logo
२०८१ बैशाख ६ बिहीवार



कैलालीका नदीमा देखिन थाले दुर्लभ साेंस

फिचर |
पढ्नै पर्ने |


कैलालीका नदीमा देखिन थाले दुर्लभ साेंस


अविनाश चौधरी
धनगढी, असार २ गते । विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको साेंस (डल्फिन) कैलालीका नदीमा देखिन थालेका छन् । नदीमा पानीको सतह बढेसँगै स्वच्छ पानीमा रमाउने दुर्लभ जलचर डल्फिन नदीहरुमा देखिन थालेका हुन । वर्षा यामभरि यहाँका नदीमा अत्यन्त सजिलै तरिकाले डल्फिन देखिने गर्दछन् ।
नदीमा पानीको सतह कम्तीमा तीन मिटर पुगेपछि चार वटा डल्फिन आइपुगेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिनुभयो ।
‘मोहना–पथरैया नदीको संगम स्थान, काँढा, पथरैया नदी–गैरी खोलाको दोभानमा मङ्गलबार साँझदेखि डल्फिन देखा परिरहेका छन्’, उहाँले भन्नुभयो । ‘मनसुन सुरु भएपछि यो वर्ष चाँडै डल्फिन आएका छन् ।’ गतवर्ष पनि असार पहिलो साता नै डल्फिनहरु कैलालीका विभिन्न नदीमा आइ पुगेका थिए ।
ठूला साना नदीहरुमा पानीको सतह बढेपछि कर्णाली, भारतको घाँघरा नदीबाट आहार विहारका लागि यहाँ डल्फिन आइपुग्ने गरेका छन् । मनसुनभरि कैलालीका नदीहरुमा रमाउने यी डल्फिनले यहाँ बच्चा हुर्काउने गरेको शोधकर्ताहरुले बताउने गरेका छन् ।
बर्खा सकिएपछि विस्तारै फेरि गहिराई खोज्दै डल्फिनहरु तल्लो तटीय क्षेत्रतर्फ फर्कने गरेका छन् । यद्यपि, नदीमा गहिराई कायम रहेको बेला मोहना नदीमा हिउँदमा समेत डल्फिन देखिएको अभिलेख छ । दुई वर्ष अगाडि माघ महिनामा सत्ती घाटमा डल्फिन देखापरेको थियो । कर्णाली नदीमा भने स्थायी रुपमै गङ्गेटिक डल्फिन रहने गरेको बताइन्छ ।
यो जिल्लाको टीकापुर नगरपालिकास्थित बैदी, भजनी नगरपालिकाको केही स्थानमा अत्यन्त नजिकबाट दुर्लभ डल्फिन अवलोकन गर्न पाइन्छ । डल्फिन हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । गतवर्ष कोरोना महामारीको क्रममा पनि विदेशी पर्यटकहरु आएर डल्फिन अवलोकन गरेका ढुङ्गानाले जानकारी दिनुभयो ।
नदीको गहिराइ घट्दै जानू, पानी प्रदुषण, आहारा प्रजातिका माछा कम हुदैँ जानू, कृषिमा अत्यधिक विषादी प्रयोग जस्ता कारणले डल्फिनको अस्तित्व सङ्कटमा पर्दै गएको छ । कैलालीमा झन्डै दुई दशकदेखि स्थानीयस्तरबाट यो दुर्लभ जलप्राणीको संरक्षण कार्य हुँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?