनालाई उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत नासो गाउँपालिका १ सिरानतालबाट २४ जना र नासोको थोचें गुम्बा क्षेत्रबाट ११ जना उद्दार गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । उहाँका अनुसार सिरानतालबाट उद्धार गरिएको टोलीलाई तालको फुटबल खेलमैदानमा राखिएको छ । थोचें गुम्बा क्षेत्रबाट उद्धार गरिएका टोलीलाई चामेको मारामा राखिएको छ । उहाँहरुलाई टेण्टमा सुरक्षितका साथ राखिने मनाङका प्रहरी नाबव उपरीक्षक सुवास खड्काले बताउनुभयो ।

बाढीका कारण अलपत्र परेका तथा विस्थापित नागरिकलाई विघटित प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङको पहलमा हेलिकप्टर ल्याएर उद्धार गरिएको हो । उहाँहरुका लागि टेन्ट, ओढ्ने, ओछ्याउने कपडालगायतको सामग्री  लगिएको छ । हेलिकप्टरमार्फत खाद्यान्न सामग्री ल्याउने तयारी भइरहेको बताइएको छ । यस्तै चामेमा खानेपानीको अभाव भएपछि गुरुङले निजी हेलिकप्टर मार्फत पानी लैजानुभएको थियो ।

यस्तै, मनाङको नार्पाभूमि गाउँपालिकाको फुको नामु लेकमा ७५ जना अलपत्र रहेको र उद्धारका लागि पहल भइरहेको जानकारी आएको छ । मनाङमा बाढीले बुधबार मात्रै धारापानी रहेको नासो गाउँपालिकाको भवन, इलाका प्रहरी कार्यालय धारापानी, प्रभु बैंक, प्राइम कमर्सियल बैंकको भवन र ५ वटा होटल बगाएको थियो । नासों गाउँपालिका १ को तालगाउँका ४८ घरनै डुबानमा परेको छ । बाढीले बुधबार ताचै जाने बेलिब्रिज, थोंचे–तिल्चे क्षेत्र जाने झोलुंगे पुल बगाएको प्रशासनले जनाएको छ । बाढीले चामेबजार, तालगाउँका गरी १०० भन्दा बढी घर विस्थापित भएका छन् ।